प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयबाट जारी भएको एक पत्र सार्वजनिक भएसँगै आइतबार भुटानी शरणार्थी प्रकरण पुन: एक पटक चर्चामा आएको छ।
प्रहरीको पत्रमा भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सांसदहरू आरजु राणा र मञ्जु खाणलाई रकम बुझाएको भनिएको अडिओ पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्माको आवाजसँग मिलेको उल्लेख गरिएको छ।
यही प्रमाणका आधारमा प्रहरीले यस प्रकरणमा कांग्रेस सांसद राणामाथि पनि अनुसन्धान गर्छ त? भनेर धेरैले प्रश्न गरेका छन्।
प्रहरीले भने यस विषयमा तत्काल कुनै थप अनुसन्धान नहुने बताएको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले आइतबार सार्वजनिक भएको कुरा प्रहरीले सार्वजनिक जानकारीका लागि नभई सांसद राणालाई पठाएको पत्र हो।
राणाले आफ्नो उजुरी माथिको छानबिनका विषयमा प्रगति विवरण के-कस्तो भयो भनेर प्रहरीसँग सूचना माग गरेकी थिइन्।आइतबार त्यसको जवाफमा सार्वजनिक भएको अडिओमा बोल्ने व्यक्ति सन्देश शर्मा नै हो भनेर राणालाई जवाफ पठाइएको कडायतले बताए।
‘उहाँले मेरो निवेदनबारे के भइरहेको छ जानकारी पाउँ भन्नुभएकोले हामीले लेखेर दिएका हौं,’ उनले सेतोपाटीसँग भने, ‘पत्र कसरी सार्वजनिक भयो हामीलाई थाहा छैन।’
सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीचमा भएको कुराकानीमा राणालाई साढे २ करोड र खाणलाई ६ करोड रकम बुझाएको भन्ने उल्लेख गरिएको थियो। एक मिनेट ३ सेकेन्डको अडिओमात्रै सार्वजनिक भएको थियो। तर प्रहरीले प्रमाणको रूपमा ३० मिनेट लामो अडिओ प्राप्त गरेको थियो।
पढ्नुस्:
सांसद राणाले भने सार्वजनिक भएको अडिओ फेक भएको दाबी गर्दै आएकी थिइन्। राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले उक्त अडिओ मुद्दा बुझाउनुअघि नै परीक्षण गरिएको बताए।
‘सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीचको कुराकानीको अडिओ अदालतमै पेश भइसकेको कुरा हो,’ उनले भने, ‘नयाँ कुरा होइन। हामीले परीक्षण गरेर मिसिलमै संलग्न गरी अदालतमा पठाएका हौं।’
सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा जेठ १० गते बुझाएको मिसिलमा नै यो कुरा समावेश छ।
प्रहरीले उक्त अडिओ तेस्रो व्यक्तिहरूबीच भएको र स्वतन्त्र रूपमा पुष्टि हुने प्रमाणहरू नभेटिएको बताएको थियो।
प्रहरी र अदालतमा दिएको बयानमा सन्देश शर्माले आफू र बुढाथोकीबीच कुराकानी भएको स्वीकारेका छन्। तर आरजु र मञ्जुलाई रकम बुझाएको लगायतका विषयहरू पीडित रामकुमार रेग्मीले बोल्न लगाएको भनेर बयान दिएका छन्।
अडिओमा बोलेको कुरामा शर्माले इन्कारी बयान दिएकाले प्रहरीले त्यसैलाई समावेश गरेर मिसिल तयार पारेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिले पूरक अनुसन्धान पनि गरिरहेको एसएसपी कार्कीले बताए।
‘अनुसन्धान गरिरहेका छौं। यसमा थप केही भन्ने विषय बनिसकेका छैनन्,’ उनले भने।
राणाले उजुरी दिएपछि साइबर ब्युरोले टिकटक सिंगापुरलाई उक्त अडिओ सबैभन्दा पहिला कसले अपलोड गरेको हो पत्ता लगाइदिन भनेर पत्र लेखेको थियो। तर टिकटकले अहिलेसम्म पत्रको जवाफ पठाइसकेको छैन।
‘अहिलेसम्म त्यहाँबाट जवाफ आइसकेको छैन। केही समय लाग्न सक्छ। यकिनसँग भन्न सकिन्न। हामीसँग सिधा सम्पर्क गर्न सक्ने माध्यम पनि छैन,’ कार्कीले भने।
समन्वय गर्ने कुनै माध्यम नहुँदा डाटा पाउन पनि मुस्किल भएको उनी बताउँछन्।
‘सामाजिक सञ्जालका प्राइभेट कम्पनीहरूले हाम्रा डाटाहरू सित्तैमा लगिरहेका छन्। तर अनुसन्धानका लागि कम्पनीहरूसँग समन्वय गर्न कठिन छ। हामीलाई सूचना लिन कठिन छ,’ उनले भने, ‘उनीहरूसँगको एक्सेस नै छैन हामीसँग। कुनै व्यक्तिगत चिनजानका आधारमा हुने गरेको छ। यस अनुसन्धानमा पनि त्यहाँबाट जवाफ आउन ३ महिनासम्म लाग्न सक्छ।’
भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माको प्रमुख भूमिका रहेको भन्दै प्रहरीले मुद्दा बुझाएको थियो। हाल उनी पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा छन्।
उनीविरूद्ध सुरूमा गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।
जाहेरवाला पीडित गजेन्द्रबाट मात्रै उनले ९ करोड ७८ लाख रुपैयाँ र रामकुमार रेग्मी र उनले चिनेका अन्य १५ जनाबाट ३ करोड ८५ लाख रुपैयाँ लिएको आरोप उनीमाथि थियो।
तर उनले आफ्नो संलग्नता इन्कार गर्दै आएका छन्। उनले नै विभिन्न खातामा रकम पठाएको प्रमाण पनि प्रहरीले प्राप्त गरेको छ।
यस्तै उनले आफैं सरकारी कर्मचारी हुँ भनेर सरकारी पोशाकमा कार्ड लगाएर हज कमिटीका अध्यक्ष शमशेर मियाँले चढ्ने गरेको सरकारी गाडीको समेत दुरूपयोग गरेका थिए।
बा १ झ १५८१ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो। उक्त गाडीको वास्तविक नम्बर भने बा १ ञ १५८१ थियो। तर पछि इम्बोस्ड नम्बर बिएबी १४०५ राखिएको थियो।
उक्त गाडी लिएर उनी चितवन सौराहामा रहेको भिजन सफारी रिसोर्टमा दुई दिन बसेर पीडितहरूको फोटो खिच्ने, बायोमेट्रक गर्ने काम गरेका थिए।
त्यसरी उनले दुई वटा प्लास्टिकका बोरामा राखिएको रकम सरकारी गाडी चढेर काठमाडौं आएको अनुसन्धानबाट देखिएको थियो।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा बुझाएको थियो। जसमध्ये प्रहरीले १९ जनालाई पक्राउ गरिसकेको छ।
काठमाडौं जिल्ला अदालतले १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि दुई जना टंक गुरूङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाडिएको थियो।
उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो।