विद्यार्थीहरूले राखेका मागहरू सम्बोधन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस सहमत भए पनि विद्यार्थीहरूको आन्दोलन स्थगित नभएपछि पठनपाठन प्रभावित बनेको छ।
विद्यार्थीहरूले राखेका माग र क्याम्पस प्रशासनबीच भएको सहमतिमा विद्यार्थीले राखेका २३ वटै माग पूरा गर्ने उल्लेख गरिएको छ। तर विद्यार्थीहरू भने सडक आन्दोलनमा उत्रिएका छन्।
विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले क्याम्पस प्रमुख फणिन्द्रकुमार न्यौपाने र सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारीलाई विभिन्न २३ वटा माग राख्दै क्याम्पसमा ताला लगाएको थियो।
विद्यार्थीहरूको तालाबन्दीपछि गत बुधबार नै क्याम्पस प्रशासनले विद्यार्थीहरूका २३ वटै माग क्रमशः पूरा गर्ने सहमति गरे पनि विद्यार्थीहरूले तालाबन्दी नखुलाएको सहायक क्याम्पस प्रमुख भण्डारीले बताए।
‘विद्यार्थीहरूले राखेका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेका छन्, कतिपय माग नीतिगत भएकोले क्रमश: सम्बोधन गर्दै जाने सहमति भएको छ,’ भण्डारीले भने।
तर विद्यार्थीहरूले भने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार नै सडकमा आएर वार्ता गर्नुपर्ने माग तेर्साएर सडक आन्दोलनमा उत्रिएका छन्।
बिहीबार दिनभर बुटवलको जेसिज चोकबाट आन्दोलन सुरू गरेका विद्यार्थीहरू साँझदेखि क्याम्पसमा गएर धर्ना बसेका छन्।
बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले क्याम्पस प्रशासन विद्यार्थीका सबै माग र समस्या समाधानका लागि सहमत भइसकेको र अझै पनि वार्ता गर्न तयार रहेकोले विद्यार्थीहरूलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरिएको बताए।
‘क्याम्पस प्रशासनले यसअघि नै विद्यार्थीहरूका माग सम्बोधन गर्ने सहमति गरिसकेको छ, अझै पनि केही बाँकी छन् भने वार्तामा आउनुहोस् भनेका छौं तर विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिनुभएको छ,’ आचार्यले भने।
आचार्यले आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूसँग क्याम्पस र विश्वविद्यालयभित्र छलफल र संवाद हुनुपर्नेमा वार्ताका लागि सडकमा बोलाउनुले आशंका उब्जाएको बताए।
आन्दोलनरत विद्यार्थीहरू अध्ययनरत बुटवल सिटी क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपाने छलफलका लागि बिहीबार जेसिस चोकमै पुगे पनि विद्यार्थीहरूले हुलहुज्जत गर्न थालेपछि त्यहाँबाट हिँडेका थिए।
आन्दोलनरत विद्यार्थीहरू क्याम्पस प्रमुख न्यौपानेले समस्याको समाधान गर्न सक्छन् भन्नेमा आश्वस्त हुन नसकेर वार्तामा नबसेको बताउँछन्।
सडकमै वार्ताको माग गर्ने विद्यार्थी र क्याम्पस कार्यालयमा बसेर छलफल तथा वार्ता गर्नुपर्ने अडानमा रहेको प्रशासन बीचको टकरावका कारण अन्य सेमेस्टरका विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित बनेको छ।
विद्यार्थीहरूले डिन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्ने र डिनलाई नियमित पठनपाठनका निमित्त नियुक्त गर्नुपर्ने, कानून संकायमा एलएलएम उत्तिर्ण व्यक्ति क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने, कानून संकायको संयोजक पनि एलएलएम उत्तिर्ण गरेको हुनुपर्ने, पुस्तकालयबाट विद्यार्थीहरूले एकैपटक चार वटासम्म पुस्तक लैजान पाउनुपर्ने सोही अनुसार पुस्तकको व्यवस्था गरिनुपर्ने, प्रवेश परिक्षाको योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गर्नुपर्ने, सेमिनार हल र अभ्यास अदालतको तत्काल व्यवस्था गरिनुपर्ने माग राखेका छन्।
त्यस्तै, विद्यार्थी, अभिभावक, क्याम्पस प्रशासन, शिक्षक र विश्व विद्यालयका पदाधिकारी सहितको कमिटि निर्माण गरि हरेक महिनाको अन्त्यमा समीक्षा बैठक बस्नुपर्ने, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म पुस्तकालय खुला हुनुपर्ने, क्याम्पसका हरेक कक्षाकोठामा महिलामैत्री वातावरणसँगै सिसिटिभी र इन्टरनेटको व्यवस्था गरिनुपर्ने लगायतका २३ वटा माग राखेका छन्।
विद्यार्थीका माग अनुसार मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको र कानून विषयका शिक्षक पदपूर्तिका लागि छनोट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ।
क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरूका लागि सम्बन्धित विषय विज्ञहरूमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ।
विद्यार्थीहरूले उठाएका मागहरू सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषय हाल पनि भइरहेको र त्यसलाई अझै बढाउँदै लगिने रजिष्ट्रार आचार्यले बताए।