सबै बालबालिका स्कुल गएपछि धनुषाको नगराइन नगरपालिका–२, जटही टोल दिउँसो सुनसान हुन्छ। छेवैको मुसहरी टोलमा भने दिनभर बालबालिकाहरूको हल्ला सुनिन्छ।
मुसहरी टोलीकी ३५ वर्षीया उर्मिला सदाका छ जना छोरीहरू एकहप्ता अघि (आइतबार) खाना खाएर खेल्नमा मग्न थिए। उनीहरूसँगै छिमेकी बालबालिकाहरू पनि खेलमै थिए। शरीर र लुगा हिलो माटोले पोतिएका थिए।
मुसहरी टोलका अधिकांश बालबालिकाको दिनचर्या यस्तै छ। उनीहरू स्कुल जाँदैनन्, घरमा पनि पढ्दैनन्। दिनभर खेल्छन्। अलिक ठूलाले साना भाइबहिनीको हेरचाह गर्छन्।
अर्को टोलका बालबालिका बिहान स्कुल गएको र बेलुका फर्केको देख्दा उर्मिलाको नजर तिनीहरूमै अडिन्छ। उनी भावुक बन्छिन्।
‘हाम्रा छोराछोरीलाई पनि यसैगरी स्कुल पठाउन पाए हुन्थ्यो। आफूले अक्षर चिन्न पाइनँ, घरमा थुप्रेर बस्नु परेको छ। मलाई छोरी पढाउने रहर छ,’ उनले भनिन्।
उनका छ छोरी र एक छोरा छन् तर कसैको पनि जन्मदर्ता प्रमाणपत्र बनेको छैन। उनका श्रीमान् मनोज सदाको नागरिकता छैन। यसै कारण छोराछोरीको जन्मदर्ता नभएको हो।
स्थानीयवासीहरूका अनुसार करिब २५ वर्षअघि यो मुसहरी टोलमा आगलागी भएको थियो। सबैका घर फुसका थिए। आगलागीमा सबै घर जले, घरभित्रको सबै सामान खरानी भयो। धेरैको नागरिकता प्रमाणपत्र पनि जल्यो।
आगलागीमा मनोजका बुबाआमाको पनि नागरिकता प्रमाणपत्र जल्यो। उनका दाइको नागरिकता बनिसकेको थियो। आमा र बुबाको नागरिकताको प्रतिलिपि निकाल्न दाइको सहीछाप अनिवार्य भयो।
पारिवारिक झगडाका कारणले गर्दा दाइले सहयोग गरेनन्। प्रतिलिपि आएन। आमाबाबु बितिहाले। उर्मिलाका अनुसार आमाबुबाको नागरिकता साथमा नहुँदा र दाइले सहयोग नगर्दा मनोजको नागरिकता बनेन।
‘जेठानी र जेठाजुलाई छिमेकीबाट पनि भन्न लगायौं तर उनीहरूले मानेनन्,’ उर्मिलाले भनिन्, ‘नागरिकता नहुँदा मेरा श्रीमानले यहाँ (नेपालमा) काम पाएनन्। बालबच्चा छोडेर कमाउन सधैं इन्डिया जान्छन्। हामी विचल्लीमा परेका छौं।’
आफ्नो नामबाट छोराछोरीको जन्मदर्ता हुन्छ भन्ने सुनेर उर्मिला धेरै पटक वडा कार्यालय गइन् तर वडाले काम गरिदिएन।
उता छोरीलाई भर्ना गराउन जाँदा स्कुलले जन्मदर्ता प्रमाणपत्र माग्यो, भर्ना लिन मानेन। भर्ना नभई जेठी छोरी वर्षा दुई वर्ष स्कुल गइन् तर कहिल्यै हाँजिरखातामा नाम आएन।मेरो नाम पनि नलेखिदिनु भनेर धेरै पटक रोइन् तर लेखिएन। आखिर उनी स्कुल जान छाडिन्। वर्षालाई गाउँका साथीहरूसँगै स्कुल जान मन लाग्छ। उनी अहिले १३ वर्षकी छन्।
दुई वर्ष स्कुल जाँदा जेठी छोरीको नाम नलेखिएपछि उर्मिलाका अरू छोरीहरू पनि गएनन्।
‘अरू बच्चाहरू स्कुल गएको देखेर यिनीहरू पनि कहिलेकाहीँ जान्छन्। एक छिन बसेर फर्किन्छन्। दिनभर धुलो र हिलोमा खेलेर समय बिताउँछन्,’ उनले भनिन्, ‘मैले पनि पढेको छैन नत्र घरमै पनि पढाउँथेँ।’
राज्यमा व्यक्तिको अस्तित्वको पहिलो प्रमाण जन्मदर्ता हो, यसपछि नागरिकता प्रमाणपत्र। राज्यमा व्यक्तिको कानूनी पहिचान सिर्जना गर्न जन्म दर्ता आधारभूत र ठोस प्रमाण हो।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३९ को उपधारा १ मा ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्म दर्ताको हक हुनेछ’ भनिएको छ। उर्मिला र मनोजका छोराछोरीले भने यो हक पाएका छैनन्।
बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९९० ले पनि बच्चा जन्मने बित्तिकै दर्ता हुने र जन्मदेखि नै नामको अधिकार, राष्ट्रियताको अधिकार र सम्भव भएसम्म आमाबाबु जान्ने/चिन्ने र हेरचाह पाउने अधिकार हुने व्यवस्था गरेको छ।
जन्मदर्ताको अधिकारबाट वञ्चित गर्नु मानव अधिकारविरुद्ध मानिन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ मा ‘प्रत्येक व्यक्तिलाई कानूनको अगाडि जुनसुकै ठाउँमा व्यक्तिका रूपमा पहिचानको अधिकार हुन्छ’ भनिएको छ।
यही मुसहर बस्तीकी ४० वर्षीया सिजोतिया सदाका दुई छोरीको पनि जन्मदर्ता भएको छैन। वडा कार्यालय धाउँदा हैरान भएको उनले बताइन्।
उनका पाँच जना छोराछोरी छन्। तीन जनाको जन्म दर्ता भएको छ। दुई छोरीको भएको छैन। उनका श्रीमानको करेन्ट लागेर मृत्यु भयो। यसपछि परम्पराअनुसार देवर छोटकन सदासँग उनको बिहे भयो।
उमेर ३५ वर्ष भयो, छोटकनको पनि नागरिकता बनेको छैन। उनकी आमाको नागरिकता प्रमाणपत्र छ तर बाबुको चाहिँ आगलागीमा प¥यो।
बाबुको नागरिकता नभएपछि छोटकन पनि बनेन। सिजोतिया र छोटकनको बिहे दर्ता भएको छैन। छोटकनतर्फबाट जन्मेका दुई छोरीको जन्मदर्ता पनि भएको छैन।
छोटकन नागरिकता बनाउन जाँदा वडा कार्यालयमा घुस मागेको सिजोतियाले बताइन्।
‘श्रीमानको नागरिकता बनाउन खोज्दा वडामा ६० हजार रुपैयाँ घुस मागे। भनसुन गरेपछि ५० हजार भए सिफारिस गरिदिने भने,’ उनले प्रश्न गरिन्, ‘पेटै पाल्न आपत् छ, कहाँबाट त्यति धेरै पैसा ल्याउनु? नागरिकता नबनाई श्रीमान् कमाउन भारत गए।’
सिजोतियाको दुई कोठे घर छ। बाख्रा पनि त्यहीँ बाँध्नु पर्छ। दिनभरि काम नगरे बेलुका खानेकुरा हुँदैन। नागरिकता बनाउन घुस दिनु उनीहरू बुताको कुरा थिएन।
‘नागरिकता भएको भए उनी अरू देश (भारतबाहेक) जान्थे । छोराछोरी पाल्न र उनीहरूको बिहेवारी गर्न यहाँ कमाएर पुग्दैन। नागरिकता नभएपछि भारतमा मजदुरी गर्नु परेको छ,’ उनले भनिन्, ‘छोरो पनि बाबुसँगै छ। दुई जनाले कमाउँदा पनि पेट पाल्न मुश्किल परेको छ।’
जन्म दर्ता नभएका दुई छोरी स्कुल जान पाएका छैनन्। एउटी छोरी केही दिन गइन् तर भर्ना नभएपछि जान छाडिन्।
‘सरले नाम नलेखदिएपछि छोरी धेरै रोई। उसलाई पढ्न रहर छ तर जन्मदर्ता नभई स्कुलमा नाम लेखिदिँदैनन्,’ सिजोतिया भन्छिन्, ‘हाम्रा छोराछोरीले पढ्न नपाउने भए।’
स्थानीयवासीहरूका अनुसार बुबा वा आमामध्ये एक जनाको नागरिकता नभएका धेरै बालबालिकाको जन्मदर्ता भएको छैन। जन्मदर्ता हुने उनीहरूको अधिकारको कुरा जनप्रतिनिधिहरूले वास्ता गरेका छैनन्।
यस सम्बन्धमा जिज्ञासा राख्दा वडा नम्बर २ की कार्यबाहक वडाध्यक्ष रामपरी देवीले मुसहरी बस्तीका बालबालिकाहरूको जन्मदर्ताका लागि आफूले पहल गर्ने बताइन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले आमाबाबुको नागरिकता र विवाह दर्ता नभई बालबालिकाको जन्मदर्ता नगर्नू भनेकाले वडा कार्यालयले त्यसै अनुसार काम गर्ने गरेको रामपरीको भनाइ छ।
उनी भन्छिन्, ‘सिडियो (प्रमुख जिल्ला अधिकारी) कार्यालयले नागरिकता र विवाह दर्ता नभई जन्मदर्ता नगर्नू भनेको छ। यस्तो काजगात नभएपछि जन्मदर्ता हुँदैन। वडा सचिव सही गर्नै डराउँछन्।’
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकी निर्देशक देवी पाण्डे खत्रीले आमा र बुबामध्ये कुनै एकको नागरिकता छ भने छोराछोरीको जन्मदर्ता हुने बताइन्। बिहे दर्ता पनि भएको हुनुपर्छ।
उनका अनुसार विवाहयोग्य उमेर नपुगेर बिहे दर्ता नभएको हो भने हजुरबुबा/हजुरआमा ‘सूचक’ बसेर जन्म दर्ता गराउन मिल्छ।