भुइँतलाको दक्षिणतर्फको एउटा कोठामा केही महिना यता मन्त्रालयका कामकाज हुँदैनन्। कोठामा पूर्वी भित्तामा चिटिक्क परेको खाट छ। खाटमाथि सफा ओछ्यान। खाटमै फिट हुने झुल पनि। कोठाका दक्षिण भित्तामा दुईटा झोलुङ्गो पनि छन्। भुइँमा टिपिक्कै कार्पेट ओछ्याइएको कोठा सफा मात्र छैन, शीतल पनि छ। भुइँमा अंग्रेजी वर्णमाला भएको म्याट ओछ्याईएको छ। पहिले कार्यालयका कागजपत्र हुने दराजदेखि भुइँसम्म थरीथरीका खेलौना पनि छन्।
यसरी सजिएको कोठा कुनै व्यक्तिको भने होईन, न त कुनै व्यावसायिक बाल हेरचाह केन्द्रको नै हो।
यो कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा कोठा हो। जहाँ काम गर्ने कर्मचारीका साना छोराछोरी पनि कार्यालय समयमा मन्त्रालयमा आउँछन्। उनीहरू त्यही कोठामा सुत्छन्, खेल्छन्। आमाबुवा अफिसमा निर्धक्क काम गर्न पाउँछन्।
ती मध्ये एक हुन् प्रहरी जवान धनकुमारी पुरी। जेठदेखि उनको ड्युटी यही मन्त्रालयमा परेको छ। उनको साथमा १ वर्षीय छोरा छन्। यो मन्त्रालयमा ड्युटी परेपछि उनले बच्चालाई त्यही आरामकक्षमा राखेर आफू बाहिर ड्युटी गर्न जान्छिन्।
जेठअघि यस्तो सुविधा उनलाई थिएन। घरमा बच्चा हेर्ने कोही थिएनन्। उनका श्रीमान पनि प्रहरीमै छन्। उनी सल्यानमा कार्यरत छन्। त्यसैले धनकुमारी नै बच्चा बोकेर ड्युटीमा खटिनुपर्यो। ड्युटीमा धेरैजसो त उनी बच्चा समाएरै उभिन्थिन्। कतिखेर भने बच्चालाई साँघुरो सुरक्षा पोष्टमा विसाउँथिन्।
यो मन्त्रालय आएपछि भने आफूसँगै बच्चा लिएर ड्युटी गर्नुपर्ने समस्या समाधान भयो। उनी खुसी भएकी छन्।
‘ड्युटीमा बच्चा पनि सँगै राख्न असहजै हुन्थ्यो, त्यहाँ बच्चा राख्ने पनि ठाउँ रहेछ, एक जना कर्मचारीले मलाई भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘अहिले पनि छोरालाई त्यही कोठामा राखेर पोष्टमा बस्छु, खेल्ने सामग्री छँदैछन्, खेल्छन्, भोकाएपछि मात्र दूध खुवाउन जानुपर्छ।’
यो आराम कक्ष मन्त्रालयमा चैतदेखि सञ्चालनमा ल्याईएको हो। मन्त्रालयका सूचना अधिकारी ज्ञानुलक्ष्मी चौलागाईका अनुसार पहिले कार्यालयको एउटा कक्ष रहेको उक्ता कोठालाई स्तनपान तथा आराम कक्ष भनेर छुट्ट्याइएको हो।
‘मन्त्रालयमा पर्याप्त कोठा नभएकाले कतिपय काम एउटै कोठाबाट पनि गर्ने गरिएको छ, तै पनि महिला कर्मचारीका लागि स्तनपान तथा आराम कक्ष अनिवार्य ठानेर हामीले एउटा कोठालाई प्रयोगमा लिएका हौं,’ उनले भनिन्, ‘यो सबै कार्यालयमा अनिवार्य पनि हो।’
आर्थिक मामिला तथा योजना मन्त्रालयमा गरिएको यो व्यवस्था कर्णालीका अरू मन्त्रालयमा भने छैन।
मन्त्रालयमा यो अवधारणा गत आर्थिक वर्षमा बसेको एउटा कर्मचारी बैठकबाट अघि सारिएको थियो। कर्मचारीहरूबीचको बैठकले निर्णय गरेर पारित गराएपछि ‘आराम कक्ष’ को व्यवस्थापन सुरू गरिएको मन्त्रालयका शाखा अधिकृत चौलागाईंले बताईन्।
