जिल्ला अदालतले पर्वतले पत्रकारहरूलाई आलोचना गरेका पत्रकार आरके अदिप्त गिरीलाई साइबर अपराधसम्बन्धी जाहेरीमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्यो।
गिरीले सामाजिक सञ्जालमा आफूहरूलाई इंगित गर्दै जथाभावी लेखेको भनेर पर्वतको कुश्माकै ६ पत्रकारले उनीविरूद्ध साइबर अपराधको जाहेरी दिएका थिए।
अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेसँगै सार्वजनिक चासोका विषयमा फेसबुकमा लेख्दैमा साइबर अपराधको मुद्दा नै लगाउने र पक्राउ गरिहाल्ने कार्यको आलोचना सुरू भएको छ।
तर गिरीले सामाजिक सञ्जालमा पत्रकारहरूलाई लगाएका लाञ्छना र गाली पनि आपत्तिजनक रहेको भन्दै उनको आलोचना पनि भएको छ। पत्रकारहरूले लेखेको वा नलेखेको चित्त बुझेन भन्दैमा न्यूनतम मर्यादा नराखी गाली गर्न र बिनाप्रमाण गम्भीर-गम्भीर प्रकारका आरोप लगाउन पाउँछन् कि पाउन्नन् भन्ने प्रश्न पनि उठेको छ।
सबभन्दा पहिले गिरीले फेसबुकमा के लेखेका थिए जसविरूद्ध पर्वतका ६ पत्रकार प्रहरीकहाँ गए हेरौं।
३ दिनअघि उनले फेसबुकमा लेखेका थिए– ‘हात मल्छ, नाक दल्छ, प्रशस्ति लेख्छ। दलाल, तस्कर, माफिया र नेताको स्तुति र भाषा बोल्छ। गोमन साँपले झैं समाजलाई डस्छ। थुक्क पर्वते पत्रकारको नियति। अब भण्डाफोरमा उत्रौं।’
पर्वतको पत्रकारिता विरुद्ध उनले ४ दिनअघि लेखेको स्टाटस यस्तो छ-‘पर्वतका पत्रकार नेता, दलाल, तस्कर, माफिया-विचौलियाको जुत्ता जिब्रोले चाट्छन्। आफ्ना स्वार्थलाई स्टकोटको भित्री गोजीमा राख्छन्। हाय रे हाय! पत्रकारको प्रवृत्ति/प्रकृति!! हाक्क थुक्क लुटेरा चोरहरू।’
गिरीले ६ दिनअघि अर्को स्टाटस लेखेका छन्, जसमा भनिएको छ-‘पत्रकारहरूको हुकुमी शासन चल्दैन अब कुश्मामा। यिनीहरूविरुद्ध साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्नुपर्छ अब। प्रेसको हाल यस्तो नहोस्।’
पत्रकार गिरीले लेखेका स्टाटसमा कसैको नाम उल्लेख छैन।
उजुरीकर्तामध्ये एक पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले भने स्ट्याटसमा आएको कमेन्टमा गिरीले रिप्लाई गर्दा नाम उल्लेख गरेर अश्लील भाषा प्रयोग गरेको दाबी गरे। त्यही भएर साइबर अपराधमा उजुरी दिएको उनले बताए।
‘सामाजिक संजालमा पर्वतका समग्र पत्रकार साथीको मर्यादामा आँच पुर्याउने गरी उहाँले स्ट्याटस, कमेन्ट लेख्नुभयो, जुन हामीलाई सह्य भएन,’ अध्यक्ष थापाले भने, ‘उजुरीका विषयमा मसँग होइन, प्रहरीसँग सोध्नुस्।’
पत्रकार गिरीले विद्युतीय कारोबार ऐन २०६३ विपरीत स्ट्याटस लेखेकोले सोही ऐनको दफा ४७ बमोजिम कारबाही गर्न उजुरी आएको पर्वतका प्रहरी प्रमुख डिएसपी मधुसुदन न्यौपानेले बताए।
‘साइबर अपराधमा गिरीविरूद्ध ६ जना पत्रकारले उजुरी दिएपछि के गर्ने भनेर हामीले जिल्ला अदालत पठाएका थियौं, पर्वतका प्रहरी प्रमुख डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई भने, ‘अदालतबाट पक्राउ पुर्जी आएको छ, उहाँ (गिरी) यहाँ हुनुहुन्न रैछ।’
गिरी अहिलेसम्म पक्राउ भने परेका छैनन्। हामीले कुराकानी गर्न खोज्दा पनि उनको फोन 'स्विच अफ' छ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नपाइने, गरेमा पाँच वर्षसम्म कैद हुने उल्लेख छ।
‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ उक्त दफामा लेखिएको छ।
पत्रकारका विरुद्ध गिरीले प्रयोग गरेको भाषा र शब्द गलतमात्र होइन कानुनविपरीत भएकाले आफूहरूले साइबर अपराधको जाहेरी दिएको अध्यक्ष थापाले बताए। उनीहरूले दिएको उजुरीमाथि पनि प्रश्न भने उठेको छ।
अधिवक्ता भगवती पहारीले पत्रकार गिरीले सार्वजनिक सरोकारका विषयमा फेसबुकमा स्टाटस लेख्न पाउनु उनको अभिव्यक्ति स्वतन्त्रता भएको बताइन्। तर पत्रकार गिरीले स्टाटसमा व्यक्त गरेका भाषा र शब्द आपत्तिजनक रहेको पनि उनको पनि भनाइ छ।
उनको विचारमा जिल्लाको समग्र पत्रकारिताका बारेमा उनले सभ्य भाषामा लेख्न र बोल्न पाउने अधिकार भए पनि अमर्यादित र आपत्तिजनक शब्द र आरोप प्रयोग भने गर्न पाइन्न। तर आलोचनाको उद्देश्यले गरिएका स्टाटसलाई लिएर साइबर अपराधको मुद्दा लगाउनु अलिक धेरै भएको पनि उनले बताइन्।
‘पत्रकारमाथि पनि प्रश्न उठाउन पाइन्छ। तर सभ्य र मर्यादित तरिकाले प्रश्न गर्नुपर्छ,’ उनले भनिन्, ‘अर्कातिर कसैलाई आलोचना गर्दैमा साइबर अपराध लगाउने हो भने त त्यसले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई नै संकुचित र कुण्ठित पार्छ।’
यस्ता अभ्यासले पत्रकारितामाथि नै समस्या आउन सक्नेतर्फ पनि विचार गर्नुपर्ने उनको भनाइ छ।
उनले भनिन्- भोलि सरकारमा बसेका मान्छेहरूले आलोचना वा प्रश्न गरेकै आधारमा यसरी साइबर अपराधको मुद्दा पत्रकारविरूद्ध नचलाउला भन्न सकिँदैन, यसतर्फ उजुरी दिने पत्रकार पनि होसियार बन्नुपर्थ्यो।
स्ट्याटसमा लेखिएका शब्द र भाषाले मर्यादामा आँच पुग्यो भन्ने लागेको भए अन्य प्रकृयाबाट पनि कारबाही गर्न सकिने उनले बताइन्।
‘साइबर अपराधको कानुनलाई नै हतियार बनाउन हुन्नथ्यो,’ उनले भनिन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जाल वा कुनै पनि फोरममा सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको बताए।
गिरीले स्टाटसमा प्रयोग गरेका भाषा र शब्दका विषयमा गाली बेइज्यती वा अन्य कानुनी बाटोबाट समाधान खोज्नुपर्ने तर साइबर अपराध लगाउन नहुने उनको तर्क छ।
‘उहाँले प्रयोग गरेका भाषा र शब्दका विषयमा गाली बेइज्जती वा अरू बाटोबाट कानुनी दायरामा ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘यसलाई साइबर अपराधमा कारबाही गर्नु कानुनको दुरूपयोग हो।’
साइबर अपराधको आरोप प्रमाणित नहुने स्थिति आयो भने पनि लामो समय प्रहरी हिरासतमा राख्ने उद्देश्यले साइबर अपराधमा पत्रकारलाई मुद्दा हाल्ने क्रम बढेको र गिरीमाथिको पक्राउ पुर्जी त्यसैको शिलशिला भएको उनले बताए । जुनसुकै विषय उठाउँदा पनि साइबर अपराधमा जाने प्रवृत्तिले समाजलाई बन्द बनाउने पोखरेलको भनाइ छ।
सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्नु, आलोचना गर्नु, कसैको समर्थन वा विरोध गर्न पाउनु नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक भए पनि तथ्य र प्रमाणहीन लान्छना, अमर्यादित भाषा र गाली भने जोसुकैलाई पनि गर्न नपाइने उनले बताए।
पत्रकार गिरीलाई पक्राउ गर्न पुर्जी जारी भएपछि कालीगण्डकी बचाऊ अभियानले विज्ञप्ती जारी गर्दै कालीगण्डकी नदी दोहनलाई प्रोत्साहन गर्न खोजिएको आरोप लगाएको छ।
‘पत्रकारले गरेका आधारहीन उजुरी देखाएर उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिनु कालीगण्डकी दोहनविरूद्धको अभियानलाई कमजोर पार्ने षडयन्त्र भएको हाम्रो ठहर छ,’ विज्ञप्तीमा भनिएको छ।
जिल्लाका पत्रिकाले लोककल्याणकारी विज्ञापनको पैसा लिनु तर बजारमा पत्रिका नपाउनु, सामाजिक विषय उठाउन नसक्नु, भ्रष्टाचार, कालीगण्डकी दोहन जस्ता विषयमा मौनता साध्नु गलत भएको र त्यसका विरूद्ध गिरी खरो उत्रिएको पनि विज्ञप्तीमा उल्लेख छ।
यसैका आधारमा साइबर अपराधमा मुद्दा लगाएर कारबाही गर्नु आपत्तिजनक भएको विज्ञप्तीमा उल्लेख छ।
‘पत्रकारिता क्षेत्रमा देखिएका विकृतिविरूद्ध आवाज उठाउनु सबै सचेत नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सचेत नागरिकको कर्तव्य निर्भीकतापूर्वक पालना गरेकै भरमा अभियन्ता गिरीमाथि पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक छ।’
कालीगण्डकी बचाऊ अभियान चलाइरहेका पत्रकार गिरी फोटो पत्रकार हुन्। पर्वतको कुश्मामा बसेर उनले कला परियोजना र कालीगण्डकी नदी बचाऊ अभियान चलाएका छन्।
अदालतको आदेशपश्चात् पनि कालीगण्डकी नदीमाथि भइरहेको दोहन नरोकिएको र पत्रकारले एक शब्द पनि नलेखेको भन्दै उनले आक्रोश व्यक्त गर्दै आएका थिए।