काठमाडौं महानगरपालिकाले गत बुधबारदेखि बसन्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएता पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
विश्व सम्पदा क्षेत्र बसन्तपुरमा २४ सै घण्टा सवारी साधन निषेध भनेर भनेता पनि विभिन्न सरोकारवाला निकायले सहयोग नगर्दा यो नियम शतप्रतिशत लागू गर्न नसकिएको सम्पदा अभियन्ता एवं महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले जानकारी दिए।
उनका अनुसार बसन्तपुरस्थित नेपाली सेना, बैंक, हनुमानढोका हेरचाह अड्डा र त्यहाँका स्थानीयहरूले सहयोग गरेका छैनन्।
'हनुमानढोकाजस्तो विश्व सम्पदा क्षेत्रलाई संरक्षण गर्न लाग्नुपर्ने सरोकारवाला निकायले नै सहयोग गरेनन्,' उनले भने, 'हामीले शून्य सहनशीलता नीति कार्यान्वयन गर्न लागिपर्दा सवारी साधन भित्र अझै छिरिरहेका छन्।'
यस्तै, हनुमानढोकाको मार्ग प्रयोग नगरी वैकल्पिक बाटो रोजेर यस अभियानलाई साकार पार्न कायस्थले आग्रह गरे।
गत बुधबार कायस्थले कुनै पनि गाडी लैजान पाइँदैन भन्दै 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएका थिएनन्।
'ठूला सवारी साधन छिर्दा सम्पदालाई असर पुग्छ। त्यसका साथै सम्पदा क्षेत्र नै कुरूप देखिन्छ,' कायस्थले भने, 'जथाभावी सवारी साधन छिराउँदा र पार्किङ गर्दा यहाँ आउने पर्यटकलाई पनि नराम्रो लाग्छ। त्यसैले हामीले सवारी साधन प्रवेशमा रोक लगाएका हौं।'
हनुमाढोका क्षेत्रमा मात्र नभई वरपर पार्किङ गरिएका सवारी साधन समेत महानगरले हटाइरहेको छ।
'विश्व सम्पदा सबैका लागि, विश्व सम्पदा सधैंका लागि' भन्ने नारासहित आफूहरू अगाडि बढेको कायस्थ बताउँछन्।
सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको हनुमानढोका दरबार परिसरमा रासन-पानी, सामान लैजानका लागि सवारी साधनलाई सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको थियो।
तस्बिरहरूः