वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती नजिकिँदै गर्दा गुरूङ समुदायमा सती घाटुको अध्याय सुरू भएको छ।
श्रीपंचमीको विशेष साइतमा विधिवत रूपमा विभिन्न देवी देवताको पूजाआजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ। कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्दै घाटु गीत गाइने चलन छ। देवीले पत्याएपछि घाटुसरीलाई देवी चढ्छ र विधिवत रूपमा घाटु सुरू गरिन्छ। घाटु नाचको सुरूआत मङ्गल चरणबाट गरिन्छ। गुरूङ समुदायका अनुसार इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ।
विशेषगरी सती घाटु मातातीर्थ औंसीदेखि वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीसम्म नाचेर सेलाउने गरिन्छ। सती घाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन्। यो अवस्थालाई कुसुण्डा भनिन्छ। यो क्रममा गीतको ताल बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ।
सती घाटुमा गुरुवाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सती ढलाउने सती जगाउने काम गर्दछन्। यसैबीच लमजुङको भोटेओडारमा रहेको सिर्जनशील तमु समाजले यस पटकको सती घाटुको नियमित शृंखला सुरू गरको छ।
लमजुङको भोटेओडारस्थित सिर्जनशील तमु समाजको भवनमा तमु समुदायका थुप्रै मानिसहरू साँझपख जम्मा भएर सती घाटु नाच्दै गर्दा हामी पुगेका थियौं।
साँझको विधिवत पूजाआजासँगै सुरू भएको सती घाटुको एउटा भाग २ घण्टाको लगातार नाचसँगै रातको १० बजे सकिएको थियो।
गुरूङ समुदायको यो मौलिक परम्परा जोगाउन यहाँको समुदाय कटिबद्ध भएर लागेको देख्न सकिन्थ्यो। घाटु गीति कथा अनुसार घाटु डाक्दा जति जना कन्यालाई देवी चढ्यो त्यति जना नै घाटु सरी बन्ने भएकोले यसपटक २ जना घाटु सरी बनेको स्थानीय घाटु गुरूबा नक्कल बहादुर गुरूङले बताए।
यसरी विभिन्न चरणमा घाटु नाचिँदै तमु गुरूङ समुदायले वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीमा ३ दिनसम्म लगातार घाटु नाचेर घाटु सेलाउने गरिन्छ।
यस क्रममा वैशाख पूर्णिमाको अन्तिम चरणको घाटुमा घाटु सारीलाई विशेष पौराणिक तरिकाले शृंगार गरिन्छ।
तस्बिरहरू :