कपनको सरस्वतीनगर काठमाडौंको व्यस्त क्षेत्रमध्ये पर्छ।
दैनिक हजारौं सवारीसाधन र मानिसहरू ओहोरदोहोर, हरेकजसो घरमा पसल भएको सरस्वतीनगरमा ‘निरू किचन’ पनि छ।
निरू किचनमा गत बिहीबार दिउँसो साढे ३ बजे एक महिलाको शव फेला पर्यो। शव पसलकी सञ्चालक निरा आचार्यको थियो।
बागलुङ बडीगाड गाउँपालिका घर भई सरस्वतीनगरमा बस्दै आएकी ३५ वर्षीया आचार्यलाई धारिलो हतियारले प्रहार गरी हत्या गरिएको थियो।
त्यसदिन निरालाई पैसा बुझाउन भनेर एक महिला पसलमा पुगेकी थिइन्।
उनले निरालाई पसलमा देखिनन्। पसलमा नभेटिएपछि उनले फोन गरिन्। फोन बजेको आवाज पसल भित्रैबाट आयो। फोन त्यहीँ चार्जमा छाडिएको थियो।
त्यसपछि उनले निराका श्रीमान् योगेन्द्रलाई फोन गरिन्। फोन गर्दा योगेन्द्रले निरा पसलमै हुनुपर्ने बताए। शौचालय गएको वा भित्रको काउन्टरमा हुनसक्ने भनेपछि उनी काउन्टरमा हेर्न गइन्।
काउन्टरमुनि ती महिलाले निरा लडिरहेकी देखिन्। निरालाई मृत देखेपछि उनले योगेन्द्रलाई बोलाइन्। त्यसपछि योगेन्द्रले प्रहरीलाई खबर गरे।
‘निरू किचेन’ पसलबाट ३ सय मिटर जति पर उनीहरूकै अर्को होम अप्लायन्सको पसल पनि छ। त्यो पसल उनका श्रीमान् चलाउँथे।
त्यही भवनको फ्ल्याटमा निरा र योगेन्द्रको परिवार बस्थ्यो।
त्यो दिन २ बजेतिर भतिज र छोरीले योगेन्द्र र निरालाई चिया लगिदिएका थिए।
साढे २ बजेसम्म सामान्य अवस्थामा रहेकी निराको साढे तीन बजे हत्या भयो। उनको हत्या कसले गर्यो भन्ने एक साता बित्दा पनि रहस्य बनिरहेको छ। प्रहरीले अहिलेसम्म कुनै क्लू फेला पार्न सकेको छैन।
त्यो दिन खबर पाएपछि प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली खटियो। अहिले पनि परिसर र कार्यालयले अनुसन्धान गरिरहेको छ।
शवको पोष्टमर्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। पोष्टमर्टम सके पनि रिपोर्ट आइसकेको छैन। यद्यपि मृतकका परिवारले शव पनि बुझ्न मानेका छैनन्।
घटनास्थलमा कुनै हतियार फेला परेको छैन। भाडाकुँडाको पसल भएकाले बेच्न राखिएका चक्कुहरू भए पनि तीमध्ये कुनै पनि प्रयोग भएको नदेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटना अन्दाजी पौने २ बजेदेखि सवा ३ बजेबीच भएको हुनुपर्छ। तर कसले र किन हत्या गरेको हो भन्ने पत्ता लाग्न नसकेको उनी बताउँछन्।
‘विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। समय लाग्न सक्छ तर हामी अनुसन्धानको सकारात्मक दिशामा छौं,’ उनले भने।
निरामाथि पटकपटक धारिलो हतियार प्रहार भएको देखिन्छ। घाँटी, छाती र पेटमा १७-१८ पटक सम्म धारिलो हतियार घोपिएको प्रहरीले जनाएको छ।
गहिरो चोटका कारण आन्तरिक रक्तस्राव हुँदा पनि घटनास्थल धेरै रगताम्य नभएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।
‘घटनास्थल त्यहीँ हो। अन्त हत्या गरेर दिउँसै त्यहाँ ल्याउन सक्ने अवस्था पनि रहन्न,’ एसपी रिजालले भने, ‘भाडाकुँडाहरू पनि धेरै भएकाले ठाउँ पनि साँघुरो थियो। घिसारेर ल्याउन सक्ने ठाउँ पनि हुन्न। धेरै रगत नहुनुको कारणचाहिँ भित्री चोट गहिरो भएकाले हुनसक्छ।’
प्रहरीले उनको हत्या कोही एक्लै वा समूहले नै गरेको हो भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। तर भाडाकुँडाहरू जहीँको त्यहीँ भएकाले पनि धेरैको संलग्नता नरहेको हुनसक्ने प्रहरीको अनुमान छ।
उक्त पसलमा र पसल नजिकै सिसिटिभी नभएकाले पनि अनुसन्धान जटिल भएको प्रहरी अधिकारीहरूले बताएका छन्।
प्रहरीले नजिकैका केही सिसिटिभी फुटेजहरू केलाइरहेको छ। तर त्यसबाट पनि त्यति सहयोग नपुगेको एक प्रहरी अधिकृतले बताए।
‘नजिकैका सिसिटिभी फुटेजहरू हेर्दैछौं। तर केही खुल्न सकेको छैन,’ ती प्रहरीले भने, ‘ती फुटेजले पनि पसलसम्म देखिन्न। तर पनि हामी हेर्दैछौं।’
निराको हत्या हुनुका पछाडि लुटपाट, रिसिइबी र आर्थिकलगायत विभिन्न कारण हुनसक्ने कोणबाट अनुसन्धानलाई अघि बढाएको प्रहरीले बताएको छ।
अनुसन्धानकै लागि प्रहरीले निराको फोनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय फोरेन्सिक ल्याबमा पठाएको छ। त्यसको पनि रिपोर्ट भने आइसकेको छैन।
अनुसन्धानकै क्रममा प्रहरीले धेरै जनासँग सोधपुछ गरिसकेको छ। तर त्यसबाट पनि केही फेला पर्न नसकेको कार्यालयका एक प्रहरी अधिकृतले बताए।
‘सोधपुछ त कति गर्यौं, गर्यौं। तर त्यसबाट पनि खास सहयोग पुगेको छैन,’ उनले भने, ‘व्यस्त सडकमा चिच्याएको, घटना भएको कसैले पनि थाहा पाएनन्।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोजकुमार केसीले पनि घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताए।
‘सबै लागिरहेका छौं। हामीले प्राविधिक रूपमा अनुसन्धान गरिरहेका छौं। घटनाबारे खुले हामी जानकारी दिन्छौं,’ उनले भने।