बुटवलको ढकाल एग्रोभेटमा शिल गरिएको ४९ बोरा रासायनिक मल हराएपछि बजार अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ।
बुटवलको नेपालगञ्ज रोडमा रहेको उक्त एग्रोभेटमा प्रतिबन्धित विषादी र मल बेचविखनको लागि राखिएको भन्दै गत जेठ १९ गते शिल गरिएको थियो।
बजार अनुगमनको लागि गएको टोलीले एग्रोभेटमा कागजी रूपमा शिल गरे पनि गोदाम शिल नगरी छोड्दा त्यहाँ रहेको ४९ बोरा अवैध मल गायब पारिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देही, कृषि ज्ञानकेन्द्र रूपन्देही, बिउविजन प्रयोगशाला लगायतका कार्यालयका प्रतिनिधिले एग्रोभेटमा अनुगमन गरेको थियो।
कृषि ज्ञानकेन्द्र रूपन्देहीका प्रमुख शिवप्रसाद अर्याल, मल निरीक्षक अनिल कानु बानियाँ, विषादी निरीक्षक रोजेन्द्र यादव, बिउविजन प्रयोगशालाका शालीग्राम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज लामिछाने, साना उद्योग कार्यालयका प्रतिनिधि युवराज आचार्य सहितको टोलीले अनुगमन गरे पनि त्यो अनुगमन कागजी खोस्टो बनेको छ।
उक्त टोलीले शिल गरेर छोडेको भनिएको ४९ बोरा अवैध मल व्यापारीकै गोदामबाट गायब पारिएपछि अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ।
अनुगमन टोलीले बरामद गरेर शिल गरिएको भनिए पनि अनुगमन टोली र व्यवसायीको मिलोमतोमा गोदाममा शिलबन्दी नगरी कागज बनाइएको हुन सक्ने अनुगमन टोलीकै एक सदस्यले आशंका गरे।
‘अनुगमन टोलीमा निस्केका कर्मचारीकै मिलोमतोमा मल गायब पारिएको हो कि भन्ने देखियो,’ ती सदस्यले भने।
अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले २ वटा कारणले पसलमा शिल गरे पनि गोदामामा शिल गर्न नसकिएको बताए।
‘पहिलो कुरा त कृषि ज्ञानकेन्द्र रूपन्देहीले उक्त मल नेपालमा बेचविखन गर्न अनुमति छ/छैन भन्न सकेन, अर्को सँगैको टायर पसलसँग एउटै सटर भएका कारण शिल गर्दा टायर पसल समेत शिल हुने अवस्था थियो त्यसकारण टायर पसल खोल्नु पर्ने भएकोले पनि शिल गर्न मिलेन,’ लामिछानेले प्रष्ट्याए।
कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको ४९ बोरा मल नेपालमा बिक्रीका लागि सिफारिस नै नभएको मुस्कान बायोफर्टीलाइजरको उत्पादन ‘२०९२०९१०’ नामक थियो।
सोही मल बिक्रीका लागि राखिएको अवस्थामा अनुगमन टोलीले बरामद गरेको थियो।
अनुसन्धान गर्दै जाँदा उक्त मल नेपालमा बेचबिखनका लागि प्रतिबन्धित भएको खुलेपछि राजस्व अनुसन्धान कार्यालय समेतको टोली शिल गरिएको मल जफत गर्न जाँदा नभेटेपछि मल गायब पारिएको रहस्य खुलेको लामिछानेले बताए।
‘पहिले मल कस्तो हो भन्ने कुरा ज्ञान केन्द्रले समेत बताउन सकेन, पछि जाँदा मल त्यहाँ थिएन,’ उनले भने।
प्रशासनले रोक लगाएको मल व्यापारीले सप्लायर्सलाई नै फिर्ता गरेको बताएको कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी अनिलकुमार कानु बनियाले बताए।
मल फिर्ता लगेको भनिएको सप्लायर्स बुटवल आदर्शनगरको सुव एग्रो सेन्टरले फिर्ता गरेर पनि बिक्री भइसकेको अनुगमन टोलीलाई जवाफ दिएको थियो।
‘हाकाहाकी अनुगमन टोलीलाई नै चुनौती दिने व्यवसायीका अगाडि नियामक निकाय कृषि ज्ञानकेन्द्रका कर्मचारीहरू चुपचाप फर्केपछि थप आशंका उब्जिएको अनुगमनमा संलग्न एक सदस्यले बताए।
‘कुनै चिज कागजमा शिल गरेपछि त्यो अनुगमन समितिको जिम्मा हुन्छ, कसैले कानुनी प्रमाण पुर्याए र दाबी गरे फिर्ता गर्नुपर्ने हुन्छ यस्तो लापरबाही भयो,’ उनले भने।
जेठ १९ गते अनुगमन टोली मुख्य सप्लायर्सका रूपमा रहेको बुटवल आदर्शनगरमा अवस्थित सुव एग्रोभेट सेन्टरमा पुग्दा पूर्व सूचनाका आधारमा सप्लायर्सका सञ्चालक सुन्दर पोखरेल टोली पुग्नु पहिले नै पसल बन्द गरेर बेपत्ता भएका थिए। अहिले अनुगमनकै कर्मचारीले उनलाई पूर्व सूचना दिएको आशंका उब्जिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत समेत रहेका अनुगमन टोलीका सदस्य लामिछानेले एग्रोभेट सञ्चालक र सप्लायर्सलाई आवश्यक कारबाहीका लागि कार्यालय बोलाएर बयान लिने काम भएको बताए।
‘यसको अनुसन्धानको लागि हामीले राजस्व अनुसन्धानलाई जिम्मा लगाएका छौं। उनीहरू उम्केर कहीँ जान पाउँदैनन्’, उनले भने।
यता कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी तथा मल निरीक्षक कानु बानियाँले मल गोदामसँगै अर्को पसल पनि जोडिएकाले मुचुल्कामा शिल गरिएको स्वीकार गरे।
उनले मल गायब पार्नुमा आफूहरूको नभई स्वयं व्यापारीको नै बदमासी भएको जवाफ दिए।
बानियाँले भने ‘अब जे गर्नुपर्ने हो राजस्व अनुसन्धान कार्यालयले गर्छ।’