त्यति बेला प्रविधिको विकास भएको थिएन। न मान्छे पढेलेखेका थिए। सीप र दक्षता भने मानिसमा भरपुर थियो। त्यही भएकाले उनीहरू नौला प्रयोग गरिरहन्थे। त्यसलाई हाम्रो वरिपरि रहेका कला, सम्पदा, संस्कृतिमा खुला संग्रहालय जसरी हेर्न र अनुभव गर्न सक्छौं।
त्यसैको उदाहरण हो, पाटनमा रहेको नरसिंह मन्दिर।
यो मन्दिरको विशेषता के हो भने, यसमा धेरै प्रकारका इँटा प्रयोग भएका छन्। अहिलेसम्म पहिलो तहमा १०८ प्रकारका भेटिइसके। सबै गर्दा पाँच सयभन्दा बढी प्रकारका भेटिने अनुमान छ।
ती इँटा के–कस्ता छन् र तिनीहरूको विशेषता के हो भनेर बताउनुअघि तपाईंहरूलाई यो मन्दिरको ऐतिहासिक पृष्ठभूमि बताउँदै छौं।
नरसिंहलाई भगवान विष्णुको दस अवतारमध्ये एक मानिन्छ। मल्लकालमा यही नाम भएका ललितपुरका एक शासक (महापात्र) थिए नरसिंह मल्ल।
उनका दुई भाइ पनि थिए, पुरन्दरसिंह र उद्धवसिंह। उनीहरूका बुवा विष्णुसिंहले आफ्नो राजकाजपछि यी तीन छोरालाई ललितपुरमा शासन गर्ने जिम्मेवारी दिएका थिए।
जब नरसिंहको मृत्यु भयो, तब उनका भाइ पुरन्दरसिंह शोकमग्न भए। अनि उनकै नाम जोडेर यो मन्दिर स्थापना गरे। १५७५ साल, नेपाल सम्वत ७१० कार्तिक शुक्ल द्वितीयाका दिन उनले यो मन्दिर निर्माण गराएका थिए।
'पूर्व दिशामा फर्केको यो मन्दिरको अभिलेखमा नरसिंहलाई शिरोमणि, धर्मात्मा, ज्ञानी, विवेकी, राम्रा बुद्धि भएका दानी र इन्द्रीयलाई वशमा राख्ने धैर्यशाली राजाका रूपमा पुरन्दरसिंहले आफ्ना प्रशस्ति लेख्न लगाएका छन्,' नेपाल भाषाका प्राध्यापक राश जोशीले आफ्नो किताब 'ललितपुर राजदरबार' मा लेखेका छन्, 'ललितपुरमा वैष्णव सम्प्रदायको विकास मध्यकालमा मात्र भएको थियो। वैष्णव सम्प्रदायभित्र पर्ने नरसिंह अवतारलाई ललितपुर राजदरबार परिसरमा विशेष मान्यता दिइएको छ।'
ग्रन्थकुट शैलीमा निर्माण भएको नरसिंह मन्दिरलाई पुरन्दरसिंहले दरबारको सम्मुख स्थापना गर्न लगाएका थिए। जोशीका अनुसार दाजु नरसिंहको नाममा निर्मित यस मन्दिरमा आकर्षक मूर्ति छ। यहाँ करिब तीन फिट अग्लो आठ हाते नरसिंहको मूर्ति छ जो क्रोधित भई मुख बाएको मुद्रामा देखिन्छन्। उनले खड्ग, शंख, चक्र, गदा, बज्र लगायत समाएका छन्। अन्य नरसिंहका मूर्तिजस्तो यहाँ हिरण्यकश्यपलाई चिरेको भने छैन।
यो मन्दिरको भित्ता, टुँडाल, बाहिरी पर्खाल, झ्याल सबै इँटा र ढुंगाले बनेका छन्। मन्दिरमा चारैतिर ढोका छन्। भित्र पस्न भने एउटा ठाउँबाट मात्र मिल्छ। पुरन्दरसिंहले नरसिंहका नाममा बनाएको भए पनि स्थानीयवासीहरू मन्दिरमा नरसिंह नाचको मुख्य मुखुण्डो गाडेको स्थानको रूपमा यो मन्दिरलाई लिन्छन्।
'कात्तिक नाचका बेला नरसिंह नाच नचाउँदा सुरूसुरूमा फिटकिरीको मुखुण्डो लगाउनुपर्छ भनिन्थ्यो। एकपटक मुखुण्डो लगाई नरसिंह नाचेका बेला उनको क्रोधित मुद्रा देखेर दैत्य बनी नाच्ने चित्रकार थरका व्यक्तिको मृत्यु भएछ। त्यसपछि उक्त मुखुण्डो यही मन्दिरमा राख्न लगाएको भनाइ छ,' राश जोशीले आफ्नो किताबमा लेखेका छन्।
जनश्रुतिअनुसार नरसिंहको मुखुण्डो मन्दिरमा राखेपछि गजुर माथिबाट उड्ने चराचुरूंगी समेत मर्न थाले। त्यसपछि भने उक्त मुखुण्डोलाई घोप्टो पारेर राखियो ताकि त्यो रौद्र रूपले नतर्साओस्।
लेखक आर.एम. बेर्नियरले भने आफ्नो किताब 'द टेम्पल्स अफ नेपाल' नरसिंह नाचका बेला प्रयोग हुने मुखुण्डो यो मन्दिरमा नभई गजेन्द्रमोक्ष नारायण मन्दिरमा राख्न लगाएको र त्यसलाई सानो नरसिंह मन्दिर भनिएको उल्लेख गरेका छन्।
'नरसिंह मन्दिरका लागि पुरन्दरसिंहले खलबुँमा पाँच रोपनी, नमीखाबुँमा पाँच रोपनी र वेलखबुँमा चार रोपनी जग्गा आयस्ता राखिदिएका थिए। हाल उक्त खेत कहाँ पर्छ भन्ने यकिनसाथ भन्न सक्ने अवस्था छैन,' राश जोशीले लेखेका छन्, 'पुरन्दरसिंहले जनताको श्रद्धा जित्न एक पाथी चामल, एक करूवा चिउरा र बत्ती बालेर नित्यपूजा गर्नुपर्ने, वर्ष बन्धनका लागि एक कतरा दही, चार कतरा दूध र घिउले अभिषेक गरी एक दाम दक्षिणा पनि दिनुपर्ने रीति चलाएका थिए। हाल यो चलन बन्द भइसक्यो।'
ललितपुरका तीन शासकमध्ये उनै पुरन्दरसिंहले यो मन्दिर निर्माण गराएको केही समयपछि आफूलाई ललितपुरको राजाको रूपमा स्थापित गरेका थिए। पुरन्दरसिंहले शासनको बागडोर सम्हालेर ललितपुरमा स्वतन्त्र राज्य सञ्चालन गरेको कान्तिपुरका तत्कालीन राजा शिवसिंह मल्ललाई भने चित्त बुझेको थिएन। त्यसैले उनले ललितपुरमा आक्रमण गरी पुरन्दरसिंहलाई हराए। त्यसपछि आफ्नो छोरा हरिहरसिंहलाई पाटन राज्य सुम्पिदिए।
हरिहरसिंहको मृत्युपछि उनकी रानी लालमतीले ललितपुरलाई कान्तिपुरबाट स्वतन्त्र बनाइन्। उनले आफ्नो छोरा सिद्धिनरसिंह मल्ललाई पाटनको राजा बनाइन् जो पाटनका एक चर्चित राजा थिए।
नरसिंह मन्दिर र पाटन राज्यको संक्षिप्त इतिहासपछि अब हामी यस मन्दिरमा भएका सयौं प्रकारका इँटाबारे चर्चा गरौं।
कुनै सिधा, कुनै घुमाउरा, कुनै गोला, कुनै अर्धगोलाकार, कुनै चेप्टा, कुनै लाम्चा, कुनै छोटा, कुनै पातला, कुनै बाक्ला!
मन्दिरको कुनै एक कुनामा गहिरिएर हेर्ने हो भने मात्र पनि तपाईंले यस्तो संरचना देख्न सक्नुहुन्छ।
प्रायः मन्दिरमा एकै प्रकारका र एकै आकारका प्राचीन इँटा प्रयोग भएका हुन्छन्। नरसिंहजस्तो ग्रन्थकुट शैलीका मन्दिरमा भने यस्ता थरीथरी इँटा प्रयोग हुने काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का निर्देशक रोहित रञ्जितकार बताउँछन्।
'यो मन्दिरमा प्रयोग भएका विभिन्न प्रकारका इँटाहरूले गर्दा नै काम जटिल भएको हो,' उनले भने, 'मन्दिरमा चाहिने इँटा बनाउन दिँदा एउटै खालको बनाएर हुँदैन। त्यसो गर्दा सबै तहलाई काम लाग्दैन। इँटाको लम्बाई अनि त्यसको कोण मात्र हेर्दा पनि धेरै फरक छ। इँटामा राम्ररी काम गरिएन भने मन्दिरको स्वरूप नै बिग्रिने सम्भावना छ।'
बाहिरबाट झट्ट हेर्दा त्यति क्षति नदेखिए पनि नियालेर हेर्दा मन्दिर जीर्ण छ। विशेषगरी भित्र चारैतिर पिलरका रूपमा राखिएको काठ मक्किएको छ। यहाँ हालसम्म 'स्काफ फोल्डिङ' (संरचना अड्याउन फलामे रडहरू राख्ने काम) मात्र भएको छ।
केभिपिटीको टोलीले मन्दिरको एउटा कुना खोलेर हेरेको थियो। त्यसरी हेर्दा त्यसभित्रको काठ मक्किएर पूरै धूलो भइसकेको रहेछ।
मक्किएको काठ देखाउँदै रञ्जितकारले हामीलाई भने, 'बाहिरबाट हेर्दा त राम्रै देखिन्छ तर भित्र सबै खोक्रो भइसक्यो। यो पिलर झन् घाम पर्ने भागको हो। घाम नपर्ने अरू पिलर त कति बिग्रिएका होलान्!'
त्यसैले यो मन्दिरलाई जीर्णोद्धार गरेर मात्र पुग्दैन। सम्पूर्ण अवस्था हेर्न मन्दिर तलैबाट भत्काएर बनाउनुपर्छ। नबिग्रिएका पुराना केही इँटा प्रयोग गर्न मिल्छ।
मन्दिरका कतिपय भागमा सेतो प्लास्टर गरिएको छ। यो मल्लकालीन संरचनाको विशेषता होइन। यस्तो प्लास्टर राणाकालमा व्यापक हुन्थ्यो। राणाकालमा नरसिंह मन्दिर मात्र होइन, शंखमूलमा रहेको जगतनारायण मन्दिर, काठमाडौंको जगन्नाथ मन्दिर, कुमारी घर लगायतमा पनि सेतो प्लास्टर लगाइएको थियो। ती सबैको प्लास्टर सन् १९७५ तिर निकालिएको रञ्जितकारले बताए। नरसिंह मन्दिरमा रहेको बाँकी प्लास्टर पनि पुनर्निर्माण क्रममा हटाइनेछ।
यो मन्दिरलाई पहिले भत्काउन नपर्ने होला भन्ने सोचेर जीर्णोद्धार गर्न २० लाख रूपैयाँ बजेट अनुमान गरिएको थियो। काम गर्दै जाँदा भत्काउनै पर्ने अवस्था भएकाले लागत बढ्ने देखिएको छ।
'सबैभन्दा धेरै पैसा त इँटामै लाग्छ होला। यो त्यति ठूलो मन्दिर होइन। इँटा भयो भने त मन्दिर बन्न धेरै समय लाग्दैन,' उनले भने, 'सबै सामान भयो भने ६ महिनाभित्रै काम सकिन्छ।'
इँटाको काम सकिन किन ढिला त?
यो मन्दिरको थोरै भाग अध्ययन गर्दा नै १०८ प्रकारका इँटा फेला परेका छन्। बाँकी भागका इँटाको त गन्ति नै सकिएको छैन।
इँटा बनाउन भक्तपुर, थिमीमा रहेको दक्षिणबाराही उद्योगलाई दिइएको छ। रञ्जितकारका अनुसार यो एउटै मात्र उद्योग हो जोसँग मन्दिरमा चाहिने प्राचीन शैलीका इँटा बनाउने दक्षता छ।
दक्षिणबाराही उद्योगका सञ्चालक हिराकाजी महर्जनले इँटाको प्रकार धेरै भएकाले नै बनाउन ढिलो भएको बताए।
'मन्दिरको डिजाइन हेरेर अहिलेसम्म दुई सय प्रकारका इँटा बनाइसक्यौं। तर यस मन्दिरमा करिब पाँच सय प्रकारका इँटा प्रयोग हुन्छ,' उनले भने, 'यस्तो खालको बनाउँछु भनेर मात्र पनि नहुने रहेछ। यसमा तन, मन, धन सबै लगाउनुपर्छ। हामीले जतिसक्दो चाँडै काम सक्ने प्रयास गरिरहेका छौं।'
त्यस्तै यहाँ चाहिने इँटा आकारअनुसार बनाएर मात्र हुँदैन। यहाँका धेरै इँटा बुट्टेदार छन्। विभिन्न कलाकृति कुँदिएको छ। अहिले बनाउने इँटामा पनि यो सबै काम गर्नुपर्छ। एउटै इँटा बनाउन दुई-चार दिनसम्म लाग्छ। यसको लागत पनि बढी पर्छ।
समय र लागत दुवै धेरै पर्ने भएकाले हाल काम सुस्त भइरहेको छ। सुरूआती बजेटले नपुग्ने भएपछि थप रकम कहाँबाट जुटाउने भन्ने निश्चित भइसकेको छैन। केभिपिटीका निर्देशक रञ्जितकारले अब थप बजेटका लागि महानगरपालिकासँग पुनः कुरा गर्ने तयारी रहेको बताए।
बजेट व्यवस्थापन र इँटा बनाउने काम सकिएपछि भने मन्दिर पुनर्निर्माण हुन धेरै समय नलाग्ने उनी बताउँछन्।