१६ वर्षमै दृष्टि गुमाएकी २९ वर्षीया सृष्टि केसीले ५ वर्षपछि सोमबार दोस्रो पटक प्याराग्लाइडिङ गरिन्।
पहिलो पटक उनी एक्लै प्याराग्लाइडिङ गरेकी थिइन्। अहिले उनले एक दर्जन साथीलाई पनि प्याराग्लाइडिङ गर्न पोखरा ल्याइन्।
पोखराको पर्यटनमा ‘अफ सिजन’ लागेको छ। वर्षाका कारण पदयात्रा सुनसान छन् भने प्याराग्लाइडिङ पनि सिजनमा जस्तो चलेको छैन।
उनका समूह एकै पटक प्याराग्लाइडिङ गर्न सराङकोटमाथि मान्द्रेढुङ्गा पुगे। मान्द्रेढुङ्गाबाट आकाशमा विचरण गर्दै पामेमाथि घाँसे मैदानमा ओर्लिए।
प्याराग्लाइडिङ गर्न सृष्टिसँगै आएका १२ जनामध्ये १० जना दृष्टिविहीन थिए। एक जना अमेरिकी र एक जना अष्ट्रियाका दृष्टिविहीन नागरिक पनि सृष्टिसँगै प्याराग्लाइडिङको अनुभव संगाले।
वर्षातका कारण हिमाल खुलेका थिएनन्। रातभर परेको पानी बिहान रोकिएको थियो। घाम विस्तारै चर्किंदै थियो। चिसो हावाले शीतल बनाएको थियो। त्यही बेला सृष्टिसहित उनको समूह मान्द्रेढुङ्गाबाट इन्जिनरहित प्याराग्लाइडमा उनीहरू उडेका थिए।
दृष्टिविहीन भएकाले सृष्टिले आफ्नै आँखाले दृश्यपान गर्न पाइनन्। १६ वर्षको उमेरमा उनको आँखामा एलर्जी भयो। उपचार गर्दागर्दै उनी पूर्ण रूपमा दृष्टिविहीन बन्न पुगिन्। त्यसपछि उनको संसार फेरियो।
प्याराग्लाइडिङ गर्दा पाइलटले देखिएका दृश्य वर्णन गर्थे। उनले मनबाट हेर्थिन्। आकाशममै हात फिँजाएर रमाइन्।
‘शीतल हावा महसुस गर्दै थियौं, घामले मन्द मन्द पोल्दै थियो,’ उनले भनिन्, ‘हामीले बादललाई छोयौं, बादलभित्र पस्यौं। पाइलटले वरपरका हरियाली, जंगल, तालको व्याख्या गरिदिनुभयो।’
प्याराग्लाइडिङमा चढेर धर्ती छाड्ने बेला उनी केही गम्भीर बनेकी थिइन्। उडिसकेपछि खुसीले रमाइन्। प्याराग्लाइडिङमा चढेर चराजस्तै स्वतन्त्र उड्न पाउँदाको खुसी उनी धर्तीमा झरिसकेपछि पनि रोकिएन। दृष्टिविहीन हुँदैमा प्याराग्लाइडिङको आनन्द लिन नछेकिने उनले बताइन्।
‘आँखा भनेको त ‘गेटवे’ मात्र हो, आँखाले हेरेर मनले महसुस गरेपछि नै आनन्द आउने हो,’ उनले भनिन्, ‘हाम्रो गेटवे कान हो, कानबाट लियौं, मनले आनन्द महसुस गर्यो।’
दृष्टिविहीन भएकै कारण हिमाल छेकिँदा पनि त्यसको अनुभूति लिन सकेको उनले बताइन्।
प्याराग्लाइडिङ गर्दा देखिने हिमालका बारेमा पाइलट कृष्णले व्याख्या गरिदिएका थिए, उनको मनले देखिहाल्यो माछापुच्छ्रे र अन्नपूर्ण श्रृंखला।
‘हिमाल छेकिराखेको थियो बादलले, मैले आँखा नदेख्ने भएकाले मलाई हिमाल हेर्न छेकेन,’ उनले भनिन्, ‘पाइलटले व्याख्या गरिदिएको हिमाल मेरो मनले देख्यो, हिमाल हाँसिरहेको थियो ।’
उनलाई प्याराग्लाइडिङ गराएका पाइलट कृष्ण सुनुवारले ‘टेकअफ’ गरेदेखि नै दृश्यको व्याख्या गरिदिएका थिए। सृष्टिले पनि जिज्ञासु भएर सोधिरहिन्। इन्जिनबिना नै आकाशमा उड्ने साहसिक खेलमा रमाउन आउने पर्यटक आकाशमा उड्न र आकाशबाट देखिएको दृश्यले मोहित हुने गरेको पाइलट कृष्णले बताए।
दृष्टिविहीन भएपछि सृष्टिले २०१४ मा ‘ब्लाइण्ड रक्स’ नामक संस्था खोलेकी छन्। संस्थामार्फत् आफूजस्तै दृष्टिविहीनका क्षमता उजागर गर्न र समावेशी अधिकारका लागि पैरवी गरिरहेकी छन्। सोमबार पोखराको उडानलाई पनि उनले ‘सामावेशी प्याराग्लाइडिङ’ नाम दिएकी छन्।
पोखरामा प्याराग्लाइडिङ गरेजस्तै यसअघि 'ब्लाइण्ड रक्स' ले दृष्टिविहीन नागरिकलाई राफ्टिङ गराइसक्यो। नाच, फेसन शो लगायतका कार्यक्रम पनि संचालन गरिरहेकी छन्। आँखा देख्नेहरूले गर्न सक्ने सबै काम दृष्टिविहीनले पनि गर्न सक्ने उनको आत्मविश्वास छ।
‘जीवनको कुनै पनि उचाइ वा सफलतामा पुग्न दृष्टिविहीन अपाङ्गताले छेकबार गर्दैन’, उनले सेतोपाटीलाई भनिन्, ‘त्यही भएर हामीले प्याराग्लाइडिङ गर्यौं, यसले हामीलाई आत्मविश्वास र शक्ति दिएको छ।’
दृष्टिविहीन नागरिकलाई प्याराग्लाइडिङ गराउने योजना उनले ५ वर्षअघि आफूले पहिलो पटक प्याराग्लाइडिङ गर्दा नै सोचेकी थिइन्।
६ महिना अघि मात्र दृष्टिविहीनको सामूहिक प्याराग्लाइडिङको योजना बनाए। सोमबार सफल भए।
उनीहरूको योजनामा अमेरिकी नागरिक क्रिष्टोफर र अष्ट्रियाका थोमस पनि सामेल भए। दुबै जना दृष्टिविहीन थिए। पोखरा आएर पहिलो पटक प्याराग्लाइडिङ गर्न पाउँदा जीवनकै फरक रोमाञ्चक अनुभूति भएको उनीहरूले प्रतिक्रिया दिए।
दृष्टिविहीन हुनुअघि सृष्टिको नाच्न रुचाउँथिन्। त्यतिबेला उनलाई खुसी र सम्मानको कुनै कमी थिएन। जब उनीको दृष्टि गुम्यो, समाजका मान्छेहरूले दयाको दृष्टिले हेर्न थालेको सृष्टिले अनुभव गरिन्।
समाजको दृष्टि परिवर्तन गर्न नै उनले संस्था खोलेर दृष्टिविहीन नागरिकलाई हौसला र आत्मविश्वास जगाउनुका साथै समान अधिकारको पैरवी गरेको सुनाइन्।
एउटै जुनीमा आँखा देख्ने र नदेख्ने दुबै अवस्था सामना गरेकी सृष्टिले युरोपबाट स्नातकोत्तर गरेकी छन्। अब पिएचडीको तयारीमा छन्। पिएचडी सकेर अपाङ्गता भएका नागरिकलाई हौसला प्रदान गर्न लागिपर्ने उनी बताउँछिन्।
‘समाजमा हामीलाई काम गर्न सक्दैनन् भन्ने व्यक्तिहरू धेरै छन्, उनीहरू र हामीमा फरक आँखा देख्नु र नदेख्नु मात्र त हो,’ उनले भनिन्, ‘हाम्रा लागि समाजले बाटो दिन्नन् भने हामी आफैं हाम्रो बाटो बनाउन सक्षम छौं।’
राज्यले निर्माण गरेका सरकारी र सार्वजनिक सबै संरचना अपाङ्गमैत्री हुनुपर्ने उनको माग छ।
अधिकारका कुरा होस् कि पर्यटकीय पूर्वाधार, सबै अपाङ्गमैत्री हुनुपर्ने उनले बताइन्।
अपाङ्गता भएका व्यक्तिले हरेक काम गर्न सक्छ भनेर देखाउनु आफ्नो उद्धेश्य भएको उनले बताइन्।
‘हाम्रो सशक्तीकरणमा कुनै पनि बाधा नहोस्, अरूले जस्तै हामीले पनि जुनसुकै काम गर्न सक्छौं,’ उनले भनिन्, ‘यो समाजका हरेक क्रियाकलाप समावेशी गराउन सक्छौं।’
समावेशी प्याराग्लाइडिङ कार्यक्रममार्फत १२ जनामा आत्मविश्वास पैदा भएको उनको अनुभव छ। आकाशमा हावाको तालमा उड्नुको अनुभवले अपाङ्गता भएका व्यक्तिलाई काम गर्न कुनै पनि कुराले नछेक्ने उनको भनाइ छ।
‘दृष्टिविहीन अब दयाको पात्र बन्न हुँदैन,’ उनले भनिन्, ‘हरेक ठाउँमा समावेशी हुनुपर्छ र सबै संरचना हामीमैत्री हुनुपर्छ। यो हाम्रो अधिकार पनि त हो।’