रूपन्देही तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया बुटवल ६ लेन सडक क्षेत्रमा फ्री वाईफाई जडान गरेको छ।
फ्री वाईफाई सेवाको सोमबार बिहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरीदेवी चौधरीले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहकार्यमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकोटीदेखि कोटीहवासम्मको १३ किलोमिटर सडक क्षेत्रमा फ्री वाईफाई सुरू गरिएको हो।
प्रदेश सरकार र नगरपालिकाको सूचना राजमार्गमार्फत् डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्री वाईफाई जडान गरिएको नगरप्रमुख खाँणले बताए।
खाँणले मुख्य सडक क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन भएपछि तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बनेको र यसले जनताले पाउने सेवामा समेत सहजता दिने बताए।
‘फ्री वाईफाई सेवाले जनतालाई प्रविधिप्रतिको विश्वास बढाउने र प्रविधिमैत्री बनाउँदै लैजाने छ,’ उनले भने।
विश्वको जुनसुकै क्षेत्रमा बसेर पनि प्रविधिको विकासले सहज ढंगले सूचना लिन थालिएको भन्दै नगरप्रमुख खाँणले यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहजता थप्ने बताए।
फ्री वाईफाई सेवाबाट नगरपालिकाले विज्ञापन बढाएर आम्दानी गर्न सक्ने बताए।
तिलोत्तमा नगरपालिका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र भारतीय सीमानाका बेलहियाको समिपमा रहेको र तीव्र विकासको क्रममा रहेकोले नमूना बन्दै गएको उल्लेख गर्दै फ्री वाईफाई सेवाले बाहिरबाट आएका पर्यटकहरूलाई सहज इन्टरनेटको प्रयोगका लागि सहज बन्ने नगरप्रमुख खाँणको भनाइ छ।
‘हाइवे क्षेत्र भएर ओहोरदोहोर गर्ने पर्यटक तथा विभिन्न कार्यालयमा महत्वपूर्ण कामका लागि पुग्ने सेवाग्राहीलाई समेत इन्टरनेट नहुँदा समस्या हुने गरेको छ, अब यो सेवाले सहजता थप्ने छ,’ उनले भने।
फ्री वाईफाई जडानले नगरपालिका प्रवेश गर्नासाथ इन्टरनेट प्रयोग गर्न सक्ने र नगरपालिकाका सूचना, समाचार र सेवाहरू समेत हेर्न पाउने छन्।
उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाले जडान गरेको फ्री वाईफाई सेवालाई सकारात्मक कार्यमा प्रयोग गर्न सबैलाई आग्रह गरिन्।
‘प्रविधिलाई सकारात्मक र नकारात्मक दुबै काम हुने गरेका छन् तर तिलोत्तमामा जडान गरिएको फ्री वाईफाईलाई सकारात्मक काममा मात्र प्रयोग गरेर लाभ लिनुहुने छ भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन्।
नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख सुदीप ढकालका अनुसार एउटा डिभाइस वाईफाईमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नुपर्ने छैन।
हाइ स्पिडमा नो कनेक्सन फेल सहितको फ्री वाईफाईका लागि सडकका पोल-पोलमा राउटर राखिएको उनले जानकारी दिए।
‘हाइवे क्षेत्रमा कुल ३८ वटा पोलमा राउटर जडान गरिएका छन्, एउटा राउटरबाट हाल १ सय वटा डिभाइस कनेक्ट हुने छन् तर, यसबाट टिकटक र पोर्न साइट भने चल्ने छैनन्,’ ढकालले भने।
नगरपालिकाले सकारात्मक काम र सूचनाका लागि फ्री वाईफाई जडान गरिएकोले यसबाट टिकटक र पोर्न साईट नचल्ने बताए।
ढकालका अनुसार २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाईफाई डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च लागेको छ।
यो आयोजना अन्तरगत नगरपालिकाले सबै वडा कार्यालय र स्वास्थ्य चौकीमा आफ्नै फाइबर प्रणाली व्यवस्थापन गरी इन्टरनेट पुर्याएको छ।
ढकालले नेपाल टेलिकम, सुबिसु, वर्ल्ड लिंकबाट आएको आइएसपीको माध्यमबाट आएको इन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको बताए।