वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्र र सरकारको आलोचना भएको छ।
प्रतिनिधि सभा बैठकदेखि विद्यार्थी संघसंगठनहरूले पनि यसबारे चासो राखेका छन्।
रूइतको ८ पृष्ठ लामो जीवनी खण्ड कक्षा १० को नेपाली किताबबाट हटाइएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले शिक्षा मन्त्रीको जवाफ मागेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले रूइतको कारणले देशकै इज्जत बढेको र त्यो जीवनी पढाउन आवश्यक भएकोले किताबमा राखिएको उल्लेख गरे।
‘सन्दुक रूइतको बारेमा लेखेको जीवनी कक्षा १० मा पढाइन्थ्यो। त्यो नेपाली किताबबाट हटाइयो। त्यो जीवनीलाई भाँचेर कताकता कक्षा ७, ८ मा विज्ञान लगायतमा राखिएको छ। डा. रूइतको कारण हाम्रो देशको इज्जत बढेको छ। त्यो जीवनी पढाउन आवश्यक भएर नै राखिएको थियो। किन अहिले त्यो हटाइयो? शिक्षा मन्त्रीले स्पष्ट जवाफ दिनुहोस्,’ पन्तले संसदमा भने।
हेर्नुस् भिडिओ:
यसअघि सोमबार नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संस्था, नेविसंघले पनि रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको थियो।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात व्यक्तित्व डा. रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट किन हटाएको हो भनेर मैले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकसँग चासो राखेको थिएँ। कक्षा १० कै अन्य विषयका किताब र अरू कक्षाका किताबमा पनि रूइतका विषय समावेश गरिएको रहेछ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने।
रूइतको जीवनीसम्बन्धी पाठ कक्षा १० को नेपालीबाट किन हटाएको भनेर हामीले पाठ्यक्रम विकास केन्द्रसँग बुझेका छौं।
केन्द्रका सूचना अधिकारी बाबुराम ढुंगानाले यस शैक्षिक सत्रबाट कक्षा ४ को नेपाली, कक्षा १० को सामाजिक, विज्ञान तथा प्रविधि, कक्षा ८ को नेपाली र कक्षा ७ को अंग्रेजी विषयको किताबमा रूइतबारे पाठ राखिएको बताए।
कक्षा १० को नेपालीको पाठ ३ मा 'सन्दुक रूइत' शीर्षकको जीवनी भने हटाइएको छ।
‘गत शैक्षिक सत्रसम्म कक्षा १० को नेपाली किताबमा मात्र रूइतबारे पाठ थियो। यसपालि नेपालीबाट हटाएर सामाजिक र विज्ञान तथा प्रविधिमा समावेश गरेका छौं,’ उनले भने, ‘पहिलेको भन्दा फरक ढाँचामा पाठ्यपुस्तक तयार पारिएकोले जीवनीको ढाँचामा नराखिएको हो।’
उनले विषयअनुसार प्रसंग मिल्ने ठाउँमा रूइतका जीवनीका विषयवस्तुलाई समावेश गरिएको बताए।
‘पहिले एउटा कक्षाको एउटा विषयमा मात्रै रूइतबारे पढाइन्थ्यो। अहिले विभिन्न कक्षा ४ विषयमा रूइतबारे पढाइन्छ,’ उनले भने, ‘रूइत बहुआयामिक व्यक्तित्व भएकाले विभिन्न विषयका पुस्तकमा उहाँसम्बन्धी पाठ राखिएका हुन्।’
सत्यतथ्य नबुझिकन आलोचना भइरहेको उनको भनाइ छ।
‘जसले अहिले बोल्नुभएको छ, उहाँहरूले नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक हेरेर बोल्नुभएको छैन। एउटा पाठमा अलिकति संशोधन भएका कुरालाई लिएर आलोचना गरिएको छ। सनसनी फैलाउन यस्ता कुरा लेख्ने र बोल्ने काम पनि भएको छ,’ उनले भने, ‘रूइतप्रति सरकार र केन्द्र तथा जनताको ठूलो सम्मान छ। कदर गरेरै यतिका धेरै विषयका किताबमा विषयवस्तु समावेश गरिएका हुन्।’
किताब नहेरीकन मानिसहरूले केन्द्रको आलोचना गरेको उनी बताउँछन्।
‘विद्यार्थीका हातहातमा पुगेका किताब नहेरी यसबारे प्रश्न उठाइएका छन्, आलोचना गरिएको पाइएको छ,’ उनले भने, ‘कमसेकम किताब त हेरिदिनुस्। आलोचना गर्नुअघि रूइतबारे किताबमा के-के विषयवस्तु समावेश गरिएका छन् त हेर्नुपर्ला नि!’