धनुषाको विदेह नगरपालिका–२ का सुरेशकुमार ठाकुरले भारतबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरे। उनी आफ्नै देशमा जागिर गर्न चाहन्थे। कामको खोजीमा अनेक कन्सल्टेन्सी, संघसंस्था र सरकारी निकायहरू चहारे।
उनको प्रयास कतै सफल भएन। दैनिक घर खर्च जुटाउनु परिगयो। पढाइका क्रममा केही ऋण पनि लागेको थियो। आफ्नो देशमा काम नपाएपछि उनले वैदेशिक रोजगारीमा जाने विचार गरे।
डेढ वर्षअघिको कुरा, रोजगारीका लागि विदेश जाने तयारीमा लाग्दै गर्दा सबैला नगरपालिका–१०, अमरखानाका शिवनाथ ठाकुरले थाहा पाए। उनले सुरेशसँग सम्पर्क गरे अनि युरोपेली मुलुक पोल्यान्डको सपना देखाए।
अलिक राम्रो देश जान चाहेका सुरेश पोल्यान्ड जाने सपनाले गदगद भए। सबै प्रक्रिया मिलाउने र पठाउने जिम्मा शिवनाथले लिने भए। शिवनाथकी दिदीको घर पनि सुरेशकै गाउँमा छ। यही आधारमा सुरेशले विश्वास गरे।
‘एकपटक पोल्यान्ड पुगेपछि जिन्दगी बनिहाल्छ, परिवारको गरिबी भाग्छ भन्यो। यति धेरै पैसा कमाउने लोभ दियो कि म पोल्यान्ड जान तुरून्तै तयार भएँ,’ सुरेशले भने, ‘विश्वास गरेर सबै कागजात बुझाएँ। गाउँबाट सयकडा तीन रुपैयाँ (३६ प्रतिशत) ब्याज तिर्ने गरी १० लाख रुपैयाँ ऋण लिएँ।’
गाउँको साहुले सजिलै ऋण दिने होइन। ब्याज ३६ प्रतिशत अनि १० लाख रुपैयाँ लिएर ३० लाख रुपैयाँ लिएको लिखत बनाएपछि मात्रै ऋण पाए।
शिवनाथले पोल्यान्डको वर्क परमिट, भिसा र अन्य आवश्यक कागजातहरू देखाए। सबै तयारी भयो भनेपछि सुरेशले पटकपटक गरेर बैंकमार्फत १२ लाख ९० हजार रुपैयाँ दिए। यति पैसा बुझाएको छ महिनाभन्दा बढी भयो, राहदानी बुझाएको त डेढ वर्ष भयो। तर जान पाएका छैनन्।
राहदानी बुझाएको केही दिनमै शिवनाथले वर्क परमिटको कागज पठाए। अनि दुई लाख रुपैयाँ मागे। सुरेशले तुरून्तै बैंकबाट पठाइदिए। पैसा पठाएको तीन महिनापछि पोल्यान्डको भिसा लागेको राहदानी दिए अनि साढे तीन लाख रुपैयाँ मागे। सुरेशले त्यो पनि पठाए।
सुरेश भिसा जाँच गर्ने विचारले जनकपुर गए तर त्यहाँ युरोपेली मुलुकको भिसा जाँच नहुने जानकारी पाए। शिवनाथले पोल्यान्ड जान दिल्लीबाट उड्नुपर्छ भनेका थिए।
सुरेश एक्लै थिएनन्, उनीजस्ता पाँच जना थिए। शिवनाथले पाँचै जनालाई दिल्ली लगे तर त्यहाँ एक महिना बस्दा पनि उडान भएन। एक दिन उनले रुस र युक्रेनको युद्धले अहिले उडान नहुने भयो भने।
आखिर पाँचै जना घर फर्के।
‘ऋण लिएको पैसाको ब्याज बढेको बढ्यै भयो तर हामी पोल्यान्ड जाने कुनै छाँटकाँट देखिएन,’ सुरेशले भने, ‘हामीले दिनरात फोन गरेर छिटो पठाइदेऊ भन्दै कर गरेपछि एजेन्ट (शिवनाथ) ले टुरिस्ट भिसामा एक महिनाका लागि अजरबैजान जाऊ, यहाँबाट उडान हुन्छ भन्यो। हामी एक महिनाको भिसामा अरबैजान गयौँ।’
फेरि पैसा दिए।
अजरबैजान पुगेपछि एजेन्टले साढे चार लाख रुपैयाँ मागे। घरबाट तुरून्तै पठाइदिए तर पनि उडान भएन। त्यहाँ चिनजान भएका एक जना पाकिस्तानीसँग बसे। एक महिनाको भिसामा गएका सुरेश र उनका साथीहरू आजभोलि भन्दाभन्दै छ महिना त्यहीँ बसे। उडान भएन। अन्ततः उनीहरू घर फर्के।
‘हामी गत डिसेम्बरमा घर फर्क्यौं। अजरबैजान बस्दा भएको खर्च पाकिस्तानी साथीलाई पठायौँ,’ सुरेशले भने, ‘एजेन्टले तीन महिनापछि पैसा फिर्ता दिने भन्यो तर दिएन। अहिले त फोन पनि उठाउँदैन, उठायो भने धम्की दिन्छ, जे गर्नु छ गर भन्छ। न पासपोर्ट फिर्ता दियो न पैसा।’
ठगीमा परेको पक्का भएपछि सुरेशले गत असार २१ गते शिवनाथविरूद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, धनुषा परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा जाने क्रममा तीन सय जनाभन्दा धेरै ठगिएको भन्ने उजुरी परेको छ। तीमध्ये अधिकांश खाडी मुलुकमा जान चाहनेहरू छन्।
ठगीमा परेका औरही गाउँपालिका–३, कपटौलका २५ वर्षीय वीरु दास एजेन्टलाई दिएको पैसा र पासपोर्ट फिर्ताका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धाइरहेका छन्। उनले उजुरी गरेको छ महिना भयो।
विरुसँगै उनकै गाउँका अक्षय दास, इन्द्रजित दास, रामसुख दास र लक्ष्मी दासले गणेशमान चारनाथ नगरपालिका, बरमझियाका एजेन्ट सुरेश साहलाई पचास–पचास हजार रुपैयाँ दिएका थिए। तीन लाख रुपैयाँमा मलेसिया पठाइदिने भनेकोमा पैसा लिएपछि एजेन्टले फोन उठाउन छाडेको छ।
‘काठमाडौं लगेर उसले मेडिकल गर्न लगायो। एडभान्स भनेर पैसा मागेपछि हामी पाँच जनाले ५०–५० हजार दियौँ। पैसा बैँकबाट लिन मानेन,’ वीरुले भने, ‘पैसा लिएदेखि एजेन्ट सम्पर्कविहीन छ।’
ठगीमा परेपछि पाँचै जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरे तर एजेन्ट सम्पर्कमा आएन। यसपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिए।
वीरुले भने, ‘जिल्ला प्रहरी कार्यालयमा डिएसपी, एसपी सबैलाई भन्यौँ तर वैदेशिक रोजगारीसम्बन्धी मुद्दा हामीले हेर्ने होइन भने।’
उनीहरूसँग एजेन्टलाई पैसा दिएको कागजी प्रमाण छैन।
‘वैदेशिक रोजागरीसम्बन्धी मुद्दा चलाउने हामीले होइन। पीडित हामीकहाँ आउँदा दुबै पक्षबीच छलफल गराइदिने गरेका छौं,’ धनुषााका डिएसपी वेदप्रसाद गौतम भन्छन्, ‘मुद्दा त (वैदेशिक रोजगार) विभागले चलाउने हो।’
