झापा शिवसताक्षी नगरपालिका-११ का भवानीशंकर नेपालको घरमा एउटा ब्यानर छ।
जसमा लेखिएको छ, ‘यो घर र जग्गा मिटरब्याजीको फन्दामा छ।’
यसरी उनको घरमा ब्यानर झुन्ड्याइएको दुई वर्ष भइसक्यो। त्यो ब्यानर मिटरब्याजीले राखेको होइन। बरू पीडित परिवार आफैले राखेका रहेछन्।
छरछिमेकमा आफूले भोगेका पीडा अरूले भोग्न नपरोस् भनेर पीडित परिवारले उक्त ब्यानर झुन्ड्याएका हुन्।
भवानीशंकरका नाती मञ्जिल भन्छन्, ‘हामी त सडकमा आयौं। हाम्रो जस्तो नियती कसैले भोग्न नपरोस् भनेर आफैंले ५ सय खर्च गरेर यो व्यानर घर अगाडि झुन्डाएका हौं।’
१० वर्ष अगाडि भवानीशंकरलाई घरासयी कामका लागि ३ लाख चाहिएको थियो। खेती किसानी गर्ने उनीसँग सम्पत्तिको नाममा आठ कट्ठा १२ धुर जग्गा र त्यसमाथि बनेको काठको घरमात्रै थियो।
पैसा माग्न उनी छिमेकी खड्गबहादुर काम्बाङ कहाँ पुगे। खड्गबहादुरले पनि उनले भनेजति नै पैसा तिर्न पनि तयार भए। तर शर्त तेर्स्याए- घरजग्गा धितो पास गर्नुपर्छ।
भवानीशंकरले पनि बैंकमा जग्गा धितो राखेजस्तै होला, पैसा फिर्ता गरेपछि पाइन्छ भन्ने सोचेर तयार भए। शर्तमा तीन वर्षमा सबै पैसा चुक्ता गर्ने भनियो। पैसा फिर्ता पाएपछि जग्गा फिर्ता गर्ने भनेर एक जना छिमेकीलाई साक्षी राखेर सही समेत गराएका थिए।
त्यसरी पैसा लिएपछि भवानीशंकरले मालपोत कार्यालय दमकमा गएर घर-जग्गा धितोको रूपमा खड्गबहादुरको नाममा पास गरिदिए।
तीन वर्षमा फिर्ता आउने भनिएको जग्गा १० वर्ष बितिसक्दा पनि फिर्ता आएको छैन।
‘बुबाले लिएको पैसा तीन वर्ष नपुगी हामीले फिर्ता गर्न खोज्यौं। उहाँ (खड्गबहादुर)ले लिन मान्नुभएन। शंका लागेर बुझ्दा त जग्गा त हामीबाट गएपछि पनि धेरै जनाको नाममा पुगिसकेछ,’ छोरा महानन्दले भने, ‘अहिले पनि तीन लाखको साँवा–ब्याज दिन खोज्दा भोलि–भोलि भन्दै टार्छन्।’
भवानीशंकरको कित्ता नम्बर २७०१ (ख) र २८९४ (ख) को जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा पुगेको छ। हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन्। उनी नेकपा माओवादीनिकट वाइसिएल तत्कालीन प्रदेश-१ का संयोजक थिए।
आफ्नो घरजग्गा फिर्ता लिन महान्दले नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिइसकेका छन्। महानन्दले २०७६ सालमै उजुरी गरेका थिए।
२०७६ भदौ ११ मा खड्गबहादुरले जग्गा तीन महिनामा फिर्ता गरिदिने भन्दै कागज समेत गरेका थिए। तर अझै फिर्ता भइसकेको छैन।
आफ्नो घरजग्गा फिर्ता पाउने आशमा बसेका भवानीशंकरको पनि तीन वर्षअघि नै मृत्यु भइसक्यो।
यता पुलामीले भने बारम्बार घर खाली गर्न धम्की दिने गरेको नाति मञ्जिल बताउँछन्।
‘हजुरबुबा पनि यही पिरले बित्नुभयो। अहिले हामीलाई बारम्बार घर खाली गर्न माओवादीको नेता डम्बर पुलामीले धम्की दिनुहुन्छ,’ उनले भने।
अहिले उनीहरूले १ करोड ५ लाख साँवाव्याज तिरेर घरजग्गा फिर्ता लिन भनिरहेको पीडित परिवार बताउँछन्।
पीडित परिवार सोध्छन्, ‘३ लाख १० वर्षमा एक करोड कसरी नाघ्यो?’
पुलामीले घर खाली गर्न दबाब दिएपनि घर-जग्गा कुनै हालतमा नछाड्ने उनीहरूको अडान छ।
नेपालको घर जग्गा पूर्वपश्चिम राजमार्गको दुधे देखि करिब सात सय मिटर दक्षिण शिवगञ्ज रोडले छोएको छ।
नेपाल परिवारको आर्यस्रोत नै आठ कठ्ठा जग्गा हो।
‘म रतुवामाई वृक्षरोपण आयोजनामा वनपालेको काम गर्छु। यहीँ खेती गरेर चार जनाको परिवार पालेको छु,’ महानन्द भन्छन्, ‘दुईवटा छोरा पनि यसले नै पढाएको छु। यदी यो डुब्यो भने त म सुकुम्बासी हुन्छु। बर्बाद हुन्छु।’
गत वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म सरकारले मिटरब्याजीविरूद्ध उजुरी गर्न भनेपछि उनीहरूले पनि जिल्ला प्रशासन कार्यालय झापामा पुगेर निवेदन दिएका छन्। प्रशासन कार्यालयमा उजुरी गरेपछि नेपाल परिवारले आफ्नो घरजग्गा फिर्ता पाउने सम्भावना बलियो रहेको बताउँछन्।
उनीहरूजस्तै त्यहाँ १०२ जना मिटरब्याजी पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।
उनका अनुसार तीन जना विपक्षीले समेत कार्यालयमा निवेदन दर्ता गराएका छन्।
निवेदन दर्ता गराउनेमा वार्षिक ३६ प्रतिशत व्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने बढी छन्।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएका लगायतका निवेदन छन्।