‘आवश्यकता पहिलेदेखि नै थियो, बजेट व्यवस्थापन लगायतका हरेक कुराले मिलेको थिएन,’ उनले भनिन्, ‘चैतअघि बसेको हाम्रो एउटा कर्मचारीबीचको बैठकमा हामीले यो विषयमा निर्णय गरेर अघि बढ्नेगरी छलफल गर्यौं, त्यपछि बजेट व्यवस्थापनका लागि पनि सहज भयो र आराम कक्ष बनाएका हौं।’
आराम कक्ष बनाइसकेपछि महिलामात्र होइन पुरूष कर्मचारीहरूले पनि आफ्ना साना बच्चा सँगै ल्याउने गरेको उनले बताइन्। कर्मचारीहरूका अन्यत्र हेरचाह केन्द्रमा नपठाएका र विद्यालय जाने उमेर नभएका छोराछोरीलाई मन्त्रालयमै ल्याएर आफ्नो निगरानीमा राख्न सहज भएको उनको भनाइ छ।
‘मेरो पनि एक वर्षको बाबु छ, मेरोसहित हाम्रो मन्त्रालयका दुई जना महिला कर्मचारीका साना बच्चा छन्, उनीहरूलाई हामीले यहीँ ल्याएर राख्छौं,’ उनले भनिन्, ‘आमाको फुर्सद नहुँदा पुरूष कर्मचारीहरूले पनि आफ्ना बच्चा ल्याउनुहुन्छ, कोठामा सुत्नेदेखि खेल्नेसम्मका सामग्री भएकाले सजिलो भएको छ।’
आराम कक्ष बनाएपछि कर्मचारीलाई आफैंसँग बच्चा राख्न, महिला कर्मचारीलाई स्तनपान गराउन, महिनावारीको समयमा कर्मचारीलाई आराम गर्न सहज भएको उनले बताइन्।
महिला कर्मचारीका लागि मन्त्रालयले आराम कक्षबाहेक स्वचालित सेनेटरी प्याड मेसिन (अटोमेटेड सेनेटरी प्याड भेन्डिङ मेसिन) पनि जडान गरेको छ। प्राय:जसो महिला कर्मचारीले प्रयोग गर्ने भुइँतलाकै शौचालयभित्र उक्त मेसिन जडान गरिएको हो।
यो मेसिन प्रयोग गर्न महिलाहरूसँग एउटा कार्ड हुन्छ। उक्त कार्ड स्क्यान गरेपछि मेसिनले सेनेटरी प्याड दिन्छ।
‘प्याड बोकेर घरबाटै ल्याउनुपर्ने, यहाँ ल्याइसकेपछि पनि कुन शौचालयमा गएर फेर्ने भन्ने पनि समस्या थियो,’ चौलागाईंले भनिन्, ‘यतै यो व्यवस्था गरिदिएपछि बोक्नु पनि परेन, ‘यहाँ सेनेटरी प्याडको व्यवस्था छ’ भनेर लेखेपछि पुरूष कर्मचारी त्यो शौचालयमा जानुहुन्न र महिला कर्मचारीलाई महिनावारीको समयमा आवश्यकता अनुसार फेर्न पनि सजिलो भयो।’
आर्थिक मामिला तथा योजना मन्त्रालयमा गरिएका यो अभ्यास लैंगिक समानता र सामाजिक समावेशिताको दृष्टिकोणले समेत उपयुक्त भएको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली बताउँछिन्।
‘महिला कर्मचारी चाहिने स्तनपान कक्ष, महिनावारीका बेला आवश्यक आराम कक्ष, सेनेटरी प्याड उपलब्धता जस्ता व्यवस्थापन गर्नु जरूरी हो,’ उनले भनिन्, ‘यस्तो कुराले कार्यालय महिलामैत्री पनि देखिन्छन्।’
उनले सामाजिक विकास मन्त्रालयमा पनि स्तनपान, आराम कक्ष र स्वचालित प्याड मेसिनका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताइन्। यो आर्थिक बर्षमा भने मेसिन जडान गर्ने उनले बताइन्।
‘यस्तो व्यवस्था सबै कार्यालयमा हुनुपर्छ, हाम्रो मन्त्रालयमा स्तनपान कक्षका लागि पर्याप्त ठाउँ नभएकाले समस्या हो,’ उनले भनिन्, ‘हामीले प्रयास गरेर पनि भएको छैन, यो आर्थिक वर्षमा प्याडका लागि मेसिन भने राख्ने सोचेका छौं।’