यस्तै किसिमले बटेश्वर गाउँपालिका–४ का राजेश महतो पनि ठगिएका छन्। सम्पत्ति बेच्दा पनि आमाको उपचार र बहिनीको बिहेको ऋण तिर्न नपुगेपछि उनी विदेश जाने विचार गरेका थिए।
उनी मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, फेचहाका रामप्रसाद यादवको सम्पर्कमा पुगे।
राजेशसँगै उनका मामा राजकुमार महतो पनि विदेश जाने भए। गत चैत ५ गते काठमाडौं पुगेर दुबै जनाले रामप्रसादले भने अनुसार मेडिकल परीक्षण गराए। भिसा प्रक्रियाका लागि भनेर दुबै जनाले ५०–५० हजार रुपैयाँ दिए।
केही दिनपछि रामप्रसादले भिसा आइसक्यो उड्नका लागि बाँकी पैसा पनि व्यवस्था गरिराख्नू भनेर खबर गरे। मामाभान्जाले ऋण लिएर पैसा जम्मा गरे तर उनीहरू उड्ने दिन आएन।
‘हामीलाई धेरै पटक काठमाडौँ बोलाएर खर्च गरायो। उडाउन पनि उडाउँदैन, पासपोर्ट (राहदानी) पनि फिर्ता गर्दैन,’ राजेशले भने, ‘अहिले त तिमीहरूको बारेमा म केही पनि जान्दिनँ भन्छ।’
आप्रवासी स्रोत केन्द्रमा सहजकर्ताको भूमिकामा रहेका हेल्भटास नेपालका अधिकृत देवनारायण मण्डलका अनुसार वैदेशिक रोजगारीका नाममा धनुषामा मात्रै सरदर दिनको एक जना ठगीमा पर्छन्। देशभरिमै वैदेशिक रोजागरीमा जानेको संख्या सबैभन्दा धेरै धनुषामा छ।
गाउँका कतिले त उजुरी नै गर्दैनन्। आप्रवासी स्रोत केन्द्रले आएका उजुरीमा दुबै पक्षलाई छलफलमा बोलाएर पैसा र पासपोर्ट फिर्ता गराउने काम गर्छ। यहाँबाट हुन सकेन भने वैदेशिक रोजगार विभागमा उजुरी गर्न सल्लाह दिन्छ।
देवनारायणका अनुसार वैदेशिक रोजगारीका नाममा युवाहरू मुख्यतः तीन कारणले ठगिन्छन्। पैसा र पासपोर्ट बुझाउनुअघि पर्याप्त सूचना नलिनु नै ठगिनुको मुख्य कारण हो।
‘मधेशका युवा गाउँका एजेन्टका भरमा विदेश जान्छन्। यस्तो एजेन्टलाई सरकारले मान्यता दिएको छैन। युवाहरू छिटो काम गर्न एजेन्टका भरमा पर्छन्,’ उनी भन्छन्, ‘मेनपावर कम्पनीमा गएर डिमान्ड हेरेर कुरा गर्ने र सबै जानकारी लिने हो भने ठगिने सम्भावना हुँदैन।’
ठगिनुको दोस्रो कारण एजेन्टलाई कुनै लिखित प्रमाणबिना पैसा दिनु हो।
देवनारायण भन्छन्, ‘बैंकमार्फत् दिने वा नगदै दिँदा पनि १० जना जति साक्षी राखेर दिने हो भने फिर्ता लिन सजिलो हुन्छ। यहाँ त विश्वासका भरमा एजेन्टलाई नै दुई–तीन लाख रुपैयाँ दिन्छन्। एजेन्टले प्रमाण देखाऊ भन्छ।’
सोझै मेनपावर कम्पनी नभएर एजेन्टकहाँ जानु ठगिनुको तेस्रो कारण हो।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या सबैभन्दा धेरै मधेश प्रदेशमा भए पनि यहाँ मेनपावर कम्पनी छैनन्। यसकारणले पनि युवाहरू एजेन्टका भरमा पर्छन्। एजेन्टहरूले माग नै नआई प्रमाणबिना पैसा लिन्छन्। यसो गर्दा युवाहरू ठगिन्छन्।