निर्वाचित भएपछि रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले एक वर्षभित्रै छाडा चौपाया र फोहोरको समस्या समाधान गर्ने वाचा गरे। उनको अर्को वाचा थियो- पाँच वर्षभित्र आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने।
यी दुवै वाचामाथि उनले पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका थिए।
त्यसको १४ महिना नबित्दै आफ्ना तिनै नगरप्रमुख खानको टाउको दुखाइका विषय बनेका छन्।
बजारका मुख्य चोक र सडक किनारमा फोहोर थुपारिनु र छाडा छोडिएका पशुचौपायाले तिनै फोहोरका थुप्राहरू खोतलेर छरपष्ट पार्नु सिद्धार्थ नगरका वर्षौंदेखिका समस्या हुन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानका अनुसार नगरभित्र हाल दैनिक ४० टन फोहोर उत्पादन हुन्छ। त्यो सबै फोहोर डण्डा खोलामा थुपारिन्छ।
वर्षायाममा पानी परेर कुहिएको फोहोरको दुर्गन्धले बस्ती नै छोडेर हिँड्नुपर्ने अवस्था आएको भन्दै पछिल्लो एक सातादेखि स्थानीयले डण्डाखोलामा फोहोर लैजान रोक लगाएका छन्।
दिउँसोमा स्थानीयले विरोध गरेपछि नगरपालिकाले रातिको समयमा फोहोर लगेर थुपार्न लागेपछि उनीहरू रातिको समयमा समेत जाग्राम बसेर फोहोर लैजान रोक्दै आएका छन्।
स्थानीयको विरोधका कारण पछिल्लो एक सातायता सिद्धार्थनगरको फोहोर उठ्न सकेको छैन।
सिद्धार्थनगर नगरपालिकाले ३० वर्षदेखि नगरका सबै वडाहरूको फोहोर वडा नम्बर २ को मेउडिहवा नजिकै डण्डाखोलामा थुपार्दै आएको छ।
मुख्य सडक र बजारका चोकहरूमै फोहोर थुपार्ने सिद्धार्थनगरमा यसपटक एक सातासम्म फोहोर नउठ्दा थप दुर्गन्धित भइरहेको छ।
वडा नम्बर १ र २ का बासिन्दाले यसअघि २०७६ सालमा पनि फोहोर लैजान रोक लगाएका थिए। स्थानीयको आन्दोलन र विरोधका कारण दुई महिनासम्म सडकबाट फोहोर उठ्न नसकेपछि तत्कालीन नेतृत्व आलोचित बनेको थियो।
नगरभित्रको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै तत्कालीन नगर प्रमुख हरि अधिकारीलाई त ‘फोहोरी मेयरको’ संज्ञा दिइएको थियो।
स्थानीयको दुई महिना लामो विरोधपछि फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि छिमेकी पालिका ओमसतियामा गाउँपालिका वडा नम्बर ५ पट्खौलीमा ६ विगाह जग्गा खरिद गरिएको थियो।
सिद्धार्थनगरको फोहोर ओमसतियामा ल्याउन पाइँदैन भन्दै विरोध भएपछि फोहोर व्यवस्थापनका लागि कुनै पनि संरचना निर्माण हुन सकेन। अहिले पनि सिद्धार्थनगर नगरपालिकाको नाममा रहेको उक्त जग्गा त्यत्तिकै अलपत्र परेको छ।
फोहोर व्यवस्थापनको लागि एसियाली विकास बैंकले उपलब्ध गराउने भनेको ३२ करोड ऋण अनुदान पनि आयोजना सुरू नहुँदै फिर्ता भयो।
नगरपालिकाले एक वर्ष भित्रमा अर्को विकल्प खोजेर सोही स्थानमा फोहोर व्यवस्थापन गर्ने भनेपछि वडा नम्बर १ र २ बासिन्दाले आन्दोलन रोकेर डण्डा खोलामा फोहोर फाल्न दिएका थिए।
तर एक वर्षमा विकल्प खोज्ने भनेको नगरपालिकाले ५ वर्षसम्म पनि न त विकल्प खोज्यो, न त डण्डा खोलामा फोहोर फाल्न नै रोकियो।
वर्षौंदेखिको समस्या पटक/पटक दोहोरिँदै गएपछि स्थानीयले यसपटक पुनः फोहोर लैजान रोक लगाउँदै आन्दोलनमा उत्रिएका छन्।
स्थानीयको आन्दोलन र विरोधमा वडा नम्बर १ र २ का जनप्रतिनिधिहरूले पनि साथ दिँदै आएका छन्।
वडा नम्बर २ का वडा अध्यक्ष छेदिलाल श्रीवास्तवले पहिले आफू वडाबासी र त्यसपछिमात्रै जनप्रतिनिधि भएकोले स्थानीयको आन्दोलन र विरोधलाई साथ दिँदै आएको बताए।
‘म ५ वर्षको लागि मात्रै वडा अध्यक्ष बनेको हुँ, १ वर्ष पहिले र ४ वर्ष पछाडि म वडावासी नै हुँ, म आफू पनि यही वडामा बस्ने भएकोले मेरो र स्थानीयवासीका समस्या एउटै हुन्। त्यसैले वडावासीको आन्दोलनभन्दा बाहिर जान सक्दिनँ,’ श्रीवास्तवले भने।
उनले डण्डा खोला प्राकृतिक सम्पदा र भैरहवाको गहना भएको खोला नै पुरिने गरी फोहोर फालेर दुर्गन्धित पारिनु लाजमर्दो कुरा भएको बताए।
नगरपालिकाले नगरका ११ वटा वडालाई सफा र हराभरा बनाउने अभियान चलाउँदा वडा नम्बर १ र २ लाई दुर्गन्धित बनाउन नपाइने उनको भनाइ छ।
‘नगरपालिकाभरीको फोहोर ३० वर्ष हामीले झेल्यौं, अब झेल्न सकिँदैन, ११ वटा वडालाई सफा, स्वस्थ र हराभरा बनाउन १ र २ नम्बर वडालाई फोहोरको डंगुरले ढाक्न कदापि पाइँदैन,’ वडाअध्यक्ष श्रीवास्तवले भने।
उनले फोहोरका कारण वर्षौंदेखि वडा नम्बर १ र २ का बासिन्दा समस्यामा परेकोले नगरपालिकाले तत्कालको लागि अन्यत्र विकल्प खोजेर दीर्घकालीन रूपमै समस्या समाधानको योजना बनाउनुपर्ने बताए।
पूर्वजनप्रतिनिधि समेत रहेका दीपक थापाले पनि विगत ३० वर्षदेखि बजारको फोहोर बोक्दै आएको वडाले अब पनि दुर्गन्धको त्यो भार बोक्न नसक्ने बताए।
‘बरू हाम्रो टाउको फुटोस् तर फोहोर फाल्न दिँदैनौं,’ उनले भने।
यसअघिको नेतृत्वले एक वर्षका लागि मात्रै फोहोर फाल्न दिन भनेपछि चार वर्षसम्म अन्यत्र लैजाने कुनै सुरसार नगरेपछि स्थानीय रूष्ट भएका थिए।
अहिलेको नेतृत्वले पनि फोहोर व्यवस्थापको लागि कुनैपनि काम गर्न नसकेको भन्दै आक्रोशित बनेका छन्।
यसअघि वडा नम्बर १ बेलहिया नजिक डण्डा नदी किनारमा फोहोर फाल्दै आएको नगरपालिकाले विगत २३ वर्षदेखि भने अहिलेको मेउडिहवामा फाल्न सुरू गरेको थियो।
नगरपालिकाले फोहोर फाल्दै आएको डण्डा खोला किनारमा स्थानीयले स्वर्गद्वारी नामबाट शवहरूको दाहसंस्कारको लागि घाट निर्माण गरेका छन्।
नजिकै पार्क पनि बनाएको छ। शव दाहसंस्कारको लागि लैजाने उक्त घाटको मुखमै नगरभरीको फोहोर लगेर थुपार्दा घाटमा जानेहरूलाई समेत समस्या भएको छ।
सिद्धार्थनगर– २ का सञ्जीव गुरूङले ३० वर्षसम्म एउटै स्थानको नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयवासीमा विभिन्न रोगको संक्रमण हुने गरेको बताए।
