पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालयले सहयोगी दाताको खोजी गरेको छ।
यो वर्ष विश्वविद्यालयले सूचना निकालेर विश्वविद्यालयका पूर्वाधार तथा शैक्षिक विकासका क्षेत्रमा आर्थिक सहयोग गर्न आह्वान गरेको हो।
‘समग्र नेपाल तथा कर्णाली प्रदेशको शैक्षिक विकासको क्षेत्रमा सक्रिय मध्यपश्चिम विश्वविद्यालयका देहायका क्षेत्रमा योगदान गरी सम्मानित हुन देश तथा विदेशका व्यक्ति वा संस्थाहरूले आफ्नो गौरवमय इतिहास निर्माण गर्न हुन हार्दिक आह्वान गरिन्छ,’ साउन ४ गते निकालिएको सूचनामा भनिएको छ।
सहयोग दातालाई आफूले गर्ने सम्मानका केही शर्तसमेत विश्वविद्यालयले आफैंलाई तोकेको छ।
सम्मानस्वरूप दाताहरूको नामबाट पूर्वाधारको नामकरण, अर्ध वा पूर्णकदको शालिक, दाता संस्था वा व्यक्तिको नाममा विश्वव्यापी छात्रवृत्ति घोषणा गर्ने शर्त विश्वविद्यालयले राखेको छ। सहयोगस्वरूप प्राप्त हुने रकमलाई विश्वविद्यालयले योगदान भनेको छ।
विश्वविद्यालयको समग्र भौतिक पूर्वाधार निर्माणमा योगदान गर्न इच्छुक दाताहरूमध्ये १ देखि २ करोड ५० लाख रुपैयाँसम्म योगदान गर्ने दाताहरूको अर्धकद र २ करोड ५० लाखभन्दा बढी योगदान गर्नेहरूको पूर्णकदको प्रतिमा विश्वविद्यालय परिसरमा बनाउने उल्लेख गरिएको छ।
योसँगै यदि भौतिक पूर्वाधार निर्माणका लागि पूर्ण रूपमा योगदान गर्ने व्यक्ति वा संस्थाको नामबाट परियोजनाको नामकरण गर्ने भनिएको छ।
‘कोही व्यक्तिले योगदान गर्छ भने उसले चोहेकोजस्तो आफ्नै पनि हुन सक्छ, उसले चाहेमा परिवारका जीवित वा दिवंगत सदस्यको नाममा प्रतिमा बनाउन पनि सकियो,’ विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले भने, ‘योगदानका आधारमा पूर्वाधार वा परियोजनाको नामकरण पनि गरिनेछ, संस्थाको तर्फबाट भएको योगदानअनुसार नामकरण गरिनेछ।’
कसैले योगदान गर्न इच्छा जनाएको खण्डमा विश्वविद्यालयको आवश्यकता अनुसारको पूर्वाधार डिजाइन गर्ने र योगदान रकमबाट निर्माण गर्ने उनले बताए।
पूर्वाधारसँगै विश्वविद्यालयले शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको छात्रवृत्ति कोष स्थापना गर्न पनि सहयोग रकम माग गरेको छ।
विश्वविद्यालयले ‘एमयु ग्लोबल स्कलरसीप फन्ड’ स्थापनाका लागि व्यक्ति तथा संस्थालाई योगदान गर्न भनेको छ।
यसमा पनि विश्वविद्यालयले सम्मानस्वरूप योगदानकर्ताको नामबाट छात्रवृत्ति घोषणा गर्ने भनेको छ।
छात्रवृत्ति कोष स्थापनार्थ योगदानकर्ताले दिएको रकमअनुसार उनीहरूको नाममा निश्चित महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।
जसमा पाँचवटा छात्रवृत्ति शिर्षक छुट्याइएको छ। युरोप, एसिया प्यासिफिक क्षेत्र, अफ्रिका, उत्तर अमेरिका, ल्याटिन अमेरिका तथा क्यारिवियन महादेश छात्रवृत्तिमा पर्नेछन्। एक करोड रुपैयाँ योगदान गर्ने योगदानकर्ताका नामबाट एउटा महादेश र त्यसभन्दा माथि पाँच करोड रुपैयाँसम्म योगदान गर्ने योगदानकर्ता व्यक्ति वा संस्थाका नामबाट पाँच वटा महादेशलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति दिने भनिएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले व्यक्ति तथा विश्वविद्यालय बाहिरका सरोकारवालालाई पनि विश्वविद्यालयप्रति अपनत्व गराउन योगदानका लागि आह्वान गरिएको बताए।
अन्तर्राष्ट्रिय छात्रवृत्ति स्थापना गरेर विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए।
‘यसको प्रमुख उद्देश्य भनेको कर्णालीमा रहेको हाम्रो विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्ने हो, दाताको योगदानले हाम्रो उद्देश्य पूरा हुन सक्छ,’ उपकुलपति सिंहले भने, ‘अर्को कुरा कर्णालीले देश बाहिरका मानिसलाई पनि शिक्षा दिन सक्छ भन्ने सन्देश दिनु छ।’
यसरी दाताबाट प्राप्त हुने योगदान रकमबाट कोष स्थापना गरी प्राप्त नाफाबाट एउटा महादेशमा ५०/५० प्रतिशत महिला र पुरूष पर्ने गरी वितरण गरिने उनले बताए।
व्यक्ति र संस्थाबाट मात्र नभई विश्वविद्यालयले प्रदेशका स्थानीय तहबाट पनि सहयोग लिन खोजेको छ।
केही समयअघि यही विषयमा कर्णालीका ७९ वटा स्थानीय पालिकासँग छलफल भएको उपकुलपति सिंहले बताए।
छलफलमा पालिकाहरूले १५–२५ लाख रुपैयाँसम्म योगदान गर्न तयार भएको उनले बताए।
‘पालिकाका प्रमुख र उपप्रमुखबीच पनि छलफल भएको थियो, उहाँहरू पनि राजी हुनुभएको छ,’ उनले भने, ‘चुनावले अघि बढ्न सकेका थिएनौं, अब यसलाई पनि निरन्तर गर्ने हो।’
स्थानीय तहबाट आएको पैसाबाट पनि उनीहरूकै नाममा अन्तर्राष्ट्रिय स्तरको छात्रवृत्ति (स्थानीय सरकार अन्तर्राष्ट्रिय छात्रवृत्ति) स्थापना गरिने उपकुलपति सिंहले बताए।
‘विश्वव्यापी छात्रवृत्ति स्थापना गर्यौं भने भोलि विदेशबाट विभिन्न संकायमा पढ्न आउन सक्छन्, हामीले प्राविधिक तथा गैरप्राविधिक दुवै क्षेत्रमा छात्रवृत्ति दिने हो,’ उपकुलपति सिंहले भने, ‘हामीले ठूलो रकम संकलन गर्यौं र त्यसबाट हामीले वर्षमा १०–१५ जना विदेशी विद्यार्थीलाई पढाउन पायौं भने राम्रै हुन्छ, यति गर्यो भने हाम्रो सहर, हाम्रो गाउँ अन्तर्राष्ट्रिय विद्यार्थीको केन्द्र बन्छ।’