धादिङ धुनीवेशीकी सुदिक्षा खत्री एसइई पास गरेपछि प्लस टु पढ्न काठमाडौं गइन्। खेती-किसानी गरेर छोराछोरी हुर्काइरहेका सुदिक्षाका बुवाआमाले छोरीको उच्च शिक्षाको लागि घरबाटै खर्च जोहो गरेर पठाउन सक्दैनथे।
सानोतिनो जागिर गरेर भएर पनि उच्च शिक्षा अध्ययन गर्ने सोच बनाउँदै सुदिक्षा काठमाडौं पुगेकी थिइन्। काम खोज्दै हिँडेकी उनले काठमाडौंको बाफलमा रहेको विश्व विराट सहकारीमा बचत संकलकको आवश्यकता रहेको थाहा पाइन्।
मध्यम आर्थिक अवस्थाकै बीचमा हुर्किएकी सुदिक्षालाई सहकारी संस्थामा सजिलै काम गर्न पाउनु अवसर थियो। एकातर्फ कामसँगै अध्ययन गर्न पाउने अर्कोतर्फ आफ्नो पढाइका लागि बुवाआमालाई आर्थिक भार पनि नपर्ने।
विश्व विराट सहकारीका सञ्चालकले बचतकर्ताहरूबाट दैनिक बचत संकलनको काम दिन्छु भन्दा उनको खुसीको सीमा रहेन।
मासिक १४ हजार ९०० रुपैयाँ दिने गरी सहकारी संस्थाले उनलाई नियुक्ति दिएको थियो। सहकारीका व्यवस्थापक देवराज बस्नेतले २०७८ साउन ७ गते उनलाई बचत संकलकको रूपमा नियुक्ति दिएका थिए।
सहकारीले उनलाई तलब दिन एक-दुई महिना ढिलो हुने भनिएको थियो। तर चार महिना बित्दा पनि उनले भने अनुसारको तलब पाइनन्। दिनहुँ बचतकर्ताको घर र पसल पुगेर बचत संकलन गरे पनि कोठा फर्किँदा सधैँ निराश हुनुपर्थ्यो।
व्यवस्थापक बस्नेतले तीन-चार महिनामा ८-१० हजार रुपैयाँ दिएर अरू रकम केही समयपछि दिने भन्दै टारिरहन्थे। उनी पनि बचतकर्ताहरूले लाखौं रुपैयाँ जम्मा गरेको सहकारीले एक दिन पक्कै दिन्छ भन्नेमा ढुक्क थिइन्।
यसैगरी डेढ वर्ष बित्यो। तर उनले महिनाभरिको तलब बुझ्ने दिन आएन।
गत वर्ष कात्तिकमा एक दिन कार्यालय जाँदा उनी छाँगाबाट खसेजस्तै भइन्। कार्यालयमा जाँदा सहकारी सञ्चालक, व्यवस्थापक, कर्मचारीहरू सबै नयाँ थिए। अध्यक्ष मिनराज पन्थी, सचिव आकाश फुल्लेल र व्यवस्थापक देवराज बस्नेत सबै अनुपस्थित थिए।
नयाँ आएका सञ्चालकहरूले सबै सेयर र सम्पत्ति खरिद गरेको खबर सुदिक्षाले पाइन्। डेढ वर्षसम्म बचत संकलनमा हिँडेको परिश्रम र त्यसबापत् पाउनुपर्ने पारिश्रमिक ठगेर पुराना सञ्चालकहरू सम्पर्कविहीन भइसकेका थिए। नयाँ सञ्चालक र व्यवस्थापकले भने पुरानो हिसाबबारे जानकारी नभएको भन्दै उम्किए।
आफ्नो पारिश्रमिकसँगै सयौं बचतकर्ताको लाखौं बचत रकम ठगेर सम्पर्कविहीन भएका उनीहरू सबैले फेसबुक, मोबाइल, ह्वाट्स एप र भाइबर समेतमा पुराना कर्मचारी र बचतकर्तालाई ब्लक गरिसकेका थिए। सञ्चालकहरूले सहकारीको सबै सेयर बिक्री गरेर सम्पर्कविहीन भए पनि बचतकर्ताले भने संकलनका लागि घर र पसलमा जाने संकलकलाई घेर्ने गर्थे।
आफ्नो पारिश्रमिक त डुब्यो-डुब्यो बचतकर्ताको रकमसमेत ठगी गरेर हिँडेपछि सहकारीमा काम गर्ने सुदिक्षा लगायतका सबै कर्मचारीले सञ्चाचालक र व्यवस्थापकविरूद्ध कालिमाटी प्रहरी र नागार्जुन नगरपालिकामा निवेदन दिएका थिए।
