उमेरले ३३ वर्ष पुगेका किरणकिशोर सापकोटा राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। नजिकै जानुपरे सामान्य छडी टेक्छन्। टाढा जाँदा स्कुटर चलाउँछन्।
उनको कम्मरमुनिको भाग कमजोर छ।
किरणको यो अवस्था दुई वर्ष उमेर हुँदादेखि नै आएको हो। हिँड्ने उमेर भइसक्दा दुवै खुट्टा चल्न छाडे। आमाबाले अस्पताल लगे, पोलियो भएको थाहा भयो।
सानैदेखि पढाइमा रूचि भएका उनी कक्षामा प्रथम हुन्थे। कक्षा पाँचसम्म निजी स्कुल पढे। माओवादी सशस्त्र युद्धका समयमा स्कुल बन्द भयो। त्यसपछि सरकारी स्कुलमै पढे। पोखराको पृथ्वीनारायण क्याम्पसबाट अर्थशास्त्रमा स्नातक गरेका किरणले मध्यपश्चिम विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातकोत्तर गरेका छन्।
पछिल्ला नौ वर्षयता उनी फेरि स्कुलहरूमा सक्रिय छन्। उनी 'मेरो हरित र सफा विद्यालय' अभियान चलाइरहेका छन्। यो अभियान उनले व्यक्तिगत रूपमा चलाएका हुन्।
'म स्कुलहरूमा पुगेर खाली आँगनमा बिरूवा लगाउँछु। ती बिरूवाको संरक्षण गर्छु,' उनले किरणले भने।
यही काममा निरन्तर लागि परेका उनी स्कुले बालबालिकालाई बिरूवाले दिने फाइदा, वातावरणको महत्व, पर्यावरण सफा राख्नेबारे शिक्षा पनि दिन्छन्।
उनलाई पहिल्यैदेखि वातावरणमा चासो थियो। २०७१ सालमा पोखरामा स्नातक पढ्दै गर्दा फेवातालको अतिक्रमण जोगाउन खबरदारी गरेका थिए।
'फेवातालको त्यो अतिक्रमण भएको मलाई चित्त बुझेन। मैले पर्चा, पम्प्लेट बनाएर फेवाताल हाम्रो सम्पदा हो, यसको अतिक्रमण रोकौं भनेर सानो अभियान चलाएँ,' उनले भने, 'वातावरणबारे अहिले पनि सक्रिय भएर काम गर्न मन लाग्छ।'
पोखराबाट सुर्खेत फर्किएपछि उनी एकपटक वीरेन्द्रनगरको एउटा स्कुलमा पुगेका थिए। त्यति बेला उनी नेपाल रेडक्रस सोसाइटीमा आबद्ध थिए। रेडक्रसले आयोजना गरेको दन्त शिविरमा सहभागी हुन त्यो विद्यालयमा जाँदा देखिएको दृश्यले उनले 'हरित विद्यालय' अभियान चलाउन आवश्यक ठानेका हुन्।
विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्। स्कुल हाताभित्रको वातावरण सुख्खा थियो। उनले त्यही बेला आफूले विश्वविद्यालयबाट पाएको छात्रवृत्तिबाट केही रकम ती छात्रालाई सहयोग गर्ने घोषणा गरे। र, त्यहीँबाट हरित तथा सफा विद्यालय अभियान चलाउने सोच पनि बनाए।
'त्यो दृश्यले मलाई पोल्यो। २०३० सालमा स्थापना भएको विद्यालयमा बिरूवा देखिएन,' किरणले भने, 'त्यति बेला मलाई राज्यले शैक्षिक पूर्वाधारतर्फ लगानी गरे पनि समुदाय र वातावरणप्रति उत्तरदायित्व नभएको महसुस गरायो।'
अभियान सुरू गरेयता उनले हालसम्म ७० वटा विद्यालय पुगेर बिरूवा लगाएका छन्। यही सिलसिलामा सुर्खेतबाहेक जाजरकोट, रूकुम पश्चिम, सल्यान, दैलेख, कैलाली जिल्लाका विद्यालय पनि पुगिसके। आफूलाई ओहोरदोहोर गर्न असहज भए पनि उनी अभियान चलाउन र त्यसको 'फ्लोअप' गर्न पुग्छन्।
