नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता भइसकेपछि शुक्रबार थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
फरार सूचीमा समावेश गरी मुद्दा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।
ललितपुरको बुंगमती बस्ने उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
उनलाई आज पक्राउ गरी अदालतमा समेत पेश गरिसकेको उनले बताए।
सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा उनको १८ औं नम्बरमा नाम समावेश गरिएको छ। लक्ष्मी महर्जन हरिभक्त महर्जनकी* श्रीमती हुन्। अर्का एक जना केशव तुलाधरको पनि खाता प्रयोग भएको देखिन्छ।
यस प्रकरणमा उनीहरू तीनै जनाको भूमिका भने एकै खालको छ। यस प्रकरणमा पक्राउ परेका सन्देश शर्माले रकम जम्मा गराउनको लागि उनीहरूको खाता प्रयोग गरेको देखिन्छ।
'उनीहरूको खाता प्रयोग भएको देखिन्छ। यस प्रकरणमा लक्ष्मी उनका श्रीमान केशवका कारण जोडिएको देखिन्छ। श्रीमानलाई पनि पक्राउ गरेपछि उनीहरू र गिरोहसँगको सम्बन्ध कसरी भएको हो भन्ने थाहा हुन्छ,' स्रोतले भन्यो।
२०७९ जेठ १८ पहिलो पटक जाहेरी दिएका गजेन्द्र बुढाथोकीलाई सन्देश शर्माले पैसा लक्ष्मी महर्जन र केशव तुलाधरको खातामा राख्न लगाएको अभियोगपत्रमा उल्लेख छ।
शर्माले बुढाथोकीलाई ह्वाट्सएप मार्फत महर्जन र तुलाधरको खाता नम्बर पठाइदिएका थिए। त्यसपछि बुढाथोकीले पनि १६ सेप्टम्बर सन् २०२१ मा २० लाख र २१ सेप्टेम्बरमा १५ लाख जम्मा गरेका थिए।
२२ सेप्टेम्बरमै उनीहरूले कनेक्ट आइपिएसमार्फत १० लाखको दरले तीन पटक र पाँच लाख एक पटक गरी हरिभक्त महर्जनको लुम्बिनी विकास बैंकको खातामा पठाएको अभियोगपत्रमा उल्लेख छ।
हरिभक्तले पनि आफ्नो खातामा आएको रकमको ८ लाख ५० हजार रुपैयाँको चेक विकेन महर्जनको नाममा पठाएका थिए। उक्त चेकबाट पनि विकेनले नगद भुक्तानी लिएको खुलेको हो।
बैंकले प्रहरीलाई गत वैशाख ४ गते पत्र लेखेर नगद भुक्तानी लिएको जानकारी दिएको हो। उनीहरूसहित अन्य थुप्रै व्यक्तिहरूको पनि खाता प्रयोग भएको प्रहरी स्रोतले जनाएको छ।
यस प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौं रकम उठाएर लक्ष्मी लगायतले ठगेको पुष्टि भएको प्रहरी र सरकारी वकिल कार्यालयको ठहर छ। गिरोहले कतिपयसँग पैसा नगदै उठाएका थिए भने कतिपयको खाता प्रयोग भएको थियो जसमध्ये यिनीहरूको पनि खाता प्रयोग भएको देखिएको हो।
उनीहरूविरूद्ध पनि लिखत किर्ते कसुर, राज्यविरूद्धको कसुर र संगठित अपराध समेत गरेको भन्दै त्यसअनुसार नै सजायको मागदाबी गरिएको छ।
लक्ष्मी महर्जन पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको हो। केशव, हरिभक्तसहित १३ जना अझै फरार छन्। प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ।
तर यस प्रकरणमा बयानका क्रममा खुलेका कतिपय नामलाई प्रतिवादी बनाएको छैन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा लगायतको नाम बयानका क्रममा आएका छन्। तर प्रहरीले उनीहरूविरूद्ध प्रमाण फेला पारेको छैन।
सरकारी वकिल कार्यालयले भने बयानको क्रममा आएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो। यस्तै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पनि यसमाथि थप अनुसन्धान गर्न पत्र लेख्ने निर्णय गरेको थियो।
यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीलाई पक्राउ गरिसकेको छ।
सच्याइएको*