बचतकर्ताहरूको बचत रकम अपचलन गरेपछि तीन महिनादेखि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले भाडामा लिएको भवन प्रहरीको रोहबरमा घरधनीले खाली गराएका छन्।
२०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिई भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै बुटवलमा पनि २०७८ सालदेखि शाखा कार्यालयमार्फत् सयौं बचतकर्ताहरूबाट बचत रकम संकलन गर्दै आएको थियो।
साथै बुटवल उपमहानगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र लिएर बुटवल १० योगीकुटीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको थियो। बचत रकम अपचलन गरी विगत चार महिनादेखि सहकारी संस्थाको कार्यालय र डिपार्टमेन्टल स्टोर्स पनि बन्द रहेको थियो।
शुक्रबार सहकारी संस्था र डिपार्टमेन्टल स्टोर्सका लागि भाडामा लिइएको घरधनी ईश्वर मल्लले प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको रोहवरमा डिपार्टमेन्टल स्टोर्स खाली गराएका हुन्।
यसअघि सहकारी संकटमा परी बन्द गरिएपछि संचालकहरूलाई पटकपटक घर खाली गरिदिन आग्रह गरे पनि खाली नगराएपछि बाध्य भएर प्रहरी, जनप्रतिनिधि, सहकारीका कर्मचारी र पत्रकारहरूको रोहबरमा खाली गराउन लागेको मल्लले बताए।
मल्लका अनुसार उक्त सहकारी र डिपार्टमेन्टल स्टोर्सले घर भाडावापत ५० लाखभन्दा बढी रकम बुझाउन बाँकी छ।
पुरानो भाडा रकम समेत उठाउन नसकिएको अवस्था सहकारी र डिपार्टमेन्टल स्टोर्स समेत बन्द भएपछि घर खाली गराउन लागिएको मल्लले बताए।
बुटवल बेलहिया ६ लेन सडक किनारको योगीकुटी चोकमै रहेको उक्त भवन दुई वर्ष पहिले मात्र मल्ले व्यावसायिक रूपमा निर्माण गरेका थिए।
सहकारीको भवन खाली गराउने जानकारी पाएपछि शुक्रबार सहकारीका बचतकर्ताहरू समेत कार्यालयमा उपस्थित भएका थिए।
शिवशिखर सहकारीका संचालकहरूले देशभरबाट १४ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरी अपचलन गरेको आरोप लागेको छ। तर, बुटवलमा कति बचतकर्ताहरूबाट कति रकम संकलन गरिएको छ भन्ने यकिन छैन।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले हालसम्म १५/१६ जना बचतकर्ताले सहकारीबाट ठगिएको भन्दै उपमहानगरपालिकामा निवेदन दिएको भए पनि सहकारीबाट कति बचतकर्ता ठगिएका छन् भन्ने यकिन नभएको बताए।
शिवशिखर सहकारी संघमा दर्ता भएको र रूपन्देहीमा व्यवसाय सञ्चालन गर्ने अनुमति लिए पनि बचत संकलनको कुनै अनुमति नलिएकोले यत्ति नै सदस्यहरू ठगिएका छन् भन्ने यकिन नभएको उनले बताए।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारी संघमा दर्ता भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए।
सहकारीको रकम अपचलन गरी फरार भएका सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित केही संचालकहरू पक्राउ परेका छन्।