बिहीबार अपराह्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गर्यो।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सिआइबीले उनको मण्डिखाटारस्थित निवासबाट पक्राउ गरेको हो। शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।
सुन प्रकरण र ललिता निवास प्रकरणजस्ता हाइप्रोफाइल मुद्दाको अनुसन्धान गरिरहेको सिआइबीले शर्मालाई पनि यिनै दुई मुद्दामा पक्राउ गर्यो कि भन्ने आशंका थियो।
पछि उनलाई प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दियो। नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा सिआइबीले उनलाई मात्रै पक्राउ गरेको भने होइन।
देशभरि नै एकैपटक विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाण पत्र लिएका चिकित्सकहरूलाई पक्राउ गरेको हो। शुक्रबार बिहानसम्म सिआइबीले ७ जनालाई पक्राउ गरेको छ।
शर्मासँगै रामबाबु यादव, रञ्जित यादव, एरिना शाह, अमित चौधरी, श्रद्धा शिल्पकार र मनित चौधरी पक्राउ परेका छन्।
सिआइबीले यसरी विभिन्न ठाउँबाट आरोपी पक्राउ गर्न अपरेशन नै चलाएको हो।
जसको नाम राखियो- फक्सट्रट चार्ली
प्रहरीजस्तो सुरक्षा निकायमा यसरी अपरेशनको नाम राख्नु कुनै नौलो कुरा होइन। कुनै पनि अपरेशन गर्दा प्रहरी प्रशासनले यसरी नाम दिने चलन छ।
यो अपरेशन फक्सट्रट चार्ली नामको अर्थबारे हामीले सिआइबीबाट जान्न खोज्यौं।
त्यसको जवाफमा सिआइबीका एक अधिकारीले भने, ‘यसको अर्थ खोज्नतिर नलाग्नुस्। वास्तविक अर्थ खोज्नुभयो भने बुझिन्न।’
ती अधिकारीले थप प्रष्ट्याए, ‘फक्सट्रटको एफ र चार्लीको सीबाट अर्थ्याएर बुझ्नुस्।’
उनको आशय थियो- फेक सर्टिफिकेट।
सांसद शर्मालगायत चिकित्सकहरूले भारतबाट आइएस्सीको नक्कली प्रमाणपत्र लिएको आरोप छ। नक्कली शैक्षिक प्रमाण पत्रको घटना भएकाले प्रहरीले यसलाई फेक सर्टिफिकेट अर्थिने गरी फक्सट्रट चार्ली राखेको हो।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलले सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको भन्ने सूचना सिआइबीलाई धेरै अगाडि नै थियो।
यसबारे सिआइबीलाई नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट सूचना प्राप्त भएको थियो। अनुसन्धानका लागि सिआइबीले आशंकाको घेरामा रहेका चिकित्सकहरूको प्रमाणपत्रबारे प्रमाणीकरण गर्न खोज्यो।
त्यसका लागि सिआइबीले सांसद शर्माको आइएस्सी तहको प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो।
त्यसको जवाफ साउन २०७९ साउन ५ गते नै आयो। सन् १९९६ सालको रोल कोड ६५०४, रोल नम्बर १०११७ को आइएसस्सीको प्रमाणपत्र अपुष्टित भनेर बोर्डले सिआइबीलाई पत्र पठाएको थियो।
त्यसैगरी अनुसन्धानको क्रममा अन्य चिकित्सकहरूले पनि नक्कली प्रमाणपत्र लिएको पाएपछि एकैसाथ पक्राउ गरिरहेको हो।
