अर्काका छोराछोरीलाई आफ्नै छोराछोरी हुन् भनेर नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस लिएको खुलेको छ।
राजकुमार कसौधनका छोराछोरीलाई आफ्नै छोराछोरी भनेर रमेश कसौधनले वर्षौदेखिको प्रयासपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको हो।
दाजु राजकुमार कसौधन रोजगारीको शिलशिलामा विदेश भएको समयमा भाउजूसँग अनैतिक सम्बन्ध राखी विवाह गरेका रमेश कसौधनतर्फ कुनै सन्तान नभएपछि २०६७ सालमा राजकुमारकै छोराछोरीलाई आफ्नै छोराछोरी हुन् भनी जन्मदर्ता गराएका थिए।
रमेशले आफ्ना छोराछोरी हुन् भनेका मनोज कशौधन, सन्ध्या कसौधन र सरिता कसौधन आफ्ना छोराछोरी भएको र आफू रोजगारीको शिलशिलामा बाहिर रहेको समयमा रमेशले श्रीमतीसँगै लिएर गएको उनका दाजु राजकुमारले बताउँदै आएका छन्।
इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले रमेश कसौधनले आफ्ना छोरा र छोरी हुन् भनेर ल्याएका सरिता, मनोज र सन्ध्यालाई राजकुमारले पनि आफ्ना छोराछोरी भएको दाबी गरेर बयान दिएको बताए।
‘हामीले त्यसै समातेका होइनौं यथेष्ट प्रमाण देखिएपछि उनीहरूमाथि छानबिन गरेका हौं,’ उनले भने।
दाजु विदेश भएको बेला प्रेम सम्बन्ध बनाएर विवाह गरेका रमेशले २०६७ साल जेठ १० गते भारत घर भएकी सीता बानियाँसँग विवाह गरेको भन्दै तत्कालीन बुटवल नगरपालिकाको वडा नं २ को कार्यालयमा विवाह दर्ता गरी वैवाहिक अंगीकृत नागरिकता बनाएका थिए।
बावुको ठेगाना रूपन्देही सौ फर्साटिकर उल्लेख गरिएको सीता बानियासँगको विवाह दर्ता प्रमाणपत्रमा बावुको नाम कोदै बानियाँ उल्लेख छ।
तत्कालीन वडा सचिव गुणाखर खनालले दर्ता गरेको उनको विवाह दर्ता प्रमाणपत्रमा बावुको ठेगाना सौ फर्साटिकर उल्लेख गरिएको भए पनि भारतीय बावु आमाकी छोरी सीताले रमेश कसौधनसँग दोस्रो विवाहपछि मात्रै अंगीकृत नागरिकता लिएको पाइएको छ।
२०६७ जेठ १० गते सीता बानियाँसँग विवाह दर्ता गरेको रमेशले २०६७ जेठ ३० गते सीता सँगसँगै ल्याएका राजकुमार कसौधनका छोरा छोरीहरू आफ्नै सन्तान हुन् भनि जन्मदर्ता गरेको र २०७६ साल जेठ ६ गते मात्रै सीता बानियाँको नागरिकता बनाएको अभिलेखबाट देखिन्छ।
सीता बानियाँको नागरिकता बनेसँगै रमेशले आफ्ना छोराछोरी भनी जन्मदर्ता गराएका रमेशले छोरा मनोज र छोरीहरू सन्ध्या र सरिताको नागरिकता बनाउनका लागि भन्दै यसअघि पनि पटकपटक वडा कार्यालयमा जाने गरेको वडाका कर्मचारीहरू बताउँछन्।
‘रमेश कसौधन पटक पटक छोरा छोरीको नागरिकता बनाउन छ भन्दै आएका थिए तर, तत्कालीन वडा अध्यक्षलाई सबै थाहा भएका कारण सिफारिस दिन नमानेपछि रोकिएको थियो। यसपटक सिफारिस लगेछन्,’ नगरपालिकाका एक कर्मचारीले भने।
रमेशले पटक पटक विभिन्न सम्पर्क व्यक्तिहरूको प्रयोग गरी छोराछोरीको नागरिकताका बनाइदिए १ लाख ५० हजारसम्मको प्रस्ताव लिएर आएको तर अधिकृतहरूले नमानेको इलाका प्रशासन कार्यालयका एक कर्मचारीले बताए।