'विद्यालय पुगेर त्यहाँको खाली भागमा विभिन्न प्रजातिका बिरूवा रोप्छु। अहिलेसम्म विभिन्न प्रजातिका पाँच हजार बिरूवा रोपिसकेँ। त्यसको फाइदाबारे बालबालिकालाई जानकारी पनि गराउँछु,' उनले भने, 'संरक्षणको जिम्मा पनि विद्यार्थीलाई नै दिन्छु।'
किरणका अनुसार बिरूवा संरक्षण गर्न विद्यार्थीको सहभागितामा 'ग्रीन क्लब' गठन गरिन्छ। यसमा शिक्षकहरू संरक्षक हुन्छन्। अबदेखि अभिभावकलाई पनि क्लबमा संलग्न गराउने योजना उनको छ।
बढ्दो जलवायु परिवर्तनको समस्याबारे पढ्दै गरेका बालबालिकालाई विद्यालयबाटै सिकाउन सकियो भने भोलि उनीहरूले यसमा काम गर्ने उनको बुझाइ छ।
अभियान क्रममा हुने खर्चको जोहो पनि उनी आफैंले गर्दै आएका छन्। त्यो खर्च आफूले कमाएको भन्दा पनि आमाले सहकारी संस्थामा जम्मा गरिदिएको रकमबाट बेहोरिरहेको उनले बताए।
किरण २८ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो। मृत्यु हुनुअघि आमाले किरणलाई खर्च टार्न सहज होस् भनेर स्थानीय सहकारी संस्थामा नौ लाख रूपैयाँ जम्मा गरिदिएकी थिइन्। त्यही पैसाबाट अहिले बिरूवा, जाली, मल किनेर स्कुलहरूमा बगैंचा बनाउने काम गरिरहेको उनले बताए।
सुरूसुरूमा यो अभियान चलाउँदा उनलाई विद्यालयहरूले सहयोग गरेका थिएनन्। त्यसैले आमाले आफ्नो भविष्यका लागि जम्मा गरिदिएको रकम चलाएका हुन्।
'आमाले मेरो भविष्यका लागि राखिदिएको पैसा फजुल खर्च गरेँ जस्तो पनि महसुस भएको थियो,' किरणले भने, 'अहिले विद्यालयमा बिरूवा हुर्केको देख्दा खुसी लागेको छ।'
उनले सुर्खेत र आसपासका जिल्लाका सय वटा स्कुलमा यो अभियान पुर्याएर कर्णालीका बाँकी जिल्लामा पुग्ने योजना बनाएका छन्। प्रदेशका दसवटै जिल्लामा अभियान पुर्याउने उनको लक्ष्य हो।
यही अभियानका क्रममा उनले वीरेन्द्रनगरका दुइवटा जंगलमा फलफूल बगैंचा पनि बनाएका छन्। त्यसको संरक्षण भने सोचेजस्तो हुन नसकेको उनले बताए।
सामुदायिक विद्यालयहरूमा पनि संरचना र जनशक्ति नहुँदा बिरूवा संरक्षण गर्न समस्या भएको उनले बताए।
'युवाहरूले राति वा बिदाको समयमा स्कुललाई सार्वजनिक संरचनाका रूपमा प्रयोग गर्ने अवस्था छ। उनीहरूले बिरूवा उखेलेर फालेको पनि देखियो,' किरणले भने, 'एउटा स्कुलमा त मैले १४ पटक धूपीको बिरूवा रोपेँ। राति मानिसले उखलेर फालिदिने, त्यहाँका शिक्षकले मलाई खबर गर्ने र म गएर फेरि रोप्ने चलिरह्यो।'
बिरूवा रोपेर मात्र हुँदैन, त्यसको संरक्षण महत्वपूर्ण भएकाले हुर्काउने जिम्मा पनि लिनुपर्ने किरण बताउँछन्।
पछिल्लो समय उनको यो अभियानमा शिक्षकहरूले चासो दिन थालेका छन्।
'प्रधानाध्यापकहरूले पनि मलाई अहिले बिरूवा सुक्यो, अर्को जातको बिरूवा लगाउनुपर्यो भनेर फोन गर्नुहुन्छ,' किरणले भने।
वीरेन्द्रनगर–२ मा रहेको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक टेकनारायण चालिसेले किरणको अभियानले बालबालिकाकालाई ज्ञान र स्कुलमा हरियाली दुवैमा सहयोग पुगेको बताए।
'२०७३ सालमा किरणले स्कुलमा बिरूवा लगाउनुभयो। त्यसयता नियमित आइरहनुहुन्छ,' उनले भने, 'विद्यार्थीलाई सिकाउनु पनि हुन्छ। हामीले पनि उहाँको अभियानलाई साथ दिएका छौं।'
किरणका अनुसार अभियान चलाएका स्कुलका विद्यार्थीहरूले आफूलाई भेटे भने 'हरित सर' भन्छन्।
उनका केही साथीहरूले पनि यो अभियानमा चासो दिएर सहयोग गरिरहेका छन्।
अभियानलाई निरन्तरता दिन किरणसामु केही चुनौती पनि छन्। पहिलो चुनौती त बिरूवा संरक्षण गर्न नसक्नु नै हो।
'स्कुलहरूले आफ्नो हाताभित्रको खाली क्षेत्र संरचना बनाउने जग्गाको रूपमा मात्र सोचेका छन्। कुनै ठाउँमा बिरूवा लगायो, त्यहाँ फेरि भवन बनाउने योजना आउँछ र बिरूवा मासिदिन्छन्,' उनले भने, 'ती बिरूवा नमासी खाली ठाउँमा सारेर बनाए हुन्थ्यो नि।'
अहिलेसम्म आमाले जम्मा गरिदिएको पैसाबाट अभियान चलाए पनि सकिएपछि खर्च कसरी जुटाउने भन्ने उनको अर्को पिर हो। किरणले अहिलेसम्म यो अभियानका लागि भनेर कुनै संस्था दर्ता गरेका छैनन्। संस्थामा हुने सहयोगले आफू लोभमा पर्ने चिन्ताले दर्ता नगरेको उनी बताउँछन्। यसका लागि 'लुज फोरम' भने बनाएका छन्।
किरण सडक सुरक्षामा खबरदारी गर्न पनि सक्रिय छन्। २०७३ सालदेखि सडक सुरक्षा अभियान चलाइरहेका उनले सुर्खेतका सडकमा जेब्राक्रसिङका लागि व्यक्तिगत रूपमा खबरदारी उनैले सुरू गरेका थिए।
बजारका विभिन्न चोकमा सांकेतिक रूपमा समेत जेब्राक्रसिङ बनाएर उनले सम्बन्धित निकायलाई खबरदारी गरेका छन्। २०७३ सालमा वीरेन्द्रचोकमा उनले बनाएको जेब्राक्रसिङ मेटिएर अर्को नबनेपछि उनले २०७६ मा सांकेतिक रूपमा फेरि बनाए। त्यहाँ उनले धर्सा तानेर प्रश्नवाचक चिह्न बनाएका थिए।
सडक सुरक्षामा जोडिनुमा एउटा घटना किरणसँग जोडिएको छ।
उनी प्लस-टु पढ्न काठमाडौं गएका थिए। एक दिन पुतलीसडकमा भएका बेला एउटा बालकले जथाभावी सडक पार गरे। बालकलाई उनकी आमाले समातेर एक थप्पड हानिन्।
त्यसपछि किरणलाई देखाउँदै भनिछन्– जेब्राक्रसिङबाट बाटो नकाट्दा गाडीले हानेर तँ पनि त्यो मान्छे जस्तै होलास्।
त्यो सुनेर किरणको मन पोल्यो।
'म त त्यसरी अपांगता भएको थिइनँ, मलाई मनमा पीडा भयो,' उनले भने, 'त्यसपछि मैले जेब्राक्रसिङको बारेमा धेरै सोचेँ। सुरूमा दिल्लीबाट रङ ल्याएर सुर्खेतको सडकमा लाइन बनाएँ, त्यो मेटियो। २०७६ सालमा फेरि वीरेन्द्रचोकमै अर्को लाइन बनाएँ र बीचमा प्रश्नवाचक चिह्न बनाइदिएँ।'
किरण विद्यालयमा जाँदै गरेका र बाटो काट्दै गरेका बालबालिका भेटेपछि रोकेर सडक कसरी पार गर्ने भन्ने बारेमा सिकाउँछन्। विभिन्न निकायमा पुगेर जेब्राक्रसिङ बनाउन खबरदारी गर्छन्।
उनी खेलकुदमा समेत सक्रिय छन्। केही वर्षअघि राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको पारा पावरलिफ्टिङ प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए।