प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित भएका छन्।
पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।
योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको समाचार सेतोपाटीमा प्रकाशित भएको थियो।
योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
योगी २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको समाचार सार्वजनिक भएपछि समितिको बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए।
मन्दिर व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्यतथ्य छानबिन नहुँदासम्म योगीले मन्दिरमा बहन गर्दै आएको जिम्मेवारीबाट हटाउने निर्णय गरेको उल्लेख गरेको छ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको बताए।
यो पनि:
भैरवस्थान मन्दिरका मूल पुजारीबाट महिला दर्शनार्थीहरूमाथि यौन दुर्व्यवहार