सञ्चालकहरूबारे न प्रहरीले खोज्यो न त नगरपालिकाले सोधीखोजी गर्यो। उनीहरूले न्याय पाउने आशा पनि हरायो।
गत शुक्रबार सामाजिक सञ्जालमा भेटिएको एउटा भिडिओले भने काठमाडौंमा झन्डै नौ सय दैनिक बचतकर्ता र ६ जना कर्मचारीलाई ठगेर हिँडेका तिनै व्यक्तिहरूले बुटवलमा पनि सोही सहकारीको नाममा ठगी धन्दा चलाएको खुलेको छ।
काठमाडौंंको सहकारी संस्था बिक्री गरेका उनीहरूले बुटवलमा पनि सोही नाममा सहकारी चलाएका थिए। लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा दर्ता नं. २७/०७७/७८ रहेको विश्व विराट बहुउद्देश्यीय सहकारी संस्थाले बुटवल ११ देवीनगरमा कार्यालय सञ्चालन गरी बचतकर्ताहरूबाट बचत संकलन गर्दै आएको थियो।
लुम्बिनी प्रदेशमा दर्ता भएको उक्त सहकारीमा आकाश फुल्लेल सचिव छन् भने उनका दाइ सागर फुल्लेल अध्यक्ष छन्। सुदिक्षा भन्छिन् –‘काठमाडौंमा ठगेर सम्पर्कविहीन भएको आकाश फुल्लेल बुटवल गएर पनि सहकारी चलाएको रहेछ यो मान्छे हामीलाई त रूवायो रूवायो, बुटवलमा पनि त्यस्तै गरेको रहेछ।
सुदिक्षाका अनुसार काठमाडौंमा सहकारी खोलेका आकाशले सहकारीका सेयर सदस्य कसैलाई पनि जानकारी नदिई साधारण सभाको निर्णय भन्दै आफैंले हस्ताक्षर गरेर सहकारी बेचेका थिए।
‘मलगायत ६ जना बचत संकलक कर्मचारीहरूले विश्व विराटका ९ सय जना हाराहारी बचतकर्तासँग दैनिक र मासिक बचत संकलन गर्थ्यौं, हामीले तलब पनि पाएनौं। बचत जम्मा गरेकाहरूले पनि पैसा पाउनुभएन,’ सुदिक्षा भन्छिन्।
सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भए पनि काठमाडौंका बचतकर्ताहरूले अहिले पनि आफूहरूलाई रकम फिर्ता दिन भन्दै फोन गर्ने गरेको सुदिक्षाले बताइन्।
‘हामीहरूसँग पैसा तिमीहरूले लैजाने गर्थ्यौ, तिमीहरूले नै फिर्ता दिनुपर्छ भन्दै बेलाबेलामा बचतकर्ताले हामीलाई नै थर्काउनुहुन्छ, हामी आफैंले पनि काम गरेको तलबसमेत पाएका छैनौं, उहाँहरूको पैसा कसरी दिने,’ उनले पीडा सुनाइन्।
‘म त यहाँ पढ्न भनेर आएको थिएँ, यस्तो समस्यामा परें। अरू साथीहरूले मोबाइलको सिम फेरेर बसे पनि मैले त्यसो नगरी पुरानै सिम प्रयोग गरेको छु। अरूले गरेको बदमासीले हामीलाई निकै टर्चर भयो,’ सुदिक्षाले भनिन्।
बुटवलमा सञ्चालन गरिएको विराट सहकारी गएको मंसिरदेखि नै समस्यामा थियो। सहकारी दर्ता गर्दा अध्यक्ष बनाइएका नवराज फुल्लेलले सचिव रहेका सागरले काठमाडौंमा समेत ठगी गरेर आएको सूचना पाएसँगै सहकारी छोडेका थिए।
‘उसको गतिविधि ठिक लागेन। मैले सहकारीको अध्यक्ष मात्रै होइन सेयर पनि फिर्ता लिएँ,’ नवराजले भने।
उनीहरूको योजना नै ठगी गर्ने भन्ने थाहा पाएपछि आफू सहकारीबाट अलग भएको उनले बताए।
‘उनीहरूको योजना नै ठगीको रहेछ। मलाई दर्ता गर्दा अध्यक्ष भनेर हस्ताक्षर गराए, पछि मलाई नै थाहा नदिई उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर विभिन्न निर्णय गराएछन्। मैले त्यसमा असहमति जनाएपछि विवाद बढ्यो। त्यसलगत्तै मैले मेरो कुनै संलग्नता नरहने गरी सहकारी छोडेको हुँ,’ नवराजले भने।
