धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ स्थित सिनरजोडाको बस्तीका साँघुरो गल्ली छिचोल्दै गएपछि एउटा कल भेटिन्छ। बस्तीको पुछारमा रहेको यो कल वरिपरि बिहानदेखि रातिसम्म मान्छेको लाइन हुन्छ।
पिउन तथा घरायसी काममा प्रयोग गर्नका लागि सिंगो बस्तीले यहीँबाट पानी ओसार्छन्। महिला होस् वा पुरूष सबैले नुहाइधुवाई पनि यहीँ गर्ने हो।
गएको शुक्रबार हामी पुग्दा नुहाउनका लागि महिला र पुरूषहरूको झगडा चलिरहेको थियो। गर्मीको मौसम भएकाले नुहाउनेहरूको भीड धेरै हुन्छ।
एउटै कलमा पानी भर्नुपर्ने बाध्यताका कारण यहाँ दिनदिनै झै-झगडा हुनु समान्यजस्तै भइसकेको स्थानीय गालो सदाले बताइन्।
‘गर्मीमा पानीको खपत धेरै छ। एउटा परिवारमा कम्तीमा ६/७ जना छन्। सबैले नुहाइधुवाई गर्ने, सरसफाई र घरायसी कामका लागि पानी भर्न टोलमा एउटै कल छ,’ उनले भनिन्, ‘कोही मान्छे कताबाट काम गरेर थाकेर आएको हुन्छ, कसैलाई तुरन्तै नुहाइधुवाई गरेर निस्किनुपर्ने हुन्छ। तर यो लाइन टुटिरहेकै हुँदैन। म पहिले त म पहिले पानी भर्ने भन्दै भनाभन हुन्छ र झगडा पर्छ।’
तराईमा अति विपन्न मानिएको मुसहर समुदायका ४७ परिवारको यो बस्तीमा एउटा मात्रै कल छ। तीन जनाले व्यक्तिगत पैसा लगाएर आ-आफ्नो घरमा कल गाडेका छन्, जसमा अरू पानी भर्न जाँदैनन्।
तीबाहेक सबैजसो परिवारका लागि आफ्नै पैसाले कल गाड्नु फलामको च्युरा चपाउनुजस्तै अप्ठ्यारो रहेको स्थानीय शिवशंकर सदा बताउँछन्।
‘यहाँ सबै गरिब छन्, मजदुरी गरेर परिवार पाल्छन्। परिवार सबैका ठूला छन् महिनाको कमाइ भन्दा खर्च धेरै हुन्छ। सबैका सबै ऋणमा डुबेका छन्। पेटबाट उब्रिएपछि न हो कल गाड्नेबारे सोच्ने,’ उनले गुनासो पोखे ‘अरू टोलमा सडकहरू ढलान भए, कल र बोरिङ नै गाडिए तर हामी सानो जातका भएर पनि होला कसैले वास्तै गर्दैन।’
यहाँका नेताहरूलाई स्थानीयको एउटै माग छ- खानेपानीका लागि कल गाडिदिनु। शौचालय बनाइदिनु।
तर कसैले नसुनदिँदा दिक्क लागेको फुलोदेवी सदाले सुनाइन्।
‘वडाध्यक्ष चुनावमा भोट माग्न आउँदा तपाईंहरूको सबै काम गरिदिन्छौँ भनेका थिए तर अहिले तिमिहरूको भोटले जितेकै होइन, भोटै नपाएको ठाउँमा किन काम गर्नुपर्यो? जसलाई भोट दिएका छौं उसलाई गएर भन भन्छ। हार्नेले पनि भन्छ तिमीहरूले भोट नदिएर मैले हारेँ। त्यसोभए हाम्रो भोट कहाँ गयो त?,’ उनले भनिन्।
त्यही एउटा कल समेत बिग्रेपछि निकै सास्ती हुने उनले सुनाइन्। किनभने कल बिग्रेपछि पानीका लागि धेरै टाढासम्म पुग्नुपर्छ।
‘टाढाबाट पानी ल्याउन जाँदा वर्षामा चिप्लेर हामी लड्छौं। पानी परिरहेको बेला धेरै अप्ठयारो हुन्छ। सामुहिक पैसा उठ्न टाइम लाग्छ त्यसैले बिग्रियो भने १०-१२ दिनपछि मात्रै कल ठीक हुन्छ,’ उनले भनिन्।
खानेपानीजस्तै यो बस्तीमा ठूलो समस्या शौचालयको छ। यो मुसहर बस्तीमा एकाध बाहेक कसैको शौचालय छैन। यहाँका स्थानीय करिब एक किलोमिटरको दुरीमा रहेको दुधमती नदी किनारमा शौचालय जान्छन्। नत्र छेउछाउका खेतमा। बालबालिका भने त्यती टाढा जान नसक्दा घर वरिपरि नै शौच गर्छन्। जथाभावी दिसापिसाबले घरवरिपरि दुर्गन्धित छ।
आफ्नो जग्गा नहुनेले अरूको जग्गामा दिसापिसाब गरिदिए झगडा पर्छ।
‘अहिले वर्षामा हाम्रो घर छेउछाउ सबै डुबानमा पर्छ। बाटोघाटो सबैतिर दिसैदिसा हुन्छ। बच्चाहरू बुझ्दैनन् बालीमै दिसा गरिदिन्छ अनि खेतबलाले जहिल्यै गाली गर्छन्,' स्थानीय निर्मला सदाले भनिन्।
उनका अनुसार महिलालाई सबैभन्दा धेरै समस्या हुन्छ।
बिहान बेलुका अँध्यारोमै ट्वाइलेट गर्न जानुपर्छ। महिलाहरूलाई त झन् धेरै समस्या छ। त्यसमाथी लाज शरम बिर्सेर टवाइलेट बस्नुपर्छ। एक लाइन पुरूष हुन्छ बसेको त्यहीँ नजिकै महिला पनि बस्ने हो,' उनले भनिन्, 'बस्तीभरको यति मान्छे सधैँ कहाँ जाने? नेताहरूले हामी गरिब मान्छे, दलित मान्छेको लाजै हुन्न भन्ठान्छन्। नभए हाम्रा लागि टवाइलेट व्यवस्था गरिदिन्थे नि!’
राति सर्प-कीराको डर हुँदाहुँदै पनि शौच गर्न चौरीमा जानुपर्ने स्थानीयको बाध्यता छ। वर्षामा खेतमा जमेको पानी तरेर स्थानीय खोला छेउमा जान्छन्। स्थानीय कुशेशरी सदाले पनि महिलाहरूलाई धेरै अप्ठेरो पर्ने गरेको सुनाइन्।
‘अहिले गर्मी भएकाले चौरीमा सर्प-कीरा बढी हुन्छ । डराउँदै शौच गर्न जानुपर्छ। चौरीमा महिलालाई अझ गाह्रो हुन्छ किनकि दिउँसो चौरीभरि मान्छे पनि हुन्छ। त्यसमाथि महिनावारी हुँदा सबैभन्दा धेरै समस्या हुन्छ,' उनले भनिन्,'बालबच्चाहरूलाई तुरून्ता तुरून्तै पखाला लागिरहेको हुन्छ। अस्पताल जाँदा डाक्टरले खानेपानीको मुहानभन्दा पर दिसापिसाब गर्न भन्छन्। सरसफाइ राख्न भन्छन्। त्यासे गर्न कहाँ शौचाल जाने, बच्चाहरूलाई कहाँ लाने ?’
खानै लाउनै धौधौ परिरहेकाले शौचालय बनाउन आफूहरूको क्षमताले भ्याउनै नसक्ने उनले बताइन्।
खानेपानी र शौचालयको व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी भएकोले मुसहर बस्तीको पनि समस्या समाधान गर्न तीनै तहका सरकारले गम्भीर भएर काम गर्नुपर्ने अधिकारकर्मी एवं अनौपचारिक सेवा केन्द्र इन्सेकका मधेश प्रदेशका संयोजक राजु पासवानले बताए।
‘खानेपानी र शौचालय मानिसको आधारभूत आवश्यकता हो। यो स्वास्थ्यको अधिकार अन्तर्गत पर्छ। मधेस प्रदेशमा अन्य ठाउँहरूमा पनि मुसहर समुदायको अवस्था यस्तै छ। सडकमै शौच गर्नुपर्ने, एउटै कोठामा सासु ससुरा र दुई जना छोरा बुहारी सुत्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यी कुराहरूको सम्बोधन नेपालको संविधानको मौलिक हक अन्तर्गत सम्बोधन गर्नुपर्ने देखिन्छ। यो जनताको आधारभूत अधिकार हो। सरकारले तुरन्त यी अधिकारको प्रत्याभूति नागरिकलाई गराउनुपर्छ। संविधान जारी भएको ८ वर्षमा यी अधिकार जनताले पाउन नसक्नु दुःखद हो।'
यी समस्या सामाधानका लागि आफूहरूले पनि पहल थाल्ने उनले बताए।
वडा नम्बर २ का वडाध्यक्ष लालजी साह तेलीले मुसहर बस्तीमा खानेपानी र शौचालयको समस्याबारे आफू अवगत रहेको बताटए। उनले यो दोष मुसहर बस्तीका अशिक्षित बासिन्दा र अघिल्लो कार्यकालका वडाध्यक्षको भएको भन्दै आरोप समेत लगाए।
‘हाम्रो वडामा पहिले केही कामै भएन अब अहिले शिक्षातर्फ ध्यान दिउँ कि सडक बनाउन कि खानेपानीको व्यवस्था गरू? मुसहर समुदाय अशिक्षित भएकाले पनि समस्या आएको हो,’ उनले भने।
उनले यो बस्तीमा खानेपानी र शौचालयको समस्या समाधान गर्न यो वर्ष नसकिने उनको भनाइ छ।
‘यो आर्थिक वर्षमा त्यो बस्तीमा एउटा कल अझै गाडदिन्छु तर शौचालयको व्यवस्थापन अहिले सम्भव छैन किनकी आर्थिक वर्षको सबै कार्यक्रम बनिसकेको छ,’ उनले भने।
आर्थिक वर्ष २०८१/०८२ मा शौचालय व्यवस्थापनका लागि आफूले काम गर्ने वडाध्यक्ष साहको भनाइ छ। उनले भोट नदिएकै कारण आफूले मुसहर बस्तीमा काम नगरेको आरोप अस्वीकार गदै विपक्षीले उक्साएर उनीहरू त्यस्ता आरोप लगाएको दाबी गरे।