काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) खोतलेको छ।
शुक्रबार बिहान १० बजेदेखि खोला खोतल्न सुरू गर्ने भनिएको थियो। तर स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गरेपछि काम रोकिएको थियो।
शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका- ६ र ७ का वडाध्यक्ष र बूढानीलकण्ठ नगरपालिका- १० र १२ का वडाध्यक्षबीच तीन विषयमा सहमति भएपछि काम सुरू गरिएको हो।
काठमाडौं महानगर- ७ का अध्यक्ष विमल होडा, ६ का अध्यक्ष भुवन लामा, बुढानीलकण्ठ-१० अध्यक्ष नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईबीच तीन बुँदे सहमति भएको हो।
सहमति पत्र अनुसार धोबिखोलादेखि साततल्लेसम्मको बुढानीलकण्ठ- १० र काठमाडौं महानगर- ७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने भएको छ। आवागमन गर्ने स्थानहरू धोविखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलीब्रिज (पुल) निर्माण गर्ने भनिएको छ।
काठमाडौं र बुढानीलकण्ठ जोड्ने सिमाना बेलिब्रिज राख्ने अन्य ठाउँमा भने बक्स कल्भर्ट राख्ने सहमति भएको बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए।
यस्तै, साततल्ले चोकदेखि माथि बुढानीलकण्ठ- १०, १२ र काठमाडौं- ६ मा दुवै तर्फका जग्गाधनीको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याइ बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर/न.पा. को सिमाना र खहरे भाग रेखांकन गरी छुट्याउने सहमति गरिएको छ।
नापजाँचबाट सीमा यकिन गरी खहरे भाग समेत छुट्याएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाइ खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाअध्यक्षहरूको लिखित सहमतिमा दोस्रो चरणको काम सुरू गर्ने भनिएको छ। दुवैतर्फबाट काममा सहजीकरण गरी विवाद निरूपण गर्ने सहमति पत्रमा उल्लेख छ।
तस्बिरहरू: