काठमाडौंको इतुम्बहा:स्थित केशचन्द्र महाविहारमा खुल्न लागेको संग्रहालयलाई लिएर सम्पदा संरक्षण अभियन्ता तथा स्थानीयहरूले विरोध गरेका छन्।
केशचन्द्र महाविहारलाई काठमाडौंको सबभन्दा पुरानो र महत्वपूर्ण महायान बौद्ध महाविहार मानिन्छ। यहाँ अमेरिकास्थित रूबिन म्युजियमको सहभागितामा संग्रहालय खुल्न लागेपछि अभियन्ता तथा स्थानीयहरूले शुक्रबार इन्द्रचोकमा उभिएर विरोध गरेका हुन्।
जीवित सम्पदाका रूपमा रहेको महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने भन्दै स्थानीयले आपत्ति जनाएका छन्। यसलाई उनीहरूले विदेशी हस्तक्षेपका रूपमा पनि लिएका छन्।
अब प्रश्न उठ्छ- यो महाविहारमा विदेशी संग्रहालयको आँखा कसरी पुग्यो? यहाँ संग्रहालय खोल्ने प्रक्रिया नै कसरी सुरू भयो?
हामीले यसबारे केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यसँग शुक्रबार कुराकानी गरेका छौं।
शाक्यका अनुसार रूबिन म्युजियम र इतुम्बहाःको सम्बन्ध करिब डेढ वर्षअघिबाट सुरू भएको हो।
त्यति बेला रूबिनले आफ्नो संग्रहमा रहेको उडिरहेको अप्सराको काष्ठकला इतुम्बहाःको हो भन्ने थाहा पाएर फिर्ता गर्न लागेको थियो। इतुम्बहाःबाट चोरी भएको उक्त कलाकृति सन् २००३ मा रूबिन म्युजियमले किनेको थियो।
'हाम्रो सम्पदा रूबिनले फिर्ता गर्दैछ भन्ने खबर पुरातत्व विभागबाट आएको थियो। त्यो हाम्रै हो भनेर प्रमाणित गर्ने आधारहरू हामीले बुझाउनुपर्थ्यो। यसका लागि हामीले पुरानो फोटो खोज्ने, धुलाउने लगायत काम गर्यौं र पठायौं,' शाक्यले भने, 'सबै प्रक्रिया पूरा गरेपछि ६-७ महिनाको अन्तरालमा हाम्रो कलाकृति फिर्ता आयो।'
त्यही कलाकृति फिर्ता गर्ने क्रममा रूबिन म्युजियम र इतुम्बहाःको निकटता बढेको थियो।
'रूबिनसँग निकटता बढेकाले मात्र इतुम्बहाःमा संग्रहालय बनाउनुपर्छ भन्ने सोच आएको होइन। यो धेरै वर्ष पुरानो योजना हो। बहाःका सदस्य र गुठियारहरूले यहाँ संग्रहालय बनाउनुपर्छ भनेर धेरै वर्षदेखि तयारी गरेका थिए,' उनले भने।
उनका अनुसार संग्रहालय बनाउने सोच २०६० सालतिर इतुम्बहाः जीर्णोद्धार क्रममा आएको हो। त्यति बेला विहार जीर्णोद्धार गर्दा केही पुराना सामग्री फेला परेका थिए। टुटेफुटेको अवस्थामा फेला परेका तिनै प्राचीन सामग्री व्यवस्थित गर्न संग्रहालय बनाउनुपर्छ भन्ने सोच आएको शाक्यको भनाइ छ।
'टुटफुट भएका सामग्री त्यसै राख्दा हराएर जाने डर थियो। मर्मतसम्भार गरेर, सरसफाइ गरेर बाहिरका मान्छेलाई पनि देखाउन पाए हुन्थ्यो भन्ने हामीलाई पहिल्यैदेखि लागेको थियो। हामीले आफ्नो तर्फबाट जे सकिन्छ, त्यो बिस्तारै गरिरहेका थियौं,' उनले भने।
