जनकपुरधामबाट २५ किलोमिटर दक्षिण दुहबी गाउँमा यतिखेर मोहर्रम पर्वको रौनक छाएको छ।
हामी शुक्रबार विदेह नगरपालिका–२ स्थित भारतीय सीमासँग जोडिएको यो गाउँमा पुग्दा गाउँलेहरू ताजिया (दाहा) मेलामा रमाइरहेका थिए।
इस्लामिक क्यालेन्डरअनुसार अहिले मोहर्रम महिना चलेको छ। मोहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो, नयाँ वर्षको सुरू महिना हो। यही महिना इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानको बलिदान गरेको मानिन्छ।
त्यही बलिदानको सम्झनामा मुस्लिम समुदायले मोहर्रम महिनामा ताजिया बनाएर गम अर्थात् दुःख मनाउने गर्छन्। यही अवसरमा ताजिया मेला लाग्छ।
हरेक वर्ष मोहर्रमका अवसरमा ताजिया मेला लाग्ने गरेको छ। यस वर्ष भने दुहबीको मेलामा छुट्टै रौनक छाएको छ। मुस्लिम समुदायको पर्वमा हिन्दु समुदायका एक जनाले पनि ताजिया बनाएका छन्। मेलामा २५ वर्षपछि नयाँ रौनक देखिएको हो।
आमाले गरेको भाकलअनुसार स्थानीय विनोद ठाकुरले ताजिया बनाएका हुन्। दुहबीमा २५ वर्षअघि पनि आफ्नो भाकल पूरा भएको खुसीमा हिन्दु समुदायका व्यक्तिले ताजिया बनाएका थिए।
मेला भव्य बनाउन मुस्लिमहरूसँगै हिन्दु युवाहरू पनि खट्ने गरेका छन्।
मानिसहरू ससानो ताजिया बनाएर पर्व मनाउँछन्। मोहर्रममा मुस्लिम समुदायका व्यक्तिले लाठी, भाला, फुर्सा लगायतका घरेलु हतियारका साथ घरघरमा ताजिया खेल्छन्। उनीहरू हिन्दुका घरमा पनि जान्छन्। हिन्दु परिवारले दक्षिणा दिन्छन्, खेल्न आउनेले आशीर्वाद दिन्छन्।
मेला व्यवस्थापन समितिका अध्यक्ष आविद हुसैनका अनुसार यस वर्ष हिन्दुले नै दाहा अर्थात् ताजिया बनाएपछि मुस्लिम समुदायमा उत्साह बढेको छ।
'यस वर्षको ताजिया मेला मुस्लिम र हिन्दु समुदायका बीचको सद्भाव र भाइचारा अद्भूत नमूना हो,' उनले भने।
मेला समितिमा हिन्दु समुदायकै युवाहरू पनि छन्।
यसपालि विनोदले आफ्नी श्रीमतीको सुस्वास्थ्यको कामना गरेर ताजिया लगाएका हुन्। उनले तीन महिनाअघि नै दाहा बनाउने जानकारी गराएका थिए।
दुहबीमै बरहन्ना साहेबको मजार पनि छ जहाँ हिन्दु र मुस्लिम दुबै समुदायले पूजापाठ गर्छन्। दसैं, दीपावली लगायतका पर्वमा आफ्नो घर र मन्दिरमा जस्तै हिन्दु समुदायका व्यक्तिले मजारमा दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको विदेह नगरपालिकाकी उपप्रमुख आशादेवी झाले बताइन्।
‘यहाँ दुबै (हिन्दु र मुस्लिम) समुदायको बसोबास छ। परापूर्वकालदेखि सद्भाव कायम छ। दुबै धर्मका व्यक्तिहरू एकअर्काको संस्कृति, संस्कारको सम्मान गर्दै चाडपर्वमा रमाउँछन्,’ उनले भनिन्, ‘मजार, दाहा मुस्लिम समुदायकै भए पनि हिन्दुको पनि उतिकै आस्था र विश्वास छ।’
हुसैनका अनुसार मजार बनेको मिति ठ्याक्कै कसैलाई थाहा छैन। बरहन्ना साहेबको मजारका बारेमा उनले आफ्ना हजुरबा फौदार शाह मलंगले सुनाएको सय वर्षअघिको कथा सुनाए।
सय वर्षअघि गाउँमा हैजा फैलिएको थियो। धेरैको ज्यान गयो। न घरबाट निस्किने अवस्था थियो न कसैको लास कसैले छुने अवस्था।
‘त्यही बेला मेरा हजुरबालाई बरहन्ना साहेबले स्वप्नदर्शन दिनुभयो। र यसपछि हैजाको महामारी अन्त्य भयो,’ हुसैनले भने, ‘हैजा अन्त्य भएपछि हिन्दु र मुस्लिम दुबै समुदायका व्यक्तिको ज्यान जोगियो। त्यही आस्थाका कारण दुबै समुदायले बरहन्ना साहेबको मजारमा पूजापाठ गर्न थाले। पहिले सुपारी चढाउँथे। बिस्तारै कुखुरा, खसी, मिठाइ चढाउने चलन बस्यो।’
स्थानीयवासीहरूका अनुसार यहाँ हिन्दु र मुस्लिमले आआफ्ना पर्वमा एकअर्कालाई घरमा बोलाउने र मिठोमसिनो खुवाउने चलन छन्। नगरउपप्रमुख झाको घर पनि दुहबी गाउँमै छ। उनका अनुसार दसैंमा टोलमा हिन्दुको दुर्गा मेला आयोजना हुन्छ। मेलाका लागि मुस्लिम समुदायका व्यक्तिहरूले पनि आर्थिक र भौतिक सहयोग गर्छन्।
‘यहाँ एकअर्काको धर्मको सम्मान मात्रै होइन, एक हिसाबले स्वीकार नै गरिएको छ। दसैंमा मुस्लिम समुदायले पनि गाउँको दुर्गा मन्दिरमा खसी चढाएको हामीले देखेका छौं,’ झाले भनिन्, ‘यहाँ इद र बकर इदमा हामी पनि मुस्लिम दाजुभाइ, दिदीबहिनीसँग रमाउँछौं, खुसी बाँड्छौँ। रोजाको समयमा हामी उनीहरूलाई फलफूल खुवाउँछौं।’
रोजा इस्लाम धर्मावलम्बीको एक महिने ब्रत हो।