‘कतिपय गाउँलेको क्यान्सरबाट निधन भइसकेको छ, कति पीडित हुनुहुन्छ, श्वासप्रस्वास, झाडापखाला र छालाजन्य रोगहरूको त कुनै लेखाजोखा नै हुँदैन,’ गुरूङले भने।
पक्लिहवा कृषि क्याम्पसका विद्यार्थीहरू पनि स्थानीयको आन्दोलनमा सहभागी हुने गरेका छन्।
क्याम्पसनजिकै फालिने फोहोरको दुर्गन्ध, फोहोर जलाउँदा निस्किने धुवाँ र खरानीले क्याम्पसमा बस्न नसकिने विद्यार्थीहरूको गुनासो छ।
नगरप्रमुख खानले भने आफूले नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै फोहोरमैला व्यवस्थापनको लागि विभिन्न प्रयास गरिरहे पनि फोहोरमा राजनीति गर्दा समाधान निस्किन नसकेको बताए।
‘नेतृत्वलाई असफल बनाउन फोहोरमा राजनीति गर्दा व्यवस्थापन जटिल बनिरहेको छ। विगतमा पनि यही समस्याले फोहोर व्यवस्थापनको काम अगाडि बढ्न सकेको थिएन, अहिले पनि त्यही समस्या दोहोरिएको छ,’ नगरप्रमुख खानले भने।
नगरपालिकाले चार वर्ष पहिले ओमसतियामा किनेको ६ विगाह जग्गामा फोहोर फाल्न विरोध भएकोले प्रशोधन केन्द्र बनाउन रोक लगाइएको उनको दाबी छ।
‘अब त्यहाँ बन्न सक्ने अवस्था देखिँदैन,’ खान भन्छन्।
अहिले रोहिणी गाउँपालिकामा जग्गा व्यवस्थापनको काम भइरहेकोले कात्तिकसम्म अहिलेकै स्थानमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘रोहिणी गाउँपालिकामा १५ विगाह जग्गा व्यवस्थापनको काम भइरहेको छ, दिपावलीसम्म यही व्यवस्थापन गरौं, सुख्खा समय आएपछि अन्यत्र लैजाउँला भनेर अनुरोध गरेको थिएँ स्थानीयले सुन्नै तयार हुनुभएको छैन,’ मेयर खानले भने।
वर्षाको समयमा अन्यत्र जग्गा व्यवस्थापन भए पनि फोहोर लैजान सक्ने अवस्था नभएको नगरप्रमुख खानले बताए।
‘स्थान त कतै खोजिएला तर, फोहोर लिएर जाने गाडीहरूलाई बाटो चाहिन्छ, अब पनि फोहोर लगेर त्यतिकै थुपारेर मात्र भएन फोहोरको वर्गीकरण गरेर मल बनाउने, कवाड सामान छुट्याउने सबै तयारीको काम गर्दा ढिलो भइहाल्छ,’ उनले भने।
रोहिणी गाउँपालिकाको बस्तीभन्दा टाढा रहेको सार्वजनिक जग्गामा निर्माण हुने फोहोर प्रशोधन केन्द्रका लागि सिद्धार्थनगर, रोहिणी र ओमसतिया तीन वटै पालिकाको लगानी रहने नगरप्रमुख खानको भनाइ छ।
‘सबैभन्दा बढी ६५ प्रतिशत लगानी सिद्धार्थनगरले गर्नेछ, त्यसमा २० प्रतिशत रोहिणीले र १५ प्रतिशत ओमसतियाले लगानी गर्ने सहमति समेत भएको छ,’ उनले भने।
उक्त कामको लागि एसियाली विकास बैंकले १ अर्ब बढी लगानी गर्ने सहमति समेत भइसकेको खानले दाबी गरे।
तर पटक पटक आश्वासन दिए पनि वर्षौंसम्म अन्यत्र व्यवस्थापनको कुनै तयारी नगरेको नगरपालिकाले यसपटक पनि आफूहरूलाई झुक्याउँदैन भनेर स्थानीय ढुक्क हुन सकेका छैनन्।
स्थानीय सञ्जीव गुरूङले नगरपालिकाले पटकपटक झुक्याउँदै आएकोले अब भने आश्वासनमा नफस्ने बताए।
सिद्धार्थनगरका १३ वटै वडाको फोहोर ट्याक्टरमा राखेर डण्डाखोलामा पुर्याउँदा पनि मेउडीहवा र झण्डीबजारको बीच बस्तीबाटै लैजाने गरिन्छ।