बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा भएका छन्।
यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए।
मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ परेका यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको थियो।
प्रहरीले नियन्त्रणमा लिएपछि सापटी लगेको १२ लाख २८ हजार रकम सोमबार नै उमाशंकर यादवको बैंक खातामा यादवका आफन्तले जम्मा गरिदिएका थिए।
सोमबार नै रकम जम्मा गरे पनि पक्राउ परेका यादवलाई प्रहरीले मंगलबार मात्र रिहाइ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवले सोमबार नै रकम बुझाएको भए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा मंगलबार मात्रै रिहाइ गरिएको बताए।
‘सापटी लिएको रकम सोमबार नै बुझाएको भन्ने थाहा भएको थियो तर, अदालतमा दर्ता भएको मुद्दामा सोही अनुसार आवश्यक कागजात र प्रमाणहरू पेश गर्नुपर्ने भएकोेले मंगलबार मात्र रिहाइ गरिएको हो’, उनले भने।
मुद्दा दायर गरेका यादवले केही समयलाई भनेर लगेको सवा १२ लाख रुपैयाँ तीन वर्षसम्म पनि फिर्ता नआएपछि अदालतमा जान बाध्य भएको बताए। ‘ढिलै गरि भएपनि सापटी दिएको सबै रकम फिर्ता पाएको छु, सावा रकम बुझेपछि व्याज रकम भने नलिने गरि मिनाह गरिदिएको छु,’ यादवले भने।
नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं। २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।
शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो। २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए।