अविरल वर्षापछि झरेको पहिरोले बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा निर्माणाधीन सुरूङ मार्गको रिब पुरिएको छ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सुरूङमार्गको दुवैतर्फको रिब पुरिएको हो।
सुरूङमार्गको प्रस्थानविन्दु सिद्धबाबा मन्दिर नजिकै रहेको बुटवलतर्फको रिबलाई मंगलबार पहिरोले भत्काएको हो भने पाल्पातर्फ रहेको रिबलाई पनि मंगलबार साँझ पहिरोले पुरिदिएको छ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डअन्तर्गत् तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबा दोभान क्षेत्र बर्सेनि पहिरोका कारण जोखिमपूर्ण बनेपछि १ हजार १२६ मिटर लामो सुरूङमार्ग निर्माणको काम सुरू गरिएको थियो।
माथिल्लो सिद्धबाबा मन्दिर नजिकैदेखि सुरू भएर बुटवल पावरहाउसको हेडबक्स नजिकैसम्मको सुरूङमार्गको निर्माणको काम तीन महिना अघिदेखि सुरू गरिएको थियो।
सुरूङमार्ग निर्माणको लागि डाइभर्सन तयार गरेर टर्नेलको दुवैतर्फको रिब बनिसकेको अवस्थामा झरेको पहिरोले निर्माणमा ठूलो क्षति पुर्याएको आयोजनाले जनाएको छ।
सुरूङमार्ग निर्माण आयोजनाका इन्जिनियर रामपुकार जयशवालका अनुसार हेडबक्स नजिकैको रिबलाई माथीबाट झरेको चट्टानसहितको पहिरोले पुरिदिएको छ भने सिद्धबाबा मन्दिर नजिकैको रिबलाई पहिरोले भत्काएको छ।
समयमै निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ८० जना बढि कामदारलाई प्रयोग गरि वर्षाको समयमा समेत सुरुङमार्ग निर्माणको काम गरिरहेको थियो।
पहिरोले रिब भत्काउने र पुरिदिने भएपछि अहिलेसम्मको काम र लगानी सबै खेर गएको आयोजनाले जनाएको छ।
अत्यन्तै अप्ठ्यारो चट्टाने भीरसहितको सिद्धबाबा क्षेत्रमा हिउँद होस् या वर्षा जुनसुकै मौसममा पनि चट्टान सहितको पहिरो झर्दा बर्सेनि ठूलो मानवीय र भौतिक क्षति हुँदै आएको छ।
सोही पहिरोको जोखिमबाट पार पाउन निर्माण सुरू गरिएको सुरुङमार्गको दुवैतर्फको प्रवेशद्वार नै यसपटकको पहिरोले पुर्ने र भत्काउने गरेपछि सुरुङमार्गको भविष्य नै खतरामा पर्ने देखिएको छ।
सरकारले स्विस सरकारको विकास सहयोगमार्फत् भौगर्भिक अध्ययनपछि सुरूङ मार्ग निर्माणको काम सुरू गरेको थियो।
निर्माण कम्पनीले पाँचवर्षमा निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता गरेको पनि १४ महिना पूरा भइसकेको छ। कुल ७ अर्ब ३४ करोड २१ लाखको लागत अनुमानमा सुरूङमार्गको निर्माण थालिएको थियो।
सुरूङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन पनि स्विट्जरल्याण्डको प्राविधिक टोलीले अझै फिर्ता पठाईनसकेको सुरूङमार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर सविता ज्ञवालीले सुरूङमार्गको विस्तृत डिजाइन स्वीकृतिको लागि गत माघमा स्विट्जरल्याण्डको प्राविधिक टोलीलाई पठाएको भएपनि अझै फिर्ता नआएको बताइन्।
ज्ञवालीका अनुसार निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने भन्दै विस्तृत डिजाइन स्वीकृत नहुँदै सुरुङ मार्गको डाइभर्सन, प्रस्थान विन्दु र अन्तिम विन्दुको स्लोप काटेर रिब निर्माणको काम सुरू गरेको थियो।
२०१८ सालमा निर्माण सुरू गरी २०२८ सालदेखि सवारीसाधनको आवागमन थालिएको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा हाल दैनिक २ हजार बढी साना ठूला सवारी साधन आवतजावत गर्छन्। यो सडकखण्ड बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म पुग्ने एकमात्र सडक हो।
सबै तस्बिर: भगवती पाण्डे/सेतोपाटी