हिमाली जिल्ला मनाङमा भुइँ-बारूला (सिंगुस) खाँदा ७ जना बिरामी परेका छन्।
मंगलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने सात जना मजदुरले सिंगुस पोलेर खाँदा बिरामी परेका हुन्।
गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले र गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार भुइँ-बारूला खाएका सात जनाको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उमेर ३५ देखि ४८ वर्ष रहेको उनले बताए।
'सिंगुस (भुइँ-बारूला) खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ,' प्रहरी नायब उपरीक्षक भण्डारीले भने।
उनका अनुसार सबै बिरामी अचेत अवस्थामा छन्।