हुम्लाको सर्केगाडा गाउँपालिका–२ को रिप गाउँमा २८ वर्षपछि यसपालिको बर्खामा ठूलो जोखिम निम्त्याउने वर्षा भएको छ। वर्षाका कारण हुम्लाको पूर्वी क्षेत्रमा सर्केगाड गाउँपालिकाका केही गाउँहरू जोखिममा परेका छन्।
वडा नम्बर २ को रिप, वडा नम्बर ३ को उनापानी, वडा नम्बर ८ को रादेउ र वडा नम्बर ६ को छ्याँगी बाढीपहिरोको जोखिममा छन्। तीमध्ये रिप गाउँ सबैभन्दा बढी जोखिममा छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल भन्छन्, ‘अरू गाउँहरू जोखिममा छन् तर खहरे खोलाको बहाव क्षमताभन्दा बढी माटो बगाएकोले रिप गाउँ बढी जोखिममा रहेको हाम्रो मूल्यांकन छ।’
रिप गाउँको तल्लो भागमा हुम्ला कर्णाली नदी तथा वल्लो र पल्लो भागमा खहरे खोला छन्। माथिल्लो भागमा कमसल माटो भएको भिर छ। केही दिनअघि लगातार भएको वर्षाले माथिल्लो भाग कमजोर बनाएको छ। तल्लो र वरपरको भाग कटानमा परेको छ।
यसपालिको ठूलो वर्षाले गाउँहरू ठूलो जोखिममा परेको सर्केगाड–२ का वडाध्यक्ष सिद्ध कार्कीले बताए।
‘जग्गा सबै बगाइसक्यो, वरिपरिका खोला र तलको नदीले कटान गरेर समुद्रको टापुजस्तै बनाइदिएको छ,’ वडा नम्बर २ का वडाध्यक्ष कार्कीले भने, ‘दायाँबायाँ चिरा परेर बग्यो। तल्लो भागबाट खोलाले काटेर लिइसक्यो। पहिलेका वर्ष पनि अलिअलि बगेको थियो। यो वर्ष गाउँको माथिल्लो भाग पनि फुटेको छ।’
अझै धेरै पानी पर्यो भने माथिबाट पहिरो खस्ने र गाउँ नै बगाउने जोखिम छ।
उनका अनुसार वडा नम्बर २ का रिपसहित वरिपरिका गाउँहरूमा रहेका २३० घरधुरीका १५ सय जनसंख्या बाढी र पहिरोको जोखिममा छन्। वर्षा रोकिएपछि माटो बग्न छोडेको छ तर यो बर्खाको पानी पर्ने समय बाँकी रहेकाले जोखिम पनि बाँकी नै रहेको उनले बताए।
गाउँको विद्युत र खानेपानीका संरचनामा क्षति पुगेको छ। एउटा विद्यालय भवन भत्कनै लागेको छ। सुरक्षाकर्मीको टोलीले धेरै समय लगाएर मर्मत गरेपछि खानेपानी मुस्किलले कामचलाउ भएको छ।
रिप गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कुरा भए पनि काम गर्न नसकिएको उनले बताए।
‘त्यति ठूलो गाउँ कसरी सार्ने, सर्नैपर्छ भनेर कसलाई भन्ने, म आफैँ वडाध्यक्ष छु,’ कार्की भन्छन्, ‘नजिकमा सुरक्षित ठाउँ हुनुर्यो। बस्ती व्यवस्थापन हुनु पर्यो। अहिलेसम्म मानवीय क्षति भएको छैन तर लगातार पानी पर्यो भने ठूलै क्षति हुन सक्छ।’
सर्केगाडको रिप गाउँमा २०५८ सालको बर्खामा यस्तै समस्या आइपरेको थियो। लगातार चार दिन पानी परेपछि गाउँलेहरूले अर्को गाउँमा आश्रय लिएका थिए।
‘२०५८ सालमा पनि निरन्तर पानी परेर गाउँ जोखिममा परेको थियो। त्यो बेला हामी गाउँलेहरू चार दिनसम्म अर्को गाउँमा गएर बस्यौँ,’ कार्कीले भने, ‘त्यो बेला माथिल्लो भाग फाटेको थिएन। यसपालि माथिल्लो भाग पनि फाटेकाले पहिरो आएर गाउँ बगाउने जोखिम छ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले जोखिममा रहेको रिप गाउँ सामान्य अवस्थामा फर्किएको बताए। उनका अनुसार वर्षा र बाढीपहिरो रोकिएकोले तत्कालका लागि समस्या छैन।
‘खहरे खोलाको समस्या हो। ठूलो वर्षा हुँदा खोला किनारका केही घरहरू जोखिममा छन्,’ उनले भने, ‘खेतीयोग्य जमिन, पुल, विद्युत, खानेपानीमा क्षति भएको छ। हामी त्यसको विवरण संकलन गर्दैछौं।’
पोखरेलले रिप गाउँका २०–२५ घर बढी जोखिममा रहेको बताए। उनले बस्ती सार्नुपर्ने अवस्था भए पनि तत्कालै सम्भव नरहेको बताए।
‘बस्ती सार्नुपर्ने अवस्था आउन सक्छ तर यो बर्खामा हुने कुरो भएन,’ पोखरेलले भने, ‘यहाँ वर्षा थोरै हुन्छ तर बढी वर्षा भइदियो भने यो भूगोलले सहँदैन अनि जोखिम बढ्छ।’
वरिपरिका खहरे खोलाले सोचेभन्दा बढी जमिन बगाएकाले गाउँहरूमा बढी जोखिम देखिएको छ। बर्खा सकिएपछि अनुकूल समयमा विज्ञसहितको टोली बोलाएर जोखिम अध्ययन गराउने उनले बताए।
सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले तत्काल बस्ती सार्न नसके पनि अनुकूल समयमा पहल गर्ने बताए।
उनले भने, ‘हामीले कार्यपालिकाको बैठक राखेर जोखिम भएका बस्ती व्यवस्थापनको नीति र योजना बनाउने विचार गरेका छौं।’
उनले अब लगातार ठूलो वर्षा नभए जोखिम नहुने बताए।
‘बस्ती सार्ने कुरा पनि भएको थियो तर छलफलमात्रै भयो,’ अध्यक्ष रोकायाले भने, ‘गाउँ वरपर खहरे खोला भएकाले पानी पर्दा बहाव बढेर समस्या आएको हो। तत्काललाई बस्ती नै सार्ने कुरा टरेजस्तो छ। बिस्तारै जोखिम सामान्य भएको छ।’
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण जिसीले जोखिममा रहेका सर्केगाडका रिप र अन्य गाउँहरूमा तत्काल क्षति हुन नदिने गरी काम भइरहेको बताए।
‘मनसुन सक्रिय भएको अवस्थामा उद्धारकर्मी र राहत सामग्री तयारी अवस्थामा राख्ने, बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्न सुरक्षित ठाउँ खोजी गर्ने काम भइरहेको छ,’ मन्त्री जिसीले भने, ‘तत्कालै बस्ती सार्ने सम्भावना भएन तर जोखिमबाट क्षति हुन नदिने गरी हाम्रो तयारी पूरा छ।’
उनले बस्तीमा क्षति भएका संरचना पुनर्निर्माण गरी खानेपानी, आवास, शिक्षा जस्ता सुविधा सहज बनाएको बताए।