हुलाकी राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३, नारायणचोकबाट परासीसम्मको साढे १२ किलोमिटर खण्ड निर्माण सुरू भएको सात वर्ष पूरा हुँदा पनि काम सकिएको छैन।
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७३ फागुन १५ गते निर्माणको सम्झौता भएको थियो। यसपछि अहिलेसम्म चार पटक म्याद थप भयो।
चौथो पटक थपिएको म्याद पनि गत चैत ३० गते सकिएको छ तर निर्माण कम्पनीले काम पूरा गर्ने छाँट देखाएको छैन।
‘कञ्चनजंघा विरुवा शिवशक्ति जेभी, मध्यबानेश्वर’ ले २५ करोड १९ लाख ७० हजार रुपैयाँमा निर्माणको ठेक्का लिएको थियो।
निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको उक्त खण्ड अलपत्र छ। खराब अवस्थाको सडकका कारण गोपीगञ्ज हुँदै परासी जाने यात्रु र स्थानीयवासीले सास्ती भोग्नु परेको छ।
बर्दघाटका बासिन्दा राजकुमार चौधरी नारायणचोक-परासी खण्डमा नियमितजसो ओहोरदोहोर गर्छन्। साप्ताहिक हाटबजारमा तरकारीको व्यापार गर्ने राजकुमार अलपत्र सडकमा साइकलमा तरकारी बोकेर ओहोरदोहोर गर्दा निकै सास्ती हुने गरेको बताउँछन्।
‘कतै खाडल पारेर छाडेको छ, अगाडि ठूला गाडी गुडिरहेका छन् भने धुलोले खाडल पनि देखिँदैन,’ राजकुमार भन्छन्, ‘त्यस्तो बेला साइकल खाडलमा परेर धेरैपटक लडेको छु।’
प्रतापपुरका श्याम पासवान पनि वर्षौंदेखि अलपत्र छाडिएको सडकले दिएको हैरानीका भुक्तभोगी हुन्। उनी बर्दघाट आसपासमा अटो रिक्सा चलाउँछन्।
निर्धारित समयमा निर्माण पूरा नहुँदा अटोरिक्सा, साइकल र मोटरसाइकल चालकलाई सबैभन्दा बढी हैरानी भएको श्यामको भनाइ छ।
उनी भन्छन्, ‘गाडीभित्र हुनेले झ्याल लगाउँछन्, सडकको धुलो र धुवाँ खाने त हामीजस्ता साना मान्छेले हो।’
ठेक्का सम्झौतामा निर्धारित दुई वर्षको अवधिमा काम नै सुरू भएन। त्यसपछिको दुई वर्ष कोभिड महामारीको कारण देखाउँदै काममा ढिलासुस्ती भयो।
कोभिड नियन्त्रणपछि कम्पनीले निर्माण सामग्रीको अभाव देखाएर काममा बेवास्ता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुका अधिकारीहरूको भनाइ छ।
आयोजनाका साइट इन्जिनियर युवराज पाण्डेले निर्माण कम्पनीले अनेक बहाना बनाउँदै काममा अटेरी गरेको बताए। उनका अनुसार ठेक्का सम्झौता हुँदा सडक डिभिजन कार्यालय, बुटवल मातहतको उक्त सडक खण्ड आर्थिक वर्ष २०७५/७६ मा हुलाकी राजमार्ग आयोजना कार्यालय स्थापना भएपछि आयोजनामै हस्तान्तरण भएको थियो।
सडक डिभिजन कार्यालयबाट आयोजनालाई जिम्मेवारी हस्तान्तरण भए पनि निर्माण सम्पन्न गर्नेतर्फ भने कम्पनीले बेवास्ता गर्दै आएको छ।
कम्पनीले हालसम्म ८० प्रशितभन्दा बढी २० करोड २० लाख रुपैयाँ भुक्तानी लगिसकेको छ। भौतिक प्रगति ७५ प्रतिशत हाराहारीमात्रै छ।
इन्जिनियर पाण्डेका अनुसार निर्माण कम्पनीले एकातिर काममा अटेरी गरिरहेको छ भने अर्कातिर काम पूरा भएको भनिएको खण्ड पनि गुणस्तरहीन भएपछि फेरि बनाउने भनेर भत्काएको छ।
भत्काइएको खण्ड पनि भौतिक प्रगतिमा गणना गरिएको मध्येकै हो।
पाण्डेले भने, ‘निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्नेतर्फ बेवास्ता त गरेकै छ, पूरा गरेको काम पनि गुणस्तरहीन भएपछि पुनर्निर्माणका लागि भत्काइएको छ।’
उनले परासीतर्फको डेढ किलोमिटर सडकको सतह नमिलेर उबडखाबड परेको र निर्माण सामग्रीको मात्रा नमिलाउँदा ठाउँठाउँमा चर्किएको बताए।
उक्त खण्डमा रहेका पुल र कल्भर्ट छेउछाउबाहेक गोपीगञ्जबाट परासीसम्म करिब १२ किलोमिटर कालोपत्र गरिएको छ। नारायणचोकतर्फ करिब साढे एक किलोमिटर कालोपत्र गर्न बाँकी छ।
सडकको दुबै किनारमा नाली बनाउने र ब्लक बिछ्याएर फुटपाथ बनाउने काम बाँकी छ। नाली बनाएको ठाउँमा पनि ढक्कन राखिएको छैन।
कल्भर्ट र पुलको दुवैतर्फ करिब सय-सय मिटर कालोपत्रे नगरी छोडिएको छ। यस्ता ठाउँमा परेका खाडलले दुर्घटनाको जोखिम बढाएको यात्रुहरूको गुनासो छ।
चिपसिल प्रविधिबाट निर्माण हुने यो सडक खण्ड बजार क्षेत्रमा फुटपाथसहित ४५ फुट र अन्य क्षेत्रमा ३० फुटको रहेको छ। निर्माण कम्पनीले चरम लापरबाही गरेपछि स्थानीय बासिन्दाहरू आयोजना कार्यालयका कर्मचारीप्रति आक्रोशित बन्ने गरेका छन्।
इन्जिनियर पाण्डे भन्छन्, ‘निर्माण व्यवसायीका कारण सडकको नाँपजाँच र अनुगमनमा जान हामीलाई पनि जोखिम हुने गरेको छ।’
गत महिना अनुगमनमा गएका आयोजनाका कर्मचारीमाथि आक्रोशित स्थानीय सर्वसाधारणले दुर्व्यवहार गरेका थिए।
निर्माणको ठेक्का लिएको ‘कञ्चनजंघा विरुवा शिवशक्ति जेभी’ हेटौंडाका बासिन्दा सुरेन्द्र पाठकको कम्पनी हो। उनी एमालेका स्थानीय नेता पनि हुन्।
उक्त कम्पनीले हुलाकी राजमार्ग आयोजनाअन्तर्गत कपिलवस्तुको राजपुर–बहादुरगञ्ज–दत्तपुर १७ किलोमिटर खण्ड पनि ठेक्का लिएको थियो। काम सुस्त भएपछि ‘लामा गोल्डेन उड कन्स्ट्रक्सन’ ले जिम्मा लिएको छ।
आयोजना कार्यालयका अनुसार २०७६ कात्तिक २९ गते ७२ करोड ८८ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको राजपुर बहादुरगञ्ज–दत्तपुर खण्डको मोभिलाइजेसन रकम समेत ‘कञ्चनजंघा विरुवा शिवशक्ति जेभी’ ले फिर्ता गरेको छ।
यस खण्डको पनि २०८० कात्तिक २७ गतेसम्मको म्याद थप गरिएको छ।
हुलाकी राजमार्गअन्तर्गत रुपन्देही र कपिवस्तुको अधिकांश खण्डको निर्माण सम्पन्न भए पनि पश्चिम नवलपरासीमा भने त्रिवेणीदेखि परासीसम्म काम हुन सकेको छैन।
नारायणचोकबाट त्रिवेणीसम्मको १५ किलोमिटर खण्डमा जम्मा २५ प्रतिशतमात्रै काम भएको छ। कुल ५८ करोड ९६ लाख ९३ हजार लागतमा ‘बज्रगुरु महालक्ष्मी जेभी’ निर्माणको जिम्मा लिएको छ।
यो खण्ड निर्माणका लागि २०७६ साल मंसिर १ गते सम्झौता भएको थियो। तीन वर्षको म्याद कात्तिक ३० गते सकिएर एक वर्ष थपिएपछि मात्रै काम सुरू भएको हो।
थप म्याद आगामी कात्तिक मसान्तमा सकिन्छ तर स्तरोन्नतिका लागि सडक भत्काउने काममात्रै भइरहेकाले यस अवधिमा पनि काम पूरा हुनेमा शंका छ।
हिउँदभरि बेवास्ता गरेर बर्खा लागेपछि सडक भत्काएको भन्दै स्थानीयबासिन्दा आक्रोशित बनेका छन्। निर्माण कम्पनीले १५ करोड २४ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।
हुलाकी राजमार्ग आयोजना अन्तर्गतकै बेलाटारी-कठहवा-त्रिवेणी ९ किलोमिटर खण्डमा पनि दोस्रोपटक थपिएको म्याद सकिन लागेको छ तर काम अलपत्र छ।
तीन वर्षमा सक्ने गरी ‘कन्टेक प्रालि’ ले २०७६ मंसिर ११ गते ठेक्का सम्झौता गरेको थियो। म्याद सकिँदा पनि काम सुरू नभएपछि गत कात्तिकमा एक वर्षको म्याद थपिएको छ।
यस खण्डमा भरखरै काम सुरु भएको आयोजनाका इन्जिनियर पाण्डेले बताए। कुल २७ करोड २३ लाख ५ हजार रुपैयाँको ठेक्कमा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ।
आयोजना अन्तर्गत परासीबाट भैरहवा, लुम्बिनी हुँदै तौलिहवा सम्मको ६६ किलोमिटर सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण पूरा भइसकेको छ। परासीबाट त्रिवेणीसम्मको ७३ किलोमिटर खण्ड भने अस्तव्यस्त छ।
निर्माणका लागि लामो समयदेखि भत्काइको सडकमा यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्नु परेको छ। सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिल्लाम्मे हुने गरेको छ।
ठेकेदार कम्पनीको राजनीतिक पहुँचका कारण सडक निर्माणमा चरम लापरबाही हुँदा पनि सरकार र आयोजना कार्याले कारबाही गर्नुको साटो म्याद थप गरेको सर्वसाधारण आरोप लगाउँछन्।
आयोजनाका इन्जिनियर पाण्डेले दुईवटा ठेक्कामा थपिएको म्याद बाँकी रहे पनि नारायणचोक-परासीसम्म खण्ड (साढे १२ किलो मिटर) मा म्याद थप्ने अवस्थामा नरहेको बताए।
उनले भने, ‘चारपटक थपिएको म्याद पनि चैतमा सकिएको छ। निर्माण कम्पनी काम गर्नुको साटो सम्पर्कविहीन भएर बसेको छ। फिल्डमा कोही भेटिँदैन। फोन पनि उठाउँदैनन्।’
पूर्व–पश्चिम राजमार्गबाट सरदर २५ किलोमिटर दक्षिणतर्फ पूर्व-पश्चिमको हुलाकी सडक राणा प्रधानमन्त्री पद्मशमशेरले निर्माण सुरू गरेका गराएका थिए।
तराई मधेशका जिल्लाहरू जोड्ने पहुँचमार्गको रूपमा रहेको हुलाकी सडकको काम २०७३/०७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेपछि अगाडि बढेको थियो।
सबै तस्बिरहरू : भगवती पाण्डे/सेतोपाटी।