प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कपनका निरा आचार्यको हत्यामा संलग्न भन्दै विनोद विश्वकर्मालाई शनिबार झापाबाट पक्राउ गर्यो। आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा प्रहरीले झापामा बाउन्सरको काम गर्ने विनोद कसरी काठमाडौं आइपुगे र किन उनले निराको हत्या गरे भन्ने घटनाक्रम पनि खुलाएको छ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका-१० का विनोद काठमाडौं आउनुअघि झापाको बेबी लाउन्जमा बाउन्सरको काम गर्थे। त्योभन्दा अगाडि उनी बालबच्चालाई कराँते सिकाउँथे।
झापामै हुँदा उनलाई क्यासिनोको लत लाग्यो। उनी ऋण लिएरै भए पनि क्यासिनोमा जुवा खेल्न थाले। यही क्रममा उनलाई तीन लाख रूपैयाँ ऋण लाग्यो। सुरूमा त ऋणको कुरा उनले गुपचुप राखे, तर जसै घरपरिवारसम्म कुरा पुग्यो, उनी घरबाटै निकालिए।
घरपरिवारले 'फर्केर नआइज' भनेपछि उनी काठमाडौं आए र ठमेलको भाइब्रेन्ट क्लबमा बाउन्सरकै काम गर्न थाले। उनको मासिक कमाइ १५ हजार रूपैयाँ थियो। उनी सुरूमा नयाँ बसपार्कमा डेरा बस्थे। कोठाभाडा तिर्न नसकेपछि भक्तपुरको लोकन्थलीमा गाउँकै एक जना भाइसँग बस्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले एक महिनाअघि मात्र भाइब्रेन्ट क्लबको काम छाडेको पनि प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार वैशाख ७ गते बिहान १०-११ बजेतिर उनी लोकन्थलीबाट बस चढेर चाबहिलको केएल टावर पुगे। त्यसपछि हिँड्दै कपनको सरस्वतीनगर गए। त्यहाँ सडकमा हिँडिरहँदा उनको आँखा भाँडाबर्तनको पसल 'निरू किचेन' की सञ्चालक निरा पाण्डे आचार्यमाथि पर्यो।
'निराले घाँटीमा सुनको सिक्री लगाएकी थिइन्। सिक्री देखेर विनोद लोभिए,' एसएसपी आचार्यले भने, 'आर्थिक अवस्था नाजुक भएका बेला सिक्री लुट्न पाए आफ्नो समस्या हल हुन्छ भन्ने सोचेर उनी लुटपाटको योजनासहित २ बजेतिर निरू किचेनभित्र छिरे।'
भाँडा किन्ने बहानामा पसलभित्र छिरेका उनी सिक्री लुट्ने मौका हेर्दै थिए। त्यही बेला निराकी छोरी र भतिज चिया लिएर पसलमा आइपुगेपछि उनको योजना तुहियो। उनी भाँडा किन्न पैसा नपुगेको भन्दै एटिएमबाट झिकेर ल्याउने बहानामा बाहिर निस्किए। त्यति बेला २ बजेर ३३ मिनेट गएको थियो।
त्यसपछि उनी नजिकै एउटा पसलमा गएर चुरोट तान्न थाले। त्यतिञ्जेल उनको ध्यान निरूको पसल कहिले खाली हुन्छ भन्नेमै थियो।
ठ्याक्कै दस मिनेटपछि २ बजेर ४४ मिनेटमा उनी फेरि निरूको भाँडा पसलमा छिरे। यसपालि सरासर भित्र गएर काउन्टरमा बसेकी निरूलाई सुरूमै पछाडिबाट हातले हिर्काएको एसएसपी आचार्यले बताए।
'निराले प्रतिकार गर्न खोजेपछि उनले मुख थुनेर भुइँमा लडाए र पसलमै भएको छुरीले पटकपटक प्रहार गरे,' विनोदले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै आचार्यले भने, 'निराको घाँटी, छाती र पेट गरी २० ठाउँमा छुरा घोपिएको देखिन्छ।'
यसरी निराको हत्या गरेपछि विनोदले उनको घाँटीबाट सुनको सिक्री झिके र काउन्टरमा भएको १२ सय रूपैयाँ पनि लुटेर निस्किए। निरामाथि प्रयोग गरेको छुरा पनि उनले आफैं बोकेर हिँडेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानमा उनी ३ बजेतिर निरू किचेनबाट निस्केर भित्री बाटो हुँदै गोपीकृष्ण हल पुगेको पाइएको छ। त्यहाँबाट सफा टेम्पो चढेर सवा ३ बजेतिर चाबहिलस्थित एसी कम्प्लेक्सनिर झरेका थिए, अनि बाइक चढेर जडिबुटी चोकसम्म गएका थिए। जडिबुटीबाट फेरि अर्को बाइकमा उनी लोकन्थली आँखा अस्पतालसम्म गएको अनुसन्धानबाट खुलेको छ।
लोकन्थली पुगेपछि उनले एउटा पसलमा फ्रुटी किनेर खाएको र ४ बजेतिर आफ्नो कोठामा गएको प्रहरीले जनाएको छ।यसबीच निराको हत्यामा प्रयोग गरेको छुरा मनोहरा खोलामा फालेको उनले प्रहरीलाई बयान दिएका छन्।
यता विनोद निराको हत्या गरेर निस्केपछि साढे ३ बजेतिर एक जना महिला निरालाई पैसा तिर्न भनेर पसलमा छिरेकी थिइन्।
निरालाई नदेखेपछि ती महिलाले उनका श्रीमान योगेन्द्रलाई फोन गरे। निरू किचेनबाट करिब तीन सय मिटर पर योगेन्द्रको अर्को पसल छ। उनीहरू त्यही पसल भएको घरको फ्ल्याटमा बस्थे।
योगेन्द्रले निरा पसलभित्रै काउन्टरमा वा शौचालय गएको हुनुपर्ने बताएपछि ती महिला भित्र गइन्। त्यहीँ उनले निरालाई मृत अवस्थामा फेला पारिन्।
त्यसपछि प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसमेतको टोली घटनास्थल पुग्यो। निराको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगियो।
जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै अनुसन्धान गर्दा पनि धेरै दिनसम्म प्रहरी कुनै टुंगोमा पुग्न सकेन। पसलमा सिसिटिभी फुटेज नहुँदा प्रहरीलाई घटनामा संलग्न व्यक्ति को हो भनेर खोज्न कठिन भयो।
सुरूका दुई दिन प्रहरीले घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गर्यो। प्रहरीको अर्को टोलीले घटनास्थलका स्थानीय, निराका आफन्त र शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरह्यो।
यता अनुसन्धान चलिरहँदा विनोद केही दिन लोकन्थलीको कोठामै लुकेर बसे। त्यसपछि वैशाख १२ गते सुनको सिक्री बेच्न हिँडे।
उनले तार्केश्वर नगरपालिका-१० हिलेटोलमा रहेको पाथिभरा सुनचाँदी पसलमा गएर ९८ लालको सिक्री विनोद रसाइलीका नाममा धरौटी राखेको र ५५ हजार रूपैयाँ झिकेको प्रहरीलाई बताएका छन्। त्यसको भोलिपल्टै उनी बनेपा, बर्दिबास हुँदै झापा गए।
यो घटनामा अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसी बताउँछन्।
'एउटा टिमले घटनास्थल वरिपरिका सिसिटिभी फुटेज संकलन गर्यो। फुटेज मात्रै चारवटा हार्ड डिस्क बराबर संकलन भएको थियो,' उनले भने, 'हामीले प्रत्येक फुटेज केलायौं। को मान्छे हो भन्ने कुनै क्लू नभएकाले पहिचान गर्न निकै गाह्रो भयो।'
उनका अनुसार घटनास्थलबाट प्रहरीले पाएको विवरण र फुटेजमा देखिएका शंकास्पद व्यक्तिलाई जोड्दै अनुसन्धान अघि बढ्यो। निराकी छोरी र भतिजसँग लिएको बयानका आधारमा पनि प्रहरीले व्यक्ति पहिचान गर्न खोजेको थियो। तर विवरण फरक परेपछि कुनै नतिजामा पुग्न सकेन।
चिनजानकै व्यक्ति पनि हत्यामा संलग्न हुन सक्ने प्रहरीको शंका थियो। यसका लागि निराको फोन डिटेल छानबिन गर्दा त्यस्तो कुनै शंकास्पद विवरण नदेखिएको एसएसपी केसीको भनाइ छ।
यसबीच एक साता बित्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै प्रहरीको आलोचना हुन थाल्यो। प्रतिनिधिसभा बैठकमा पनि यसबारे प्रश्न उठ्यो। त्यसपछि शुक्रबार मात्रै सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा आठ सदस्यीय अनुसन्धान समिति गठन गरियो।
प्रहरीले आफ्नो अनुसन्धान घेरा साँघुरो पार्दै लैजाँदा विनोदमाथि शंका बढ्यो। त्यसपछि विनोद जान सक्ने सम्भावित सडकका फुटेज पछ्याउँदै गएको एसएसपी केसीले जानकारी दिए। त्यति बेलासम्म उनको पहिचान खुलिसकेको थिएन।
'मास्क लगाएकाले हामीलाई उनको पहिचान थाहा पाउन गाह्रो पर्यो,' एसएसपी केसीले भने, 'मास्कबिना उनी कस्तो देखिन सक्छन् भनेर हामीले स्केच पनि बनायौं, तर त्यसबाट खासै मद्दत नभएपछि फुटेजकै भर पर्नुपर्यो।'
जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की अनुसन्धान क्रममा सयौं प्रहरी खटिएको, थुप्रै कल डिटेल्स र फुटेजहरू हेरेको बताउँछन्। घटनास्थल वरिपरिको विभिन्न ठाउँका सिसिटिभी फुटेज केलाउँदा यही व्यक्ति हुन सक्छन् भनेर पहिलो दिन नै शंका भए पनि पहिचान गर्न समय लागेको उनको भनाइ छ।
अनुसन्धान सिलसिलामा एसएसपी केसीसहितको प्रहरी टोली शनिबार बिहान ११ बजेतिर लोकन्थलीस्थित विनोदका भाइको डेरामा पुगेको थियो। त्यहाँ प्रहरीले झोला, कपडा र जुत्ता फेला पार्यो, जसमा रगतका दागहरू थिए।
प्रहरीले भाइसँग सोधपुछ गरेर विनोदको पहिचान खुलायो। उनको ठेगाना पनि पत्ता लगायो।
त्यसपछि दुई जना डिएसपीको नेतृत्वमा उपत्यका परिसर, अपराध अनुसन्धान र सिआइबीको टोली विनोदलाई पक्राउ गर्न शनिबारै झापा पुग्यो र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा राति १० बजे बिर्तामोड-१ स्थित इलाम बसपार्कबाट उनलाई पक्राउ गरियो।
पक्राउपछि प्रहरीसँगको बयानमा विनोदले आफ्नो अपराध स्विकारिसकेको सिआइबीले जनाएको छ। उनले लुटपाट गर्ने उद्देश्यले जाँदा निराले प्रतिवाद गरेपछि हत्या भएको बयान दिएका छन्।
'अहिलेसम्म उनीहरूबीच कुनै सम्बन्ध देखिएको छैन। लुटपाटकै लागि पसलभित्र गएको र निराले प्रतिवाद गर्दा हतियार प्रहार भएको देखिन्छ,' एसएसपी आचार्यले भने, 'थप अनुसन्धान भइरहेको छ। पछि अरू कुरा पनि खुल्न सक्छ। निराको मोबाइल अनुसन्धानका लागि फोरेन्सिक ल्याब पठाएका छौं।'
अनुसन्धानमा राम्रो काम गरेको भन्दै तीन जना डिएसपी अनिल घिमिरे, किरण न्यौपाने र सत्यनारायण थापा तथा प्रहरी निरीक्षक निर्मल थापासहित १८ जनालाई रेकर्डमा रहने गरी पुरस्कृत गरिएको एसएसपी केसीले बताए।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी