घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरू भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको संकट बढेको छ।
गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ।
‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भने, ‘बयलगाडा जोतेर पानी लिन दुई/तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन्।’
खानेपानीको संकट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौं साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन्।
करिब चार हजार जनसंख्या रहेको पशुपतिनगरका सात–आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन्। सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ)को घेरामा पुगेको सो बस्तीकै ब्रह्मदेव महतो बताउँछन्।
सामान्यतया प्रत्येक वर्ष वैशाख–जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो।
यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर राना बताउँछन्।हिउँदे वर्षा कम भएकाले खानेपानीको सङ्कट भएको पशुपतिनगरका बासिन्दाको अनुभव छ।
झ्याकुले टोलका इनार पूरै सुकिसकेका स्थानीय सुरेन्द्र महतोको भनाइ छ।
‘हामी यो टोलका आठ–दश घर त पानी लिन साइकलमा गाग्री झुण्ड्याएर करिब दुई किलोमिटर परको खेतको इनारमा जान थालेका छौं’, उनले भने। बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेको छ। मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ।
इनार धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन्। तरकारी खेती मुख्य बाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन्। अहिले लटरम्म फल्नुपर्ने वैशाखी सिजनका लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ।
पशुपतिनगरमा खानेपानीको संकट टार्न बोरिङबाट मोटरले पानी तानेर टयांकीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाका लागि काम भइरहेको छ।
‘खानेपानीका धारा सञ्चालनमा ल्याउने योजना छ’, बर्दिबास–९ का वडाध्यक्ष घुरन महतोले भने।
बर्दिबासमा पशुपतिनगरमात्र नभएर बिजलपुरा, विजयबस्ती, प्रेमनगर, फुलबारीटोल, किसाननगर, मनहरिपुर र कृष्णपुरसहितका बस्तीमा पनि खानेपानीका मुख्य स्रोत इनार नै हुन्। यी बस्तीका इनार पनि धमाधम सुक्दै जाँदा खानेपानी र सिँचाइको समस्या बढ्दो छ।
बर्दिबासबाहेक उत्तरी क्षेत्रकै गौशाला नगरपालिकाका भरतपुर, लक्ष्मीनियाँ (पहिलेका गाविस क्षेत्र) र भङ्गाहा नगरपालिकाका रामनगर, भूचक्रपुर, प्रेमनगर र टोकासहितका बस्तीका इनार पनि सुक्दै गएका छन्।
‘पहिले खन्दा १५–१६ हातमै पानीको मूल फुट्थ्यो’, ३० वर्ष पहिले खनिएको इनार देखाउँदै भङ्गाहा–४ रामनगरका ७५ वर्षीय दीपबहादुर फुँयालले भने, ‘त्यसयता इनार सुक्दै गएपछि भित्र सानाकोठी थप्दै लगेर अहिले इनार ४० हात गहिरो भइसकेको छ।’
पानी सुक्दै गएपछि इनार गहिर्याउँदै लगिएसँगै पानीको सतह झन्–झन् गहिरिँदै गएको फुँयालको भनाइ छ।
पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मुहान गहिरिँदै गएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन्।
प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ। यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन्। चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउँछन्। यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन्।
‘यसको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्यान नदीमा नझर्ने व्यवस्था र ठाउँ–ठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ’, यादवले भने।
पूर्वपश्चिम राजमार्ग माथि (उत्तर)को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ।
यस कार्यमा पूर्वपश्चिम राजमार्ग वरपरका स्थानीय तहले संयुक्त रूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए।
धनुषाको मिथिला र महोत्तरीको बर्दिबास र गौशाला नगर क्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन्।
खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहले पनि तत्काल पहलकदमी बढाउनुपर्ने देखिन्छ।