नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल बजाएर प्रदर्शन गरेको छ।
आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको विरोध गरेका हुन्।
उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएका हुन्।
विरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए।
उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए।
उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए।
उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको, बजेटमै सम्बोधन नगरेको, २०७९ साल भदौ १ गतेदेखि गरिएको आन्दोलन, भदौ १९ गते गरेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रिस्तरीय निर्णय विद्यालय कर्मचारीको दुई तहको तलबमान २४ हजार ७ सय २ सहयोगी, ३२ हजार ९०२ लेखा सहायक, यसरी निजामती कर्मचारी सरहको खरदार र सुब्बा सरहको तलबमान दिने भनेर निर्णय गर्दा समेत अर्थ मन्त्रालय आनाकानी गरी रोकियो भनेर लामो समयदेखि भनिँदै आएको छ।’
उनले अघि भने, ‘आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन छ। १ गतेसम्म शान्तिपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनसन भद्रकालीमा गर्नेछौं। आज थाल बजाएर विरोध गरेका हौं। थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले विरोध गरेका हौं। २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन गर्नेछौं। माग पूरा नहुन्जेलसम्म।’
उनीहरूले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरा गर लगायतका माग राखी विरोध प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: