आफूले आफूलाई नचिन्नु! म के हुँ भन्ने थाहा नपाउनु! यस्तो पनि हुन्छ र!
धनगढीका कुमार चौधरीलाई यस्तै भएको थियो। यसो हुनु उनका लागि असामान्य घटना थियो।
कुमारले फेसबुक चलाउन थालेको धेरै वर्ष भयो। फेसबुकमा साथी बन्ने–बनाउने क्रममा एक युवक फेला परे। उनीहरूबीच बोलचाल सुरू भयो। दिनदिनै कुरा हुन थाल्यो।
'बोल्दै जाँदा कुन बेला प्रेम बस्यो थाहै भएन। हामीले एकअर्काको भावना बुझ्न थाल्यौं,' कुमारले भने।
प्रेममा परेका अर्का युवक समलिंगी थिए। कुराकानीकै क्रममा कुमारले आफू पनि समलिंगी पुरूष रहेछु भन्ने बुझे। कुमारले ती युवकबाटै आफ्नो लैंगिक तथा यौनिक पहिचान थाहा पाएका हुन्।
कुनै पुरूष शारीरिक, मानसिक र भावनात्मक रूपमा अर्को पुरूषप्रति आकर्षित हुनु नै समलिंगी पुरूष हुनु हो।
स्कुल पढ्दा कुमारलाई अरू केटाभन्दा आफू केही फरक छु भन्ने लाग्थ्यो। केटा मान्छे मनपर्थ्यो तर किन यस्तो भएको हो भन्ने पत्तो थिएन। आफूलाई कुनै रोग लागेको हो कि भन्ने पनि ठान्थे।
'प्रेमको भाव साटासाट हुन थालेपछि उसले मलाई समलिंगी पुरूषका बारेमा बतायो,' कुमारले भने, 'यसपछि म पनि समलिंगी पुरूष हुँ भन्नेमा प्रष्ट भएँ। प्रेममा परेपछि बल्ल मैले आफ्नो वास्तविक पहिचान थाहा पाएको हुँ।'
उनका प्रेमीभन्दा कुमार उमेरले ठूला भए पनि उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा केही थाहा थिएन।
'मेरो साथीका परिवार पढेलेखेका रहेछन्। त्यसैले उनले आफ्नो बारेमा थाहा पाएका रहेछन्। मलाई पनि उनैले धेरै कुरा सिकाए,' कुमारले भने।
एक वर्षसम्म म्यासेज र फोनमा मात्रै कुरा गरिरहेका उनीहरू एकअर्कालाई भेट्न आतुर थिए। तर अवसर परेको थिएन। आफू समलिंगी पुरूष हुँ भन्नेमा पूरा विश्वास भएपछि भने कुमारले प्रेमीलाई जसरी पनि भेट्ने निधो गरे।
उनको चाहना पूरा भयो।
त्यो दिन उनले नयाँ लुगा लगाए। हलुका बासनादार क्रिम लगाए। पर्फ्युम छरे। ऐनामा आफूलाई राम्ररी हेरे। आफूमा थोरै संकोच मिश्रित खुसी देखे।
'धेरै पटक ऐना हेरेँ। मनमा अलिकति डर पनि लागेको थियो। ढुकढुकी बढेको थियो,' त्यो क्षण सम्झिँदै उनले भने, 'भेट कस्तो होला भन्ने लागेको थियो।'
अपराह्न चार बजे उनीहरूको भेट भयो। दुवैले आआफ्ना मनका भावना प्रकट गरे।
'पहिलो भेट यादगार भयो। हामीले पहिलोपटक एकअर्कालाई स्पर्श गर्यौं। माया गर्छौं भन्यौं। सँगै बस्ने कुरा पनि गर्यौं,' कुमारले भने, 'मलाई अझै पनि याद छ, उसले सेतो टिसर्ट, कालो प्यान्ट र कालो जुत्ता लगाएको थियो। उसलाई खुबै सुहाएको थियो।'
डेढ दशकभन्दा अगाडिको कुरा यो हो।
सँगै बस्ने कुरा भए पनि व्यवहारमा उतार्न सहज थिएन। कसरी, कहाँ, के भनेर बस्ने? मानिसहरूले सोधेमा के भन्ने?
यी सबैको जवाफ उनीहरूसँग थिएन। त्यसैले कहिलेकाहीँको भेटमै चित्त बुझाए।
'समाजको डरले हामीले हाम्रो प्रेमको कुरा खुलाउन सकेनौं। हाम्रो सम्बन्धबारे कसैलाई थाहा भएन,' कुमारले भने, 'समाजले केटा–केटा प्रेममा परेको मन पराउँदैनथ्यो।'
कुमारले आफ्ना प्रेमीमार्फत नै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूबारे जानकारी फराकिलो बनाउने अवसर पाए। प्रेमीसँगै एकपटक 'सुदूरपश्चिम समाज' ले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएका थिए। सुदूरपश्चिम समाज नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को शाखाका रूपमा थियो। नीलहीरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको हकअधिकारको लागि काम गर्ने संस्था हो।
उक्त कार्यक्रममा कुमारले आफ्नो लैंगिकताबारे धेरै जानकारी पाए। यसपछि उनी सदूरपश्चिम समाजले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी भए।
'म एक्लो होइन रहेछु, मजस्ता धेरै रहेछन् भन्ने थाहा पाएँ। हिम्मत बढ्यो,' उनले भने।
उमेरले अलि ठूलो भएकाले कुमार आफ्ना प्रेमीको विशेष ख्याल राख्थे।
'मलाई त ऊ बच्चाजस्तो लाग्थ्यो तर धेरै बुद्धिमानी थियो। हामीलाई मनपर्ने धेरै कुरा उस्तै थिए,' उनले भने, 'हाम्रो कपडाको रङ र खानेकुरा एउटै हुन्थ्यो। हामी दुवै जना मासु खुब मन पराउँथ्यौं।'
उनले प्रेमीलाई गरेजस्तै माया कुमारले परिवारमा पाएका थिए। उनी सात जना दिदीपछिका भाइ हुन्। बाबु नेपाली सेनामा थिए। बाबुको सरूवासँगै उनको स्कुल फेरिन्थ्यो। धनगढीमा पाँच कक्षासम्म पढे। महेन्द्रनगरको स्कुलबाट एसएलसी दिए।
सात कक्षा पढ्दाताका हो, उनले आफू अरू केटाभन्दा केही फरक छु भन्ने ठाने। केटासँग बोल्न, खेल्न लजाउँथे, शारीरिक हाउभाउ केटीसँग मिलेजस्तो लाग्थ्यो। केटी साथीहरू धेरै थिए।
आफ्नो स्वभावबारे कसैलाई भन्न मन लागेको थियो। तर कसलाई भन्नु? कसरी भन्नु? के भन्नु?
उनी अलमलमा पर्थे।
'त्यस्तो कुरा भन्दा गाली खाइने हो कि भन्ने लाग्थ्यो। फेरि कसलाई के भन्नु र, म त्यसै अन्यौलमा थिएँ,' उनले भने।
एसएलसीपछि बुबाले उनलाई काठमाडौं पठाए। काठमाडौंमा बुबाका साथीको होटल थियो। कुमारले त्यही होटलमा काम गरे। सरसफाइ गर्नेदेखि ग्राहकका लागि खानेकुरा बनाउनेसम्मको काम थियो।
यसरी नै उनले बाह्र कक्षासम्मको पढाइ पूरा गरे। यही समय फेसबुकमा फेला परेका थिए उनका प्रेमी।
उनीहरूबीच गहिरो प्रेम बढ्दै गएको थियो। पाँच वर्षसम्म एकअर्काका साथी भइरहे। त्यसपछि भने उनीहरूको सम्बन्ध टुट्यो।
'मैले उसैका कारण आफू समलिंगी पुरूष हुँ भन्ने थाहा पाएँ। उसैसँग प्रेम गरेर रमाएँ। तर आज ऊ साथमा छैन,' कुमारले भने, 'ऊसँगको सम्बन्धका कुराहरू याद आइरहन्छ।'
उनीहरूको प्रेम कसैले छुटाइदिएको होइन। कसैले बाधाअवरोध पुर्याएको पनि थिएन।
कुमार भन्छन्, 'एकपटक राम्रो लागेको र मन परेको कुरा सधैं उस्तै रहन्छ भन्ने हुँदो रहेनछ। हामीले सहमतिमै प्रेम सम्बन्ध छुटायौं।'
त्यो प्रेम छुट्नुको खास कारण के थियो, उनले भन्न चाहेनन्।
प्रेम छुटेपछि उनी औधि निराश भए। पीडा भुलाउन आफ्नो ठाउँ छाडेर अन्तै जाने सोचे। सबभन्दा सजिलो, भारतको बाटो रोजे।
'म डिप्रेसनमा गएँ। यसबाट बाहिर निस्किन मलाई लगभग ६ महिना लाग्यो। आफूलाई काममा भुलाएर पीडाबाट मुक्त हुँदै गएँ,' उनले भने।
भारतमा तीन वर्ष बिताएर उनी घर फर्के। यता आएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने अवसर पाए। काम गर्दै जाँदा नीलहीरा समाजको कार्यसमिति सदस्य पनि भए।
अहिले यही समुदायका ज्येष्ठ नागरिकहरूको हक र अधिकारका लागि काम गर्छन् उनी। 'मितिनी नेपाल' नामको एक गैरसरकारी संस्थामा कार्यरत छन्।
कुमारका अनुसार यो समुदायका व्यक्तिहरू वृद्धा अवस्थामा पुगेपछि परिवार र समाजबाट झनै धेरै अपहेलित हुनु परेको छ।
'काम गर्न सक्ने उमेरका त जसोतसो गरेर खाएकै हुन्छन्। वृद्ध अवस्थामा राज्यले हेर्दैन। अहिले म यस्तै ज्येष्ठ नागरिकको अधिकार र स्याहारसुसारका लागि काम गरिरहेको छु,' ४४ वर्षीय कुमारले भने।
आफू र अरू जोकोही समलिंगी पुरूष हुनुलाई सामान्य र प्राकृतिक अवस्था मान्छन् उनी।
'समलिंगी हुनु प्राकृतिक कुरा हो। महिला वा पुरूष भनेजस्तै मेरो पहिचान समलिंगी पुरूष हो,' उनले भने, 'सन्तान जन्मिँदा छोरा र छोरी मात्रै नभएर केही फरक पनि हुन सक्छ भनेर सबैले बुझ्नुपर्छ। यस्तो अवस्थालाई ससम्मान स्वीकार गर्नुपर्छ।'
उनले आफ्नाबारे घरपरिवारलाई भनेका छैनन्। बेलाबेला बिहेको कुरा चल्दा गर्दिनँ भनेर टारिरहेका उनले अब भने आफ्नोबारेमा आमाबुबालाई भन्ने विचार गरेका छन्।
आफूलाई जस्तै मुस्किल अरूलाई नहोस् भनेर कुमार लैंगिक तथा यौनिक अल्पसंख्यकको हक र अधिकारका पक्षमा निरन्तर लागिरहन चाहन्छन्।
'यो समुदायका, विशेषगरी वृद्ध व्यक्तिहरूको स्याहारसुसार र अधिकारका लागि बोल्नु छ। काम गर्नु छ,' उनले भने।