मैतकुमारी हमाललाई भयंकर सपनाबाट ब्युँझिएझैं भएको छ।
पोखरा सराङकोटकी उनले गएराति भोग्नुपरेको घटना जीवनकै दर्दनाक थियो। मध्यरातमा आत्तिएर बेस्सरी चिच्याउँदै थिइन्। १५ वर्षीय छोरा सनिपलाई पहिरोले पुरेको सम्झेर अहिले पनि उनी भक्कानिरहेकी छन्।
पोखरामा शनिबार दिउँसोदेखि अविरल वर्षा भइरहेको थियो। राति झनझन् दर्किएको थियो। रातको ११ बजेपछि अचानक बत्ती गयो। चट्याङ चट्कियो। मैतकुमारी छोरा सनिप हमाललाई बोलाएर आफूसँगै सुताउन उठिन्।
त्यही बेला जमिन थरर काँपेको थियो। सनिपलाई लिन जाँदा मैतकुमारीले घर पहिरोले लगिसकेको देखिन्। बाहिर छिमेकी सुन्दरश्याम अधिकारीको घर पहिरोले पूरै बगाइसकेको थियो। उनी आत्तिएर चिच्याउन थालिन्।
'बत्ती गएपछि आमाछोरा बीचको कोठामा सुत्छु भनेर उठेको त छोरा पनि छैन, घर पनि छैन,' उनले भनिन्, 'म छोरा सनिप भन्दै बाहिरतिर दौडेँ।'
सनिप त्यति बेला निदाइसकेका थिए। पहिरोले जमिन थर्किँदा उनी ब्युँझिए। उठ्न खोज्दा पहिरोले उनले बगायो। मैतकुमारी 'छोरा छैन' भन्दै चिच्याइरहिन्।
बाहिर छिमेक सुन्दरश्याम अधिकारीको घर पूरै बगाइसकेको थियो। मध्यरातमा मानिसको भागाभाग भयो। उनी घरबाहिर भन्दा टाढा भाग्न सकिनन्। पहिरोमा पुरिएको छोरा उद्धार गर्न गुहार मागिरहिन्।
पहिरोबाट जोगिन भाग्दै गरेका स्थानीय दुई युवा पहिरोको समाना गरेर सनिपलाई जोगाउन खोजे। आमाले गरेको चित्कार सुनेर ती युवाहरूले पहिरोमा गाडिएका सनिपलाई खनेर निकाले। माथिबाट पहिरो झर्दै गर्दा पनि उनीहरूले सनिपलाई पहिरोबाट बाहिर ल्याइछाडे।
सनिपको उद्धार भइसकेपछि बल्ल मैतकुमारीमा आशा पलायो। छोरालाई बाहिर ल्याएपछि उनी पनि छोरासँगै अस्पताल आइन्। उपचार गरेर लगिन्। अहिले उनी छिमेकीको घरमा शरण परेकी छिन्।
पहिरोले घरका सामान पनि बगाइदिएको छ। सनिपको जुत्ता, झोला, किताब, स्कुलको पोसाक केही पनि बाँकी छैन।
छोरा सनिपलाई फेरि पोसाक र किताब किनेर स्कुल पठाउने उनले तयारी गरेकी छिन्। पहिरोले तर्साएको उक्त ठाउँमा अब नबस्ने उनले बताइन्।
'म यहाँ बस्दिनँ, बस्न सक्ने भए पनि बस्दिनँ,' उनले भनिन्, 'मलाई छोरा भए भयो, म जान्छु, यहाँ बस्दिनँ।'
श्यामसुन्दर र मैतकुमारीको घर पहिरोले लगेपछि उक्त ठाउँका अन्य घरहरू पनि असुरक्षित बनेका छन्। भिरालो बस्ती भएकाले जुनसुकै बेला पहिरो जान सक्ने अवस्था देखिएको स्थानीयले बताएका छन्।
यस्तै, पोखरा–१६ डाँडाथोकमा जमिन भासिएको छ। पक्की घरअगाडि सडकको नालीमा सडक भासिएर भ्वाङ बनेका छन्। शनिबार दिउँसोदेखि परेको पानीका कारण सडक भासिएको स्थानीय सन्दीप थापाले बताए।
'नालीबाट पानी जमिनमा चुहिएर भ्वाङ बनायो,' उनले भने, 'नाली भएको ठाउँमा मात्र भासिएको छ।'
सडक भासिएपछि स्थानीयले आइतबार भासिएको ठाउँमा गिटी भर्न लगेका थिए। गिटी बोकेको टिपरका पांग्रा पनि जमिनसँगै भासिन पुग्यो।
पोखराको जमिन चुनयुक्त ढुंगामाटोले बनेकाले धेरै पानी पर्दा चुन पग्लेर जमिन भासिने र भ्वाङ पर्ने गरेको भूगर्भविद्हरू बताउँछन्।
पोखरा महानगरको कार्यालय अगाडि पनि केही दिनअघि यसरी नै भ्वाङ परेको थियो। उक्त भ्वाङ सानो भएकाले महानगरका कर्मचारीले ढुंगामाटो भरेर पुरेका थिए। वर्षायाममा पोखराको जमिन बर्सेनि यसरी नै भासिने गरेको छ।