बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको छानविनमा तानिएका मदन राईको शुभम फाउन्डेसनका बालिकालाई त्यहाँका सञ्चालकले धम्की दिएको पाइएको छ।
खोटाङको 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राई पक्राउ परेपछि शुक्रबार विद्यार्थी भेला गरेर धम्की दिएको फाउन्डेसनस्थित स्रोतले बताएको छ।
राई पक्राउ परेपछि फाउन्डेसनका बालिकासँग सोधपुछका लागि प्रहरी पुगेको थियो। प्रहरीले बालिकाहरूलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो।
प्रहरीहरू बयान लिएर फर्केपछि फाउन्डेसनका निर्देशक सूर्य राईले विद्यार्थीको भेला बोलाएका थिए।
'सबै विद्यार्थीलाई एकै ठाउँमा आउन भन्नुभयो। त्यहाँ सबै अंकल, आन्टी र मेन्टरहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले मदन बाजे छिटै छुट्नु हुन्छ, त्यसपछि उहाँका विरूद्ध बोल्ने पाँच जनालाई जेल पठाउने हो भन्नुभयो,' स्रोतले भन्यो, 'उनीहरूले शंका गरेको छ। केटीहरूको कोठामा आएर शिक्षक र मेन्टरहरूले चियो गर्छन्।'
फाउन्डेसनका निर्देशक सूर्यले भने आफूहरूले बालिकालाई कुनै धम्की नदिएको बताए।
'मैले अनुसन्धानलाई पूर्ण रूपमा सहयोग गरेको छु। यो कुरा छिटो छिनोफानो होस् भन्ने त मलाई जति कसलाई लाग्यो होला र? शुक्रबार महिला सेलका प्रहरी आएर बालिकाहरूसँग सोधेर जानुभयो। त्यसपछि विद्यार्थी भेला पारेर मैले अझै पनि कसैले केही भन्नु छ भने मलाई आएर भन्नु भनेको छु। मसँग निर्धक्क भएर कुरा भन्नु, म सुन्छु भनेको छु,' उनले भने, 'मलाई त यो कुरा जति सक्दो छिटो सल्टियोस् भन्ने छ नि। बच्चाहरू सुरक्षित छन्। हामीले भोलिदेखि नै पढाइलाई निरन्तरता दिने भएका छौं।'
प्रहरीले समेत सूर्यलाई बोलाएर बच्चाहरूलाई धम्की दिएको/नदिएको बारे सोधपुछ गरेको थियो।
'हामीले सूर्य राई र प्रधानाध्यापक सविता म्याम (ढकाल) सँग बच्चाहरूको सुरक्षालाई लिएर सोधपुछ गरेका छौं। बालिकाहरूको सुरक्षा हुन्छ र अनुसन्धानमा सहयोग गर्छौं भन्नुभएको छ,' एक प्रहरी अधिकारीले भने, 'हामीले त्यहाँ निरन्तर निगरानी गरिरहेकै छौं।'
शुभम फाउन्डेसनका बालिकाहरूको सुरक्षाबारे सेतोपाटीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग पनि सोधेका थियौं। उनले मदन फाउन्डेसनबारे छलफल र निर्णय गर्न शिक्षा समितिको बैठक डाकेको त्यसपछि कुराकानी गर्ने बताएका थिए। साँझ भने उनको मोबाइल स्विचअफ छ।
फाउन्डेसनका बालबालिकाको सुरक्षा गर्नु नगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय सबैको जिम्मेवारी हो। फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदन राईले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्ने किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।
शुक्रबार प्रहरीले सोधपुछ गर्दा थप केही बालिकाले पनि आफूमाथि मदन राईले यौन दुर्व्यवहार गर्ने गरेको बताएको प्रहरी स्रोतको भनाइ छ।
'हामीसँग अरू बालिकाहरूले पनि आफूमाथि मदन राईले यौन दुर्व्यवहार गर्ने गरेको बताएका छन्,' स्रोतले भन्यो, 'अझै थप अनुसन्धान हुँदैछ।'
शुक्रबार पक्राउ परेका मदन राईलाई सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
उनीविरूद्ध दुर्व्यवहारमा परेकीमध्ये एक किशोरीले जाहेरी दिएकी छन्। हामीले उनलाई दिक्तेल- ४ नाम दिएका छौं। उनले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी हुन्।
दिक्तेल- ४ सात वर्षदेखि खोटाङ स्थित शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्।
फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायतका कार्य गरेको उनको आरोप छ।
यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो।
सम्बन्धित स्टोरी: आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार
यौन दुर्व्यवहारमा परेकी किशोरीले मदन राईविरूद्ध दिइन् जाहेरी