वर्षायाम लागेसँगै किसानहरूलाई खेत खन्न र धान रोप्नका लागि चटारो थपिएको छ। यसै पनि असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रूपमा लिइन्छ।
देशको उच्च पहाडी भेगमा भने यतिबेला कोदाे रोप्ने बेला भएको छ। अधिकांश ठाउँमा असारमा धान अर्थात् खेत रोपीसके पश्चात् पाखाबारीमा कोदो रोप्न थालिन्छ। तर यतिबेला उत्तरी गोरखाको बारपाकका स्थानीयलाई भने कोदो रोप्न भ्याइनभ्याइ छ।
बारपाक गाउँ वरपरको बारीमा भने मकै भर्खर लहलह हुँदैछ। अर्को पाखामा भने कोदो रोप्न मानिसहरू बारीभरि देखिन्छन्। यहाँको मौसम चिसो भएकाले खेती हुर्कन, फल्न र पाक्न धेरै समय लाग्छ। त्यसैले वर्षमा एक कमाइ मात्रै लगाइन्छ।
अझ बारपाकमा त आलोपालो गरेर मकै, कोदो लगाइन्छ।
यसपटक कोदो रोपेको ठाउँमा अर्को पटक मकै रोप्ने र अहिले मकै रोपेको ठाउँमा अर्को पटक कोदो मात्र रोप्ने गरेको स्थानीयले बताए।
बारपाक सुलिकोट गाउँपालिकाको १ र २ वडाले समेटिएको यो ऐतिहासिक पर्यटकीय गाउँको पछिल्लो पाखामा पुग्दा पाखैभरि कोदो रोप्ने खेतालाहरूले बारीहरू रहरलाग्दो देखिन्छ। छिनछिनमै कुहिरो ओहोरदोहोर गरिरहने यहाँको मौसम र मानिस उस्तै रमाइला छन्।
गाउँ पछिल्लोतिर रहेको बारी पुग्दा कोही खाजा खाँदै थिए भने कोही बिउ उखेल्दै थिए। कोही खन्दै जिलाउँदै थिए भने कोही रोप्दै थिए।
क्यामेरा देख्दा कोही लजाउँथे भने कोही मुसुक्क हाँसीदिन्थे। कृषक र लाहुरेकाे मिस्रित बसाेबास रहेको यो गाउँ धेरै जस्तो समय अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ।
२०७२ को महाभूकम्पको केन्द्रविन्दु बरपाक अझै तंग्रिने क्रममै छ। यहाँको असारे कोदो रोपाइँको केही रमाइलो तस्बिरहरू हेरौं :