बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राईले बालिकाका काठमाडौंस्थित संरक्षक र साक्षीहरूलाई ज्यान मार्ने धम्की दिएका छन्।
आफ्ना पार्टनरहरूसँगको ‘प्राइभेट भिडियो’ बाहिरियो भने चार जनालाई मारिदिन्छु भन्दै राईले दिएको धम्कीको अडिओ कल रेकर्ड सेतोपाटीलाई प्राप्त भएको छ।
राईले आफूविरूद्ध प्रहरीमा उजुरी दिएकी बालिकाका काठमाडौंस्थित संरक्षक शिवराज सिंह (राजवीर) लाई फोन गरेर यस्तो धम्की दिएको सुनिन्छ।
अडिओमा राईले भनेका छन्, ‘मेरो चिन्ता नगर तर मेरा जो जो पार्टनरहरू छन् उनीहरूको इज्जतको सवाल छ। उनीहरूसँगको कुनै भिडिओ बाहिरियो सार्वजनिक भयो भने मैले कसैलाई छोड्ने छैन। मारिदिन्छु। पहिला मैले टेकलाई समात्नेछु त्यसपछि तिमीहरू चारलाई।’
आफ्ना पार्टनरहरूसँगको भिडिओ सार्वजनिक भए बसन्ती राई, उषा राई र टेक बहादुर कार्की सहित शिवराजलाई पनि मार्ने धम्की राईले दिएका छन्।
शिवराजबाहेक अरू तीन जना शुभम फाउन्डेसनका पूर्व कर्मचारीहरू हुन्। बसन्ती र टेकबहादुर पीडित बालिकाका साक्षीहरू हुन्।
शिवराज शुभम फाउन्डेसन सुरूदेखि नै काम गरेकी बसन्ती राईका श्रीमान हुन्। उनी भारतीय नागरिक भएकाले मदन राई उनीसँग हिन्दिमा कुरा गर्छन्।
झण्डै १४ मिनेटको अडिओमा राईले आफ्ना पार्टनरहरूसँगको भिडिओ जहाँसुकैबाट बाहिरि एपनि चार जनालाई ज्यान मार्ने धम्कीपूर्ण भाषा पटकपटक प्रयोग गरेका छन्।
शिवराजले आफूहरूसँग कुनै भिडिओ नभएको राईलाई बताएका छन्।
‘छैन भने ठीक छ। छ भने पनि ठीक छ। तर बाहिरियो भने तिमीहरू चार जनाको माध्यमबाट बाहिरिन्छ। भने मैले तिमीहरूलाई मार्दिन्छु,’ मदन राईले भनेका छन्, ‘अहिलेसम्म जे भयो मेरो त चित्त दुखाइ छैन। तर मेरा पार्टनरहरूको परिवार छ, समाज छ त्यसमा केही असर पर्यो भने मैले तिमीहरू चार जनालाई जिउँदो छोड्ने छैन।’
एक बालिकाले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि वैशाख अन्तिम साता राई पक्राउ परेका थिए। उनीविरूद्ध बाल यौन दुर्व्यवहारको मुद्दा चलेको थियो। खोटाङ जिल्ला अदालतले थुनछेक आदेश गर्दै ४ लाख धरौटीमा उनलाई छोडेको थियो।
धरौटीमा रिहा भएका राईले फोन गरेर ज्यान मार्ने धम्की दिने गरेको शिवराजले बताउँछन्।
‘मदन राईले मलाई यस्तो धम्की दिँदै धेरैपटक फोन आउँछ,’ उनले भने, ‘म त हैरान भइसकेँ।’ यस्तो धम्की राईले आफूलाई पनि दिएको टेकबहादुर बताउँछन्।
‘मलाई पनि यस्तै धम्की आउँछ। तिमीहरूलाई मार्छु, म पनि मर्छु भन्छन्,’ उनले भने, ‘हामी पीडित बालिकाका साक्षी हौं। त्यसैले हामीलाई धम्क्याइरहन्छन्।’
यो पनिः मदन राईबाट यौन दुर्व्यवहारमा परेका बालिकाको न संरक्षण, न उजुरी दर्ता
आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार