हरेक दिन बेलुकी जनकपुरधामस्थित गंगासागर डिलको चारैतर्फ रमाउँदै फोटो खिच्नेको भिड लाग्छ। नेपाल तथा भारतका विभिन्न ठाउँबाट आएका कोही पर्यटक परिवारसहित खेलिरहेका हुन्छन्। कोही बोटिङमा रमाउँछन्।
यो भिडमै अचेल देखिन्छिन् दस वर्षे चाँदनी गुप्ता। उनको भने यहाँ आउनुको उद्देश्य बेग्लै छ।
गंगासागरको उत्तर-पश्चिम डिलमा उनी आउँछिन्। उनका साथमा हुन्छ- दुइटा पुराना क्रेट, सल, किताब, कापी, ज्यामिति बक्स र एउटा झोला।
आडैको बरन्डामा उनी दुइटा क्रेटको टेबलजस्तो बनाउँछिन्। त्यहाँमाथि सल ओछ्याउँछिन्। झोलामा ल्याएको मुरही र सोयाबिन (न्युटेला) का साना बीस/पच्चीस वटा प्याकेट निकाल्छिन्। किताबकापी र पुरानो ज्यामिति बक्स पनि फिँजाउँछिन्। अनि ग्राहक कुर्दै उनी आफ्नो गृहकार्य गर्न थाल्छिन्।
चाँदनी चार कक्षामा पढ्दैछिन्।
'होमवर्क धेरै हुन्छ। काम पनि गर्नुपर्छ। अनि यहीँ सामान बेच्दै गर्छु,' उनले भनिन्।
उनी गृहकार्यमा यति डुब्छिन्, वरिपरिको कुनै रमाइलो दृष्यले उनको ध्यान भड्काउँदैन। पढ्न थालेपछि उनको घाँटीनिर भएको घाउको दुखाइमा समेत ध्यान दिन्नन्।
'घरमा चामल सकिएको छ। खाना छैन। आमा बिरामी हुनुहुन्छ। त्यसैले स्कुल छुट्टी भएलगत्तै घर आएर केही होमवर्क गरेँ। दुई बजेपछि मुरही बेच्न आएँ। गंगा आरती हुन्जेल बेच्छु पनि पढ्छु पनि,' उनले भनिन्।
चाँदनी दस/दस रूपैयाँ प्याकेटमा मुरही र सोयाबिन बेच्छिन्। दिनमा १५/२० वटा बिक्छ। त्यसले उनी र उनकी दिदी दुबैको कापीकलम र पढाइमै चाहिने सान्तिनो सामान किन्ने पैसा जोहो हुन्छ।
'बुवाको कमाइले मात्रै पढ्न पुग्दैन। होमवर्क यतिधेरै हुन्छ कि कापीकलम तुरून्तै सकिन्छ। यो बेचेर मैले पढाइका सामान किन्छु। बचेको पैसा ममीलाई दबाईका लागि दिन्छु,' उनले भनिन्।
कानुनले बालश्रम बन्देज गरे पनि चाँदनी आफ्नो घरको परिस्थितिले काम गर्न बाध्य छिन्।
उनको डाक्टर बन्ने सपना छ। यसकै लागि पढाइमा मेहनत गरिरहेको उनी बताउँछिन्।
'अहिलेदेखि राम्ररी पढ्यो भने छात्रवृत्तिमा बिना पैसाकै डाक्टरी पढ्न पाइन्छ। सरहरूले होस्टलमा बसेको पैसा पनि लाग्दैन भन्नुभएको छ। म जसरी पनि पढेर डाक्टर बन्छु,' उनी भन्छिन्।
उनकी आमाको पाठेघरमा समस्या छ। बुवालाई फोक्सो सम्बन्धी रोग छ। दुवैको शल्यक्रिया गरिएको छ। कैयौं पटक मुश्किल अवस्थामा पुग्दा पनि डाक्टरले बचाइदिए भन्ने विश्वास छ चाँदनीमा। त्यसै बेलादेखि उनलाई पनि डाक्टर बनेर मान्छेको ज्यान बचाउन मन लागेको हो।
परिवारलाई ऋणको बोझले खान-लाउन हम्मे परिरहे पनि घरका दुई दिदीबहिनी निजी स्कुलमा पढ्छन्। चाँदनीकी आमा सञ्जु गुप्ताले आफू बाँचुन्जेल जसरी पनि दुवै छोरीलाई राम्रो शिक्षा र निजीमै पढाउने अड्डी कसेकी छन्।
'सरकारी स्कुलमा न पढाइ राम्रो छ, न बच्चाको हेरचाह। टोलका कसैले छोराछोरीलाई सरकारीमा पढाउँदैनन्। आफू नपढेर पेट पाल्न गाह्रो भएको छ, भड्किरहेकी छु। मेरा बच्चाको यो अवस्था नहोस्,' सञ्जुले भनिन्, 'भोकै भएर भए पनि बच्चाको भविष्य बनोस् भन्ने चाहेकी छु।'
आर्थिक हैसियत दयनीय देखेर छोरीहरू पढ्ने स्कुलले शुल्कमा केही छुट गरिदिएको उनले सुनाइन्। छोरीको सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनी बताउँछिन्।
उनलाई पनि विश्वास छ— गंगामाईको महिमाले मेरी छोरी एकदिन जरूर डाक्टर बन्छे!
छोरी पढाउन, औषधि उपचार र ऋण तिर्न सञ्जु र उनका श्रीमान गणेश आफू बिरामी भए पनि संघर्ष गरिरहेका छन्।
गणेश अटोरिक्सा चलाउँछन्। फोक्सो सम्बन्धी रोगको उपचार गराइरहेका उनलाई डाक्टरले अटोरिक्सा नचलाउन भनेका छन्। तर गर्जो टार्न अरू उपाय छैन। उनी हरेक दिन बिहान चार बजे रिक्सा हुइँक्याउँदै काममा निस्किन्छन्। राति ८ बजेपछि मात्रै घर फर्किन्छन्।
उनको कमाइले आफ्नो र श्रीमतीको उपचार, घर खर्च जोरजाम हुन्छ। छोरीहरूको पढाइका लागि सधैं ऋण लिइरहनुपर्छ। एक वर्षदेखिको शुल्क नतिर्दा स्कुलले पहिलो त्रैमासिक परीक्षाका लागि प्रवेशपत्र नदिएको सञ्जुले बताइन्। ऋण लिएर छोरीहरूको किताबकापी किने, अझै पुगेको छैन।
चाँदनीकी दिदी पनि अहिले घरको काम र आमाको स्याहारमा व्यस्त छिन्। अरू बेला सञ्जु गंगासागर छेवैको शिव मन्दिरअगाडि पूजाका सामग्री बेच्छिन्। दिनमा दुई/चार सय रूपैयाँको बिक्री हुन्छ।
'स्कुल र अस्पतालमा पैसा तिर्दा तिर्दै थाकिसक्यो,' सञ्जुले भनिन्, 'शुल्क तिर्न नसक्दा दुई वर्ष दुइटै छोरीले पढाइ नै छाड्नुपर्यो। सरकारी स्कुलमा पढेको-नपढेको बराबरै देखेँ। बोर्डिङमा सित्तैमा पढाउँदैनन्। म पनि रोगी भइहालेँ।'
प्रादेशिक अस्पताल जनकपुरमा राम्रो उपचार नपाएपछि भारतको बिहारस्थित दरभंगा अस्पतालमा उपचार गराइरहेको उनी बताउँछिन्। श्रीमानको उपचारका लागि पैसा नपुग्दा उनले चन्दा पनि संकलन गरिन्।
जनकपुरका केही दाताको सहयोगमा गणेश मृत्युको मुखबाट बचेर फर्किएका थिए। अहिले फेरि उनी आफ्नो ज्यानको पर्वाह नगरी परिवार पाल्न र छोरीहरू पढाउन काममा खटिएका छन्।
'छोरा कमाउने उमेरका भइसकेको छ। तर कुलतमा फसेर परिवारको वास्तै राख्दैन,' सञ्जुले भनिन्।