नुवाकोटको तादी गाउँपालिका-३ खरानीटार र वडा नम्बर १ उर्लेनी जोड्ने दोर्खुखोलाको पक्की पुल सम्झौता सकिनु १४ महिनाअघि नै बनेको छ।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त पुलको उद्घाटन गरिसकेका छन्।
४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माण कम्पनी जयविष्णु निर्माण सेवाले बनाएको हो।
देशभरि ठेकेदारको लापरवाहीका कारण कैयौं योजना अलपत्र परिरहेका बेला सम्झौताको आधाभन्दा कम समयमा पुल बनाएपछि राष्ट्रियस्तरमै यो पुल बनाउने ठेकेदारको चर्चा भइरहेको छ।
यो पुल जयविष्णु निर्माण सेवाले बनाएको हो।
जयविष्णु निर्माण सेवाका सञ्चालक अनिल सिलवाल म्यादअघि नै निर्माण सम्पन्न हुनुमा आफ्नो भूमिकालाई मात्रै प्रमुख मान्दैनन्।
'पूर्वाधार विकास कार्यालय नुवाकोट, स्थानीय सरकार र सरोकारवालाहरूको निरन्तर सहयोगका कारण म्यादअघि नै पुल निर्माण गर्न सफल भएँ,' सिलवालले सेतोपाटीसँग भने।
पूर्वाधार विकास कार्यालय नुवाकोट र जयविष्णु निर्माण सेवाबीच गत असार ३० गते पुल निर्माणको सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ६ करोड ९९ लाख रुपैयाँमा जयविष्णुले पुलको ठेक्का पाएको थियो।
असारमा ठेक्का सम्झौता भए पनि वर्षाका कारण दोर्खु खोलामा पानीको बहाब बढेपछि कात्तिकबाट मात्रै काम सुरू भएको थियो।
सिलवालले सम्झौता गर्दा नै पूर्वाधार विकास कार्यालयलाई ६/७ महिनामै पुल बनाइसक्ने बताएका थिए।
'मैले त्यतिबेलै उहाँहरूलाई ६/७ महिनामै काम भ्याउँछु भनेको थिएँ। त्यही अनुसारको वर्क डिटेल पनि दिएको थिएँ,' सिलवालले भने।
सिलवालले दसैं-तिहारलगत्तै दुई वटा स्काभेटर, ब्रेकर र दुई जना अपरेटर दोर्खु खोला लगे। अन्य स्थानमा पुल बनाउँदा सुरूमा एउटा मेसिनमात्रै प्रयोग गर्दै आइरहेका सिलवालले दोर्खुमा दुई वटा मेसिन र दुई जना अपरेटरबाट दुई सिफ्टमा काम सुरू गरे।
'एउटा मेसिनबाट दिनमा काम गर्थ्यौं, अर्कोबाट रातमा,' सिलवाल भन्छन्, 'एउटैबाट दिनरात काम गर्न सम्भव हुँदैन थियो, त्यसकारण दुई वटा मेसिन प्रयोग गरी दुई सिफ्टमा काम गर्यौं।'
जनशक्तिको अभाव हुन नदिन सिलवालले कैलाली, कञ्चनपुर, सिन्धुलीलगायत जिल्लाबाट कामदार ल्याएका थिए। केही भारतीय कामदारसहित दिनमा ४० देखि ५० जनाको जनशक्ति परिचालन गरिएको उनले बताए।
सिलवालका अनुसार पुलको पिलर बनाउने काम सबैभन्दा जटिल र संवेदनशील हुन्छ। त्यसमाथि पानी पर्यो भने अझै गाह्रो हुन्छ। तर दोर्खुमा पुलको पिलर बनाउँदा उनले त्यस्तो समस्या झेल्नुपरेन।
हिउँदे वर्षा नभएको र खोलामा पानीको बहाब पनि खासै नभएका कारण पिलर बनाउन सहज भयो।
कात्तिकमा पिलरको जग खन्न सुरू भयो।
'मापदण्डअनुसार जगको खाल्डो पुगेपछि सोलिङ गर्नुपर्छ। त्यसपछि १० सेन्टिमिटर पिसिसी गर्छौं। पिसीसी पछि डण्डी बाँध्ने काम हुन्छ। चारैतिर हात्तीपाइलेको फर्मा ठोक्छौं। फर्मा ठोकेर ढलान हाल्न तीन-चार दिन लाग्छ,' उनले भने।
उनकाअनुसार बिनाअवरोध काम गरिएको खण्डमा यी काम १२ देखि १५ दिनमा सकिन्छ।
एउटा पिलरको काम आधा सकिँदा अर्को पिलरको जगका लागि खाल्डो तयार भइसकेको हुन्थ्यो। जनशक्ति पर्याप्त हुँदा एउटा पिलरमा काम भइरहँदा अर्को पिलर बनाउने काम पनि सँगसँगै सुरू हुन्थ्यो।
दोर्खुको पुल बनाउन दिनरात काम भइरहँदा पूर्वाधार विकास कार्यालय नुवाकोटले खटाएका दुई जना प्राविधिक पनि साइटमै हुन्थे। उनीहरूले निर्माण सामाग्रीको गुणस्तर जाँचदेखि मापदण्डअनुसार प्रयोग भए नभएको सबै हेर्थे।
यसरी काम गर्दा तीन महिनामा पिलर तयार भएको सिलवाल बताउँछन्। 'त्यसपछि पिलरलाई केही दिन चारैतिरबाट टेको दिएर राख्यौं र स्ल्याब बनाउन सुरू गर्यौं,' उनले भने।