नवराजका अनुसार सहकारी दर्ता गर्दा सागरले गाउँका छिमेकी नवराजलाई अध्यक्ष, आफ्नै आमालाई उपाध्यक्ष र भाइ र मामालाई सचिव र कोषाध्यक्ष बनाएर दर्ता गरेका थिए। सहकारीका कोषाध्यक्ष रहेका उनका मामा नेपाल प्रहरीमा कार्यरत छन्।
अहिले सहकारीमा अध्यक्ष सागर फुल्लेल, उपाध्यक्षमा उनकै बहिनी गीता रेग्मी, सचिव भाइ आकाश र कोषाध्यक्षमा देवराज बस्नेत रहेका छन्। काठमाडौंमा सहकारी सञ्चालन गर्दा मिनराज पन्थी अध्यक्ष, बहिनी गीता रेग्मी उपाध्यक्ष, सचिव आकाश फुल्लेल सचिव र देवराज बस्नेत व्यवस्थापक थिए।
विश्व विराटमा पैसा नपाएको भन्दै गएको मंसिरदेखि नै सहकारीका सदस्य र वचत संकलनकर्ताहरू बुटवल उपमहानगरपालिकामा पुगेका थिए। तर प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता भएको सहकारी भएकाले बुटवल उपमहानगरले उनीहरूलाई प्रदेशमै जान सुझाएको थियो।
सहकारीका सेयर सदस्यहरूले नै रकम फिर्ता माग्न थालेपछि सागरले विभिन्न बहाना बनाएर अलमल पारेको सेयर सदस्य बिष्णु गिरीले बताए।
‘हामीले उनको गतिविधि ठिक नलागेपछि सेयर सदस्यता रकम नै फिर्ता माग्न गएका थियौं, सागरले अडिट गरेपछि दिन्छु भन्दै एक वर्ष झुलाए,’ गिरीले भने।
एक वर्षसम्म समस्या समाधान हुँदैछ तपाईंहरूको सेयर रकम फिर्ता गर्छु भनेका सागरले गएको बिहीबार रकम फिर्ता माग्न जाँदा कुटपिटमा उत्रिएको गिरीले बताए। गिरीले सहकारीका पदाधिकारीसँग भएको झगडाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
तिनै गिरी र बचतकर्ता निर्मल रसाइलीले कुटाकुटको भिडिओ टिकटकमा राखेपछि काठमाडौंमा काम गरेकी सुदिक्षाले सागरले बुटवल पुगेर ठगीधन्दा चलाएको थाहा पाएकी थिइन्।
सागरले भने काठमाडौं रहेको विश्व विराट सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।
‘मेरा भाइहरूले खोलेका हुन् मैले होइन, बुटवल फर्केपछि भाइहरूसँग मिलेर सहकारी दर्ता गरेका हौं, काठमाडौंमा मेरो कुनै संलग्नता छैन,’ सागरले भने।
बुटवलको देवीनगर र सैनामैनाको मुर्गियामा कार्यालय भएको विश्व विराट सहकारीले सैनामैनामा सयौं बचतकर्ताहरूको रकम संकलन गरेर कार्यालय बन्द गरेको बचतकर्ता निर्मल रसाइलीले बताए।
अप्ठेरोमा काम लाग्ला भनेर नियमित बचत संकलन गरेका रानीबगियाका विजय चौधरीले आफूजस्ता २ सयभन्दा बढीले बच्चाका नाममा फिक्स डिपोजिट गराउने गरेको तर समय सकिएपछि सम्पर्कविहीन हुने गरेको बताए।
‘मैले पैसा चाहियो नभए उजुरी दिन्छु भन्दा मलाई फोन गरेर प्रहरीमा उजुरी हालेर पैसा पाउँछस्? त्यसो भने जा उजुरी हालेर देखा भनेर धम्की दिए,’ चौधरीले भने।
आइतवार निर्मल रसाइली, कमल भट्टराई र विजय चौधरीसहित विश्व विराटका सञ्चालकबाट ठगिएकाहरूले लुम्बिनी प्रदेश सहकारी रजिष्टारको कार्यालयमा पुगेर कारबाहीका लागि निवेदन दिएका छन्।