बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्।
शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्।
आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए।
बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे तीन बजे परस्पुर पुगेका थिए।
उनका अनुसार, पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आयो।
मोटरसाइकलमा थिए स्थानीय मेराज शेख। हेलमेटबिना मोटरसाइकल कुदाइरहेका मेराजले अगाडि ट्राफिक चेकिङ भइरहेको देखेपछि हतारहतार मोटरसाइकल फर्काए र तीव्र गतिमा कुदाए।
कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए। दुर्घटना भएको देखेपछि बस्नेतसहितको टोली उद्धारका लागि मेराज लडेको स्थानमा पुगेका थिए।
मोटरसाइकलसहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।
प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथि प्रहार गर्न थालेको बताए।
स्थानीयले घरेलु हतियारले आक्रमण गर्दै लखेटेपछि उनीहरू सडकबाट तल रहेको खेततर्फ भागेका थिए। खेतमा खसेका दुवैलाई पुनः खेतैखेत लखेटेको भिडिओ समेत सार्वजनिक भएको छ।
आइएम युवराज नामका टिकटक प्रयोगकर्ताले राखेको उक्त भिडिओ अहिले टिकटकबाट हटाइएको छ। ज्यान बचाउन भाग्दै गरेका उनीहरूलाई प्रहरी पोष्ट अगाडि पुगेपछि मात्रै स्थानीयले कुटपिट गर्न छोडेका थिए।
स्थानीयको आक्रमणबाट प्रहरी सहायक निरीक्षक बस्नेतको हातमा र प्रहरी जवान मानबहादुर ठगुन्नाको हात र खुट्टामा चोट लागेको छ।
ठूलो संख्यामा रहेको स्थानीयले आफूहरूलाई मार्न लागेपछि आफूहरू भाग्ने प्रयत्न गरेको तर २५० मिटरसम्म भाग्दा पनि उनीहरूले लखेट्न नछोडेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।
‘हामीले सडकमा चेकिङ गर्दा नियम उल्लंघन गरेर सवारी चलाउनेहरूलाई बाधा भइरहेको थियो त्यसैले उनीहरूले हामीमाथि आक्रमण गरे’, बस्नेतले भने।
बस्नेतले आफूमाथि आक्रमण गर्नेविरूद्ध विभागले नै कारबाही गर्ने विश्वास व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीहरूमाथि आक्रमण भएको बताउँदै घाइतेहरूको अवस्था गम्भीर नभएकोले कारबाहीबारे नसोचिएको बताए।
´ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि यसरी संगठित रूपमा आक्रमण भएको घटना कसरी सामान्य?’ भन्ने प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्।
'यो विषयमा अब अगाडि छलफल होला', प्रवक्ता घर्तीमगरले भने।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले घटनाबारे बुझ्न बाँकी रहेको बताए।
‘मैले पनि घटना साँझमात्रै थाहा पाएँ, के गर्ने भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्नु पर्ला’, प्रसाईले भने।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले घटना सामान्य भएको बताउँदै प्रहरीमाथि कुटपिट भएको भन्ने जानकारी नआएको बताए।
'आज स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ सबै कुरा आउला,' राठौरले भने।