‘रमेशले कार्यालय प्रमुख फेरिनासाथ नागरिकता बनाउन सहयोग गरिदिन पर्यो भन्दै आउँथे यसपटक वडाबाटै सिफारिस लिएर आएछन्,’ ती कर्मचारीले भने।
गत शुक्रबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवल पुगेका रमेश र उनकी पत्नी सीतासहित उनका छोराछोरी दाबी गरेका ३ जनालाई इलाका प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
वडा अध्यक्ष समेत जानकार थिए
स्थानीयका अनुसार पछिल्लो समय बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा बस्दै आएका रमेशका मनोज, सन्ध्या र सरिता छोराछोरी होइनन् र तीमध्ये जेठी छोरी सरिताको विवाह भैसकेको समेत वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई जानकारी थियो।
बुटवलको वडा नं १ भूगोलका हिसाबले त्यति ठूलो छैन। रमेश पनि त्यही जन्मे हुर्केका हुन्, वडाध्यक्ष समेत त्यही जन्मे हुर्केका मान्छे हुन्, २/२ पल्ट वडाध्यक्ष भइसकेका मान्छेले थाहा थिएन भन्न मिल्ने विषय नै होइन यसमा मिलोमतो छ,’ एक स्थानीयले भने।
तर वडाध्यक्ष नरेन्द्र बस्नेतले आफूले विवाह दर्ता, जन्मदर्ता र अन्य प्रमाण पुग्ने कागजात हेरेर नागरिकताका लागि सिफारिस गरेको बताउँदै आएका छन्।
‘मैले कागजातका आधारमा सिफारिस दिएको हुँ। २०६७ सालमै जन्मदर्ता भएको रहेछ त्यो ल्याएपछि सिफारिस दिएँ, वडाध्यक्षले सबैलाई चिनिँदैन साथीहरूले हो भन्नुभयो मैले सिफारिस दिएँ,’ बस्नेतले भने।
बुटवल उपमहानगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष महेन्द्र लिगलले रमेश कसौधन पहिलेदेखि नै छोराछोरीको नागरिकता बनाउने प्रस्ताव लिएर आएका थिए। मैले तिम्रा छोराछोरी नै होइनन् मैले कसरी सिफारिस दिऊँ भनेर फर्काएको बताए।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले झूटा विवरण पेश गर्ने बावु आमासँगै गरेर नागरिकता लिन प्रयास गर्ने ३ जना र जन्मदर्ता गर्ने र नागरिकताका लागि सिफारिस गर्नेहरूलाई समेत कानुनी दायरामा ल्याउने गरी अनुसन्धान गर्न निर्देशन दिएको बताए।
‘जन्म दर्ता गर्ने कर्मचारी होस् वा जनप्रतिनिधि जो सुकैले गरेको भए पनि अनुसन्धान हुन्छ प्रमाणले संलग्न भएको भेटिए सबैलाई कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
यस विषयमा अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलले झूटा विवरण पेश गर्ने बावु आमा र नागरिकता बनाउन सिफारिस लिने ३ जना गरी ५ जनालाई मात्रै नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका ५ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति लिन गएको इलाका प्रहरी कार्यालयलाई भने रूपन्देही जिल्ला अदालतले अनुमति दिएन।
इलाका प्रहरी कार्यालयका अनुसार अदालतले उनीहरूलाई बाहिरै राखेर अनुसन्धान गर्नु भन्ने आदेश गरेपछि उनीहरू आइतबार नै प्रहरी हिरासतबाट मुक्त भएका छन्।