क्वार्ज क्रिष्टललाई कालिका मन्दिरमा राख्ने निर्णय गरेर गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरसहित राजनीतिक दलका प्रतिनिधिसहितको टोली प्रधानमन्त्री र गृहमन्त्री भेट्न काठमाडौं आएका छन्।
सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट गत असार १४ गते प्रहरीले बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागका भूगर्भविदहरूले परीक्षणबाट पुष्टि गरेका थिए।
शाही परिवारले पुस्तौंदेखि कुलदेउताका रूपमा पुज्दै आएकोले क्वार्ज क्रिष्टललाई गोरखा दरबारसँगै रहेको कालिका मन्दिरमा प्रतिस्थापन गर्ने निर्णय गोरखा नगरपालिकाले गरेको छ।
‘पूजा गर्दै आइएको क्वार्ज क्रिष्टललाई भगवती शिलाका रूपमा कालिका मन्दिरमा प्रतिस्थापन गर्ने निर्णय गरिसकिएको छ,’ मेयर राना मगरले सेतोपाटीसँग भने, ‘शाही परिवारले पुज्दै आएको र गोरखाका स्थानीयले पनि शक्तिको प्रतीकका रूपमा लिएकोले कुनै हालतमा गोरखा बाहिर पठाउन हुन्न भनेर हामी प्रधानमन्त्री, गृहमन्त्री, उद्योग मन्त्री र पुरातत्व विभागलाई ध्यानाकर्षण गराउन काठमाडौं आएका हौं।’
प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग मन्त्री रमेश रिजाल र पुरातत्व विभागका महानिर्देशकलाई भेटेर क्वार्ज क्रिष्टल गोरखामै राख्न मद्दत माग्न लागिएको उनले बताए। गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा दाहाल गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए भने गृहमन्त्री श्रेष्ठ पनि गोरखाकै हुन्।
खानी तथा भूगर्भ विभागले क्वार्ज क्रिष्टललाई विभागको संग्रहालयमा राख्नुपर्ने बताएको छ। क्वार्ज क्रिष्टल काठमाडौं पठाइदिन विभागले प्रमुख जिल्ला अधिकारीलाई आग्रहसमेत गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालयभित्र करिब डेढ महिनादेखि राखिएको क्वार्ज क्रिष्टल 'दर्शन' गर्न मानिसहरू जाने गरेका छन्।
गृहमन्त्री श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि क्वार्ज क्रिष्टल अवलोकन गरिसकेका छन्।
चन्द्रमानकी श्रीमती राममायाले विभिन्न तिथी र साउने संक्रान्तिमा प्रहरी कार्यालयमै पुगेर क्वार्ज क्रिष्टललाई पूजा गर्दै आएकी छन्। 'आफ्नो देउतालाई प्रहरीले थुनेको' भन्दै उनले पूजा गर्न पाउनुपर्ने माग राख्दै आएकी छन्।
गोरखा नगरपालिकाले क्वार्ज क्रिष्टललाई देउताका रूपमा पुज्दै आइरहेको शाही परिवारसहित सर्वपक्षिय बैठक राखेर कालिका मन्दिरमा राख्ने र पूजा गर्न सर्वसाधारणलाई दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।
साथै यसबाट आन्तरिक पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षासमेत नगरपालिकाले लिएको छ।
तर नगरपालिका र खानी तथा भूगर्भ विभागबीच क्वार्ज क्रिष्टल कहाँ राख्ने भन्नेमा कुरा मिलिसकेको छैन।
विभागले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार अनुमति नलिई संकलन गरिएकोले क्वार्ज क्रिष्टल विभागलाई नै उपलब्ध गराइदिन आग्रहसहितको प्रतिवेदन दिएको थियो।
तर शाही परिवारले क्वार्ज क्रिष्टल पुस्तौंदेखि पुज्दै आएको र हालसालै उत्खनन् नगरिएको दाबी गर्दै आएका छन्।
५२ किलो ३ सय ३० ग्राम तौल भएको क्वार्ज क्रिष्टल कडापनका आधारमा वर्गीकरण गर्दा सातौं नम्बरमा पर्ने विभागले गरेको परीक्षणबाट देखिएको थियो।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले क्वार्ज क्रिष्टल कालिका मन्दिरमा राख्ने निर्णय नगरपालिकाले गरेको जानकारी आएको बताए। तर खानी तथा भूगर्भ विभागले काठमाडौं पठाइदिन भनेकोले कानूनअनुसार गर्नुपर्ने बाध्यतामा आफूहरू रहेको उनको भनाइ छ।
‘बहुमूल्य क्वार्ज क्रिष्टललाई कालिका मन्दिरमा राख्ने नगरपालिकाले निर्णय गरेको छ। मेयरसहित राजनीतिक दलका प्रतिनिधि पनि यसबारे कुराकानी गर्न काठमाडौं जानुभएको छ,’ उनले भने, ‘हामी त कानूनअनुसार अघि बढ्नुपर्ने हुन्छ, खानी तथा भूगर्भ विभागले काठमाडौं पठाइदिनू भनेको छ, के गर्ने प्रधानमन्त्री कार्यालयकै निर्णय कुर्दैछौं।’
घरमा कपडाभित्र बेरेर राखेको 'देउता' लाई एक दिन चन्द्रमान र राममायाका छोरा सुरेशले मोबाइलबाट फोटो खिचेका थिए। उनले पारदर्शी र प्रकाश दिँदा टल्कने पत्थर के हुन सक्छ भनेर सामाजिक सञ्जाल र साथीभाइहरूसँग जिज्ञासा राखेपछि पत्थर हेर्न उनको घरमा भिड लाग्न थालेको थियो।
बहुमूल्य पत्थर लाखौंमा किनबेचका लागि मोलमोलाइ हुन लागेको सूचनाका आधारमा गत असार १४ गते शाहीको घरबाट प्रहरीले क्वार्ज क्रिष्टल बरामद गरी प्रहरी कार्यालयमा राखेको थियो।
भूगर्भविदहरू सुस्मिता भण्डारी र दुर्गा बेलाखेले दुई दिन परीक्षण गरी उक्त टल्कने ढुङ्गा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा पठाइदिन आग्रह गरेका थिए।
गोरखाबाट क्वार्ज क्रिष्टललाई काठमाडौं ल्याउन खोजेपछि स्थानीय सरकार (गोरखा नगरपालिका) राजनीतिक दलहरू, नागरिक समाज र १८ भन्दा बढी संघसंस्थाले विरोध गर्दै आएका छन्।
देउता मानेर शाही परिवारले पूजा गरेको र धार्मिक आस्थासँग पनि यो विषय जोडिएकोले प्रशासनले सरोकारवालाहरू बीचकै सहमतिमा क्वार्ज क्रिष्टलको व्यवस्थापन गर्ने तयारी गरेको छ।