१६ वर्षीया नाबालिगको बलात्कारको घटनापछि प्रहरीले ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई जना सञ्चालकविरूद्ध पनि पक्राउ अनुमति लिएको छ।
जेठ ३१ गते ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरेको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।
नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो।
कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन्।
प्रहरीले उनीहरूविरूद्ध केही दिनअगाडि नै पक्राउ पुर्जी लिए पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
उनीहरू दुबै जनाले फोन अफ गरेर बसेका छन्। प्रहरीले उनीहरूलाई खोजिरहेको छ।
प्रहरी स्रोतका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो।
‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन्। घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न। पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ। तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्याएको देखिन्छ।’
घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन्।
सुदन फाइबरको एक कम्पनी चलाउँछन्। उनको बागडोलस्थित अफिसमा पुर्याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
बलात्कार भएको खबर पाएपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको थियो।
परिसरले यस घटनामा जबरजस्ती करणीमा अनुसन्धान गरिरहेको छ।
बलात्कारको घटनामा एलओडीका सञ्चालकद्वय प्रत्यक्ष रूपमा भने जोडिएको देखिन्न। अनुसन्धानमा समेत प्रभाव पर्न सक्ने भएपछि प्रहरीले उनीहरूलाई पनि कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो।
‘आरोपित व्यक्तिले पीडित नाबालिग नभएको दाबी गरिरहेका छन्। क्लबमा नाबालिगहरूले प्रवेश नै पाउँदैनन्। त्यसैले उनी नाबालिग हैनन् भनेर दाबी गरेका हुन्,’ स्रोतले भन्यो, ‘क्लबमा नाबालिगलाई प्रवेश दिन पाइँदैन। तर क्लबले पनि नाबालिगलाई प्रवेश दिएर कसुर गरेको देखियो।’
प्रहरीले ती किशोरी क्लबमा प्रवेश गरेको रातको सिसिटिभी फुटेज पनि निकालेको छ। जसबाट पीडित र अर्की किशोरीको परिचयपत्र नहेरेको देखिएको छ। प्रहरीका अनुसार कुनै पनि क्लबमा प्रवेश गराउँदा परिचय पत्र हेर्नुपर्छ। बालिग हो कि हैन भन्ने यकिन गराएर मात्रै प्रवेश गराउनुपर्ने हुन्छ।
परिसरले सञ्चालकद्वयविरूद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार कसुरमा पक्राउ अनुमति लिएको हो।
उक्त ऐनमा बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने कार्यलाई बालबालिकाविरूद्धको हिंसा गरेको मानिने भनिएको छ।
यस ऐनको दफा ६६ को उपदफा २ को (ख) अनुसार कसुर गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने भनिएको छ।
यसरी क्लबमा नाबालिगलाई प्रवेश गराउने गल्ती त्यहाँ कर्मचारीले मात्र गरेको भन्न नमिल्ने प्रहरी बताउँछ।
‘कुनै क्लबको जिम्मेवारी कसले लिने भन्ने हुन्छ। आफ्नो क्लब कसरी सञ्चालन भइरहेको छ, कसरी सञ्चालन गर्ने भन्ने जिम्मा सञ्चालककै हुन्छ। सञ्चालकले जसरी सञ्चालन गर भन्यो त्यसरी नै सञ्चालन हुने त हो,’ प्रहरी स्रोतले भन्यो, ‘कसलाई प्रवेश गराउने भन्ने पनि उसको जिम्मेवारीमा पर्छ। गार्डले छिरायो मैले के गर्नू भन्न पाइन्न। कस्तो गार्ड राख्ने भन्ने पनि उसैको जिम्मेवारी हो।’