बुटवलको सिद्धबाबाधाम विकास समितिमा दाताहरूबाट संकलित रकममा अनियमितता भएका रसिदहरू सार्वजनिक भएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरूले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो।
तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरू गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ। तर दाताहरूबाट संकलित सोही रकम समेत अनियमितता गरिएका किर्ते रसिदहरू शनिबार सार्वजनिक भएका छन्।
यसरी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा एक महिना अघि नै उजुरी परेको थियो।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर दर्शन तथा पूजापाठको लागि देशभर चर्चित छ भने बुटवल ३ स्थित तल्लो सिद्धबाबाको नामले परिचित धाम विकास समिति विवाह, व्रतवन्ध तथा विभिन्न धार्मिक कार्यहरूका लागि चर्चित छ। मन्दिर र धाम विकास समितिमा व्यवस्थापन समिति समेत छुट्टाछुट्टै गठन गरी काम गर्दै आएका छन्।
समितिले दाताहरूलाई दिएको पहिलो रसिद र त्यसैको छाया प्रतिमा फरक फरक रकम लेखिएको भेटिएपछि धाम विकास समितिमा हुने गरेको अनियमितता छताछुल्ल भएको हो। सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रकम लिएको उल्लेख गरिएको छ भने तीनै रसिदका छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ लेखिएको छ।
२०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले बहिनीको विवाह गरेवापत धामविकास समितिलाई रसिद काटेर १ हजार १ सय ५ रुपैयाँ बुझाएका थिए। १६८१३ नं. को उक्त रसिदमा रकम बुझाउने व्यक्तिको नाम, ठेगाना हस्ताक्षर समेत गरिएको छ। तर सोही नं. को रसिदको छाया प्रतिमा भने रकम बुझाउने व्यक्तिको नाम, ठेगाना र हस्ताक्षर एउटै रहेपनि रकम भने आधा भन्दा बढी कम गरी ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ।
गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्काले धाम विकास समितिलाई १ हजार ५ रुपैयाँ बुझाएकी थिइन्। १७११४ नं. को पहिलो रसिदमा १ हजार ५ रुपैयाँ लेखिएपनि त्यसैको छाया प्रतिमा ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ।
बुटवल-११ की गंगा रायमाझीले पनि गत मंसिर २८ गते रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ प्रदान गरेकी थिइन्। रायमाझीले बुझाएको १७११२ नं. को उक्त रसिदको छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ उल्लेख गरिएको छ।
सैनामैनाका कुमार कार्कीले परिवारका सदस्यको विवाह गरेवापत धामविकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ बुझाएको उल्लेख गर्दै पहिलो रसिद छाया प्रतिमा कसरी रकम फरक पर्यो भन्ने जानकारी नभएको बताए।
‘हामीले त काम भएपछि रसिद काटेर ११ सय ५ रुपैयाँ बुझाएका थियौं, रसिद भने ल्याएका थिएनौं। एउटै रसिदमा कसरी रकम फरक पर्यो त्यो भने थाहा भएन,’ उनले भने।
समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कृष्णप्रसाद तिमिल्सेनाले आफूलाई फसाउन र बदनाम गर्न धेरै महिना अघिको घटनालाई चर्चामा ल्याइएको बताएका छन्।
लामो समयदेखि तिमिल्सेना अध्यक्ष रहेको समितिमा आन्तरिक विवादका कारण नयाँ समिति चयन हुन सकेको छैन। गत मंसिरमै गरिएको समितिको अधिवेशनमा सहमति जुट्न नसकेपछि धाम विकास समिति नेतृत्वविहीन छ। अर्को नेतृत्व चयन नहुँदा सम्म तिमिल्सेनाले नै कामचलाउ अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
यहि बीचमा नगदी रसिदहरू सार्वजनिक भएपछि आफूलाई फसाउन र बदनाम गराउन पुरानो घटना बाहिर ल्याइएको उनको दावी छ।
तिमिल्सेनाका अनुसार दाताबाट रकम लिएर काटिएका रसिदमै किर्ते गरिएको पाइएपछि समितिले १ महिना अघि नै धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरेको थियो।