सांसद पक्राउ गरेपछि प्रहरीले सभामुखलाई जानकारी गराउनुपर्छ। यसबारे सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाइसकेकी छन्।
सांसद शर्माको नाम नक्कली प्रमाणपत्रको घटनामा पहिलो पटक मुछिएको भने होइन।
प्रहरीले २०७३ सालमा पनि सुनिल शर्मालाई खोजेको थियो। तत्कालीन सिआइबी प्रमुख डिआइजी नवराज सिलवाल हुँदा उनले नक्कली प्रमाणपत्रको आधारमा चिकित्सक बनेकाहरूविरूद्ध ‘क्वाक’ अपरेशन चलाएका थिए।
त्यतिबेला सिआइबीले सुरूमा ३६ जनालाई पक्राउ गरेको थियो। त्यसैबीच शर्मा जापान पुगेका थिए। उनी लामो समयसम्म फर्किएका थिएनन्।
पढ्नुस्:
सन् १९९६ मा शर्माले बिहार बोर्डबाट आइएस्सी सर्टिफिकेट ल्याएको देखिन्छ। सन् २०००मा शर्मा एमबिबिएस पढ्न चीन गएका थिए। उनी हेनानमा रहेको सिन्स्याङ मेडिकल कलेजमा पुगेका थिए। उनले सन् २००७ मात्रै एमबिबिएसको सर्टिफिकेट लिएका थिए।
२०७३ मा क्वाक अपरेशन चले पनि त्यसले निरन्तरता पाउन भने सकेन।
अयोग्य भएर पनि चिकित्सकको रूपमा काम गर्नेहरूलाई क्वाक डाक्टर भनिन्छ। त्यसैकारण त्यतिबेला यसको नाम क्वाक अपरेशन राखिएको एक पूर्वप्रहरी अधिकारीले बताए।
‘नक्कली डाक्टरहरूलाई क्वाक डाक्टर पनि भनिन्छ। सर्टिफिकेट नभएका फिजिसियनले म फिजिसियन भनेर काम गर्नेहरूलाई क्वाक डाक्टर भनिन्छ। त्यतिबेला त्यसैको अर्थमा अपरेशनको नाम राखिएको हो,’ ती अधिकारीले भने।
यो अपरेशन केही समय चले पनि प्रहरी महानिरीक्षक विवाद र राजनीतिक दबाबका कारण रोकिएको प्रहरी अधिकारीहरू बताउँछन्।
‘थुप्रै मान्छे पक्राउ परेका थिए। ९ सय बढी मानिसहरूको सर्टिफिकेट प्रमाणित गरेका थियौं। तर प्रधानमन्त्रीका आफन्त, सचिवका ज्वाइँ, छोरी, भतिज पर्न थालेपछि त्यसलाई अगाडि बढ्न दिएनन्,’ एक पूर्व प्रहरी अधिकारीले भने।
सिआइबीले भने पुरानो अनुसन्धान अपुरो भएकाले फेरि अनुसन्धान गरेर पक्राउ गरेको बताएको छ। अहिलेको अपरेशनले पछिल्लो पटक छुटेका व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुरक्षा निकायमा पहिलेदेखि नै राखिन्थ्यो अपरेशनको नाम
विश्वमा रहेका कुनै पनि सुरक्षा निकायमा अपरेशन गर्दा वा कुराकानी गर्न रोमन भाषाका शब्दहरूको प्रयोग गर्छन्।
अल्फाबेटहरूलाई शब्दको रूपमा अल्फा, ब्राभो, चार्ली, डेल्टा, इको, फक्सट्रट क्रमश: यसरी कोड वा सम्बोधन गर्दा प्रयोग गरिन्छ।
अहिले नक्कली शैक्षिक प्रमाण पत्रको अपरेशनको नाम पनि यसैबाट राखिएको छ। रोमन अल्फाबेटहरूको प्रयोग यसरी अहिले मात्रै भएको भने होइन।
पहिले पनि थुप्रै प्रयोग भएका छन्।
तत्कालीन सिआइबी प्रमुख एवं पूर्वएआइजी उत्तम सुवेदीका अनुसार २०५३/५४ सालमा माओवादीविरूद्ध प्रहरीले अपरेशन ‘रोमियो’ चलाएको थियो।