उनकाअनुसार, पुलमा प्रयोग हुने सिमेन्ट र कंक्रिटको मात्रा प्रयोग गरी सुरूमा नमूना स्ल्याब बनाइन्छ र त्यसलाई सात दिनसम्म पानीमा डुबाएर राखिन्छ।
त्यसरी राखिएको नमूना स्ल्याबलाई परीक्षण गर्दा ठिक पाइएपछि त्यही रेसियोको म्याटेरियल पुलको ढलानमा प्रयोग गरिन्छ। ढलानको काम पनि करिब चार महिनामै सकिएपछि वैशाख २० गते पुल तयार भएको उनले बताए।
सिलवाललाई जुनसुकै हालतमा जेठसम्म काम सक्काइसक्नुपर्ने बाध्यता पनि थियो। बर्खामा त्यस क्षेत्रको सडकमा गाडी चल्दैन। बन्द हुने बाटो कात्तिक मंसिर लागेपछि मात्रै खुल्ने कारण असारअघि नै काम सक्काइहाल्नुपर्ने चुनौती थियो।
'असारसम्म नसकिएको खण्डमा अर्को ६ महिना काम रोक्नै पर्ने हुन्थ्यो। तिनै कामदारबाट काम गराउन उनीहरूलाई ६/७ महिना त्यसै तलब दिएर राख्नुपर्थ्यो। अर्कोतर्फ मेसिन बिग्रने सम्भावना पनि उत्तिकै रहन्थ्यो, यी कुराहरूलाई मध्यनजर गरी दुई सिफ्टमा कामदार खटाएर बर्खाअघि नै काम सकाएँ,' सिलवालले भने।
पुल निर्माणको ७ महिनाको अवधिमा सिलवालले केही अप्ठ्यारो पनि भोगे। पहिलो, बजेट अभाव नहोस् भनेर उनले विभिन्न बैंकबाट १७ देखि १८ प्रतिशत ब्याजमा पाँच करोड ऋण लिएका थिए। त्यसको ब्याज तिरिरहेका छन्।
दोस्रो, उनलाई पुस-माघको ठण्डीमा दुई सिफ्टमा कामदार खटाउन पनि गाह्रै पर्यो। चिसोमा काम गर्न नसकेर कति कामदारले कामै छाडे। विभिन्न चुनौतीका बाबजुद् बर्खाअघि नै काम सम्पन्न हुँदा व्यवसायिक सामाजिक रूपमा पनि नाफामा छन्।
पुल चाँडो बन्दा कमसल पो बनेको हो कि भन्ने शंका पनि सुनिने उनी बताउँछन्। तर स्टान्डर्ड स्पेसिफिकेशन र क्वालिटी कन्ट्रोलमा कम्प्रमाइज नगरी काम गरेको उनको दाबी छ।
'गिटी, बालुवादेखि सिमेन्ट र डन्डी सबै परीक्षण गरेर मात्रै प्रयोग गर्छौं। पूर्वाधार विकास कार्यालयका प्राविधिकहरू निरन्तर फिल्डमै बसेर मापदण्ड पुगेनपुगको हेर्नुहुन्छ। उहाँहरूले भेरिफाइ गरेपछि मात्रै काम अघि बढ्ने हो, त्यसैले कमसल हुने चान्स नै हुँदैन,' उनले भने।
पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यले पनि दोर्खु खोलाको नवनिर्मित पुल कमसल हुने सम्भावना नरहेको बताए।
'हाम्रो प्राविधिक लगातार फिल्डमै हुनुहुन्थ्यो। हप्तैपिच्छे एक इन्जिनियर र कन्सल्ट्यान्टले निरीक्षण गर्नुहुन्थ्यो,' उनले भने, 'उहाँहरूको रिपोर्टअनुसार पुल निर्माणमा सबै मापदण्ड पुगेको छ।'
उनकाअनुसार पुलमा अब लोड टेस्ट गर्न मात्रै बाँकी छ। टेस्ट रिपोर्ट सकारात्मक आएपछि पुल औपचारिक रूपमा सञ्चालन हुने छ। त्यसपछि पनि एक वर्षसम्म पुल निर्माण कम्पनीकै जिम्मामा हुन्छ। त्यो अवधिमा पुलमा केही समस्या आए निर्माण कम्पनीले नै बनाउनुपर्ने बज्राचार्यले बताए।
वहुवर्षीय योजना भएका कारण तत्काल भुक्तानी दिन कार्यालयसँग रकम छैन। बाँकी भुक्तानीका लागि कार्यालयले प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी गरेको छ। 'एक साताभित्र म त्यो प्रक्रियामा जान्छु, त्यसपछिको जिम्मा प्रदेश सरकारको हो। भुक्तानीका काम प्रक्रियाअनुसार अगाडि बढ्छ,' बज्राचार्यले भने
रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने विषयमा मुख्यमन्त्री जम्मकट्टेल सकारात्मक रहेका कारण प्रदेश सरकारबाट सहयोग हुनेमा निर्माण पक्ष र पूर्वाधार विकास कार्यालय विश्वस्त छन्।
दोर्खुमा पुल बनेपछि तादी-१ का जनताको दैनिकी सहज हुने वडा अध्यक्ष नाकुर दोङ तामाङले बताए। अब तादी-१ का जनता आधा घन्टामै गाउँपालिका कार्यालय रहेको खरानीटार पुग्न सक्नेछन्। यसअघि वर्षायाममा असारदेखि असोज महिनासम्म तादी-१ का जनता खरानीटार पुग्न सक्दैनथे।
त्यहाँका स्थानीयलाई मात्रै होइन, रसुवाको गोसाइकुण्ड पुग्न पनि तादी-१ हुँदै छिटो पुगिने हुँदा पर्यटन विकासका लागि पनि पुलले ठूलो योगदान पुर्याउने तामाङ बताउँछन्।