यहाँ संग्रहालय बनाउन पुरातत्वविद् शुक्रराज श्रेष्ठले पनि सल्लाह दिएका थिए। उनको अहिले निधन भइसकेको छ। पाटन संग्रहालय नक्सांकन गरेका वास्तुविद् थोमस स्क्रोमले समेत दस वर्षअघि संग्रहालयको खाका कोर्ने प्रतिबद्धता दिएको शाक्यले बताए।
तर ती सबै योजनामै सीमित भए। ठोस काम अघि बढेन।
पछिल्लोपटक रूबिन म्युजियमसँग निकट सम्बन्ध गाँसिएपछि एकदिन उनीहरूले रूबिनसँग आफ्नो संग्रहालयको अवधारणा साटे। उनीहरूले सकारात्मक प्रतिक्रिया दिए। त्यसपछि संग्रहालय कसरी बनाउने भनेर छलफल सुरू भयो।
'रूबिनका निर्देशक र हामी जुम मिटिङमा कुराकानी गर्थ्यौं। निर्देशकलाई हाम्रो कुरा चित्त बुझ्यो। उहाँहरूको समितिको बैठकबाट पनि पारित भयो। त्यसपछि फेरि दुई-तीनपटक छलफल भयो। उहाँहरू हामीलाई सहयोग गर्न तयार हुनुभयो,' शाक्यले भने।
रूबिनले सहयोगका रूपमा २० हजार अमेरिकी डलर दिने भएपछि इतुम्बहाःमा संग्रहालय खोल्न हौसला मिलेको उनी बताउँछन्। समाज कल्याणमार्फत् सरकारी प्रक्रिया पनि पूरा गरिसकेको उनको भनाइ छ।
हामीले उनलाई सोध्यौं, 'तपाईंहरूले पुरातत्व विभागबाट स्वीकृति चाहिँ लिनुभएन?'
उनले एक साताअघि मात्र पुरातत्व विभागबाट जवाफ आएको जानकारी दिए। 'निजी वा सामुदायिक क्षेत्रमा संग्रहालय बनाउनेबारे कुनै प्रावधान छैन भनेर उहाँहरूले हामीलाई भन्नुभएको छ,' उनले भने।
कुनै प्रावधान नभएपछि त्यसैलाई संग्रहालय बनाउने स्वीकृतिका रूपमा बुझेको शाक्य बताउँछन्।
'पहिला संग्रहालय बनाऔं अनि के–के प्रक्रिया पूरा गर्नुपर्ने हो गरौंला भनेर हामी यही काममा व्यस्त भयौं,' उनले भने।
इतुम्बहाः संग्रहालयमा बहाःकै संग्रहमा रहेका सामग्री अनि रूबिन र अमेरिकामै रहेको मेट्रोपोलिटन म्युजियम अफ आर्टसबाट फिर्ता आएको टुँडाल राख्ने योजना छ। इतुम्बहाःमा रहेका सामग्रीहरू अभिलेखीकरण गर्दा करिब पाँच सयवटा फेला परेका थिए। तीमध्ये एक सय ५० वटा सामग्री संग्रहालयमा बन्ने तीनवटा ग्यालरीमा राखिने छन्।
इतुम्बहाः संग्रहालय यही शनिबार खोल्ने तयारी हुँदैछ। प्रज्ञारत्न शाक्यका अनुसार बौद्ध धर्मअन्तर्गतको पूजाविधिपछि प्रारम्भिक चरणमा एक साताका लागि संग्रहालय खुल्दैछ। त्यसपछि के–कसरी सञ्चालन गर्ने भनेर थप छलफल हुन बाँकी छ।
'हामीसँग संग्रहालय सञ्चालन गर्न चाहिने कर्मचारी, स्वयंसेवक, बजेट केही पनि छैन। एक सातासम्म त हामी गुठियारहरू नै यसको संरक्षणमा लाग्छौं,' शाक्यले भने, 'सबै व्यवस्थित भएपछि निरन्तर रूपमा संग्रहालय सञ्चालन हुनेछ।'
विहारमा पूजाआजा वा सांस्कृतिक गतिविधि हुँदा संग्रहालय बन्द हुने उनले बताए।
एघारौं शताब्दीतिर स्थापना भएको इतुम्बहाःलाई संस्कृत भाषामा 'श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्त महाविहार' भनिन्छ। यो विहारलाई राजा भाष्करदेवका छोरा केशचन्द्रले निर्माण गरेको मानिन्छ।