रोमियो पनि रोमन अल्फाबेटकै शब्द हो। तर अपरेशनको नाम दिँदा कहीँ न कहीँ सम्बन्ध हुने गरी राख्ने गरिन्छ।
‘माओवादीको जनयुद्ध बेलामा रोमियो अपरेशन चलाइएको थियो। माओवादीविरूद्ध रोल्पामा चलाइएको हुँदा त्यसलाई रोमियो अपरेशन भनिएको थियो,’ उनले भने, ‘रोमियोको आरबाट रोल्पा भएकाले नाम दिइएको थियो। जिल्लाको नामसँग जोडेर राखियो।’
त्यसैगरी माओवादीविरूद्ध प्रहरीले ६ महिने किलो सेरा-२ भनेर पनि अपरेशन चलाएको उनी सम्झिन्छन्। केबाट खोज र सेराको सबाट सर्च भन्ने अर्थले उक्त नाम राखिएको उनले बताए।
‘यसमा कुनै प्रकारको नियम हुँदैन। तर त्यो अपरेशनसँग सम्बन्धित केही कुराको शब्द, अक्षर लिएर अपरेशनको नाम दिइएको हुन्छ। यो नेपालमा मात्रै होइन संसारभर नै यस्तो नाम राख्ने प्रचलन छ,’ उनले भने।
यसरी नाम राख्दा संवाद गर्न पनि सजिलो हुने उनी बताउँछन्।
‘अपरेशनको नाम भएपछि सजिलो हुन्छ। ब्रिफिङ गरिरहन पनि पर्दैन। अब किलो सेरा-२ अपरेशन भएपछि जति पनि पठाइने मेसेजमा तपाईंलाई यस अपरेशनअनुसार यो ठाउँमा खटाइएको छ भन्दा हुने भयो,’ उनले भने, ‘यो सबै सजिलो गर्नको लागि गरिएको थियो।’
यसरी कुनै पनि अनुसन्धानको अपरेशन चलाउँदा मात्रै नभएर सुरक्षा निकायमा पद, ठाउँ अनुसार पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ।
नेपाल प्रहरीमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखलाई किलो-१ भनिन्छ। काठमाडौंको ‘क’बाट किलो १ राखिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखलाई पापा-१ भनिन्छ। पाटनको पबाट पापा-१ राखिएको हो। त्यसैगरी भक्तपुरमा अंग्रेजीमा बीबाट सुरू हुने भएकाले ब्राबो-१ भनेर सम्बोधन गरिएको छ।
यस्तै बीबाट सुरू हुने बारामा पनि ब्राबो भनिन्छ। फरक प्रदेशमा भएकाले त्यसलाई पनि ब्राबो नै भनिएको हो। नजिकका जिल्लामा परेमा भने फरक-फरक राखिन्छ।
यस्ता रोमन अल्फाबेटबारे कुनै पनि सुरक्षा निकायले अध्ययन नै गर्नुपर्ने पूर्वएआइजी सुवेदीले बताए।
‘यसबारे तालिममा पनि सिकाइन्छ, सिकाउनै पर्छ। सुरक्षा निकायमा मात्रै होइन, पाइलटहरूले पनि प्रयोग गर्छन्। एयर-ट्राफिक कन्ट्रोलले पनि यसरी नै सम्बोधन गर्छन्,’ उनले भने।
अपरेशनको नाम राख्दा सधैँ रोमनकै भाषा प्रयोग गर्नुपर्छ भन्ने पनि हुँदैन।
२०७३ मा नक्कली शैक्षिक प्रमाणपत्रको अपरेशनमा क्वाकमा रोमनको शब्द प्रयोग गरिएको थिएन।
काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले पछिल्लो समय गरेको वान एक्स बेटसम्बन्धी अपरेशनको नाम यससँग सम्बन्धित थिएन।
त्यतिबेला युवा पुस्तालाई यस्ता कुराबाट जोगाउनुपर्छ भन्ने उद्देश्यले ‘अपरेशन १ एक्स टू सेभ युथ्स एन्ड सिटिजन-२’ राखिएको थियो।