लेखक तथा निर्देशक उपेन्द्र सुब्बा बिहीबार आफ्नी माइली छोरीका लागि नयाँ स्कुल खोज्न गएका छन्।
उनकी छोरी जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा पढ्थिन्। स्कुलले उनकी श्रीमती र छोरीलाई अपमानजक व्यवहार गरेपछि त्यहाँबाट निकालेर अर्को स्कुल खोज्न गएको सुब्बाले सेतोपाटीलाई बताए।
सुब्बाका साथीहरूले विभिन्न स्कुल पढाउने सल्लाह दिएका छन्। तर कुनमा पढाउने भनेर निश्चित गरिसकेका छैनन्।
'आज दिनभर स्कुल खोज्नमै व्यस्त भएँ। केही हेरेर आएको छु। छोरीलाई कुन चित्त बुझ्छ, कुराकानी गरेपछि निश्चित गर्नेछु,' उनले भने।
यसअघि सुब्बाले डिएभी स्कुलबाट छोरीलाई निकाल्नुको कारणबारे सोमबार लामो स्टाटस लेखेर बताएका थिए।
स्टाटसमा उनले लेखेका छन्, 'मेरी छोरी पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी उप–प्रधानाध्यापकको कोठामा पस्नासाथ यसको बुवा खै, किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानू, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन भनेछन्।'
यसअघि पनि आफ्नी छोरीलाई यस्तै अपमानजक व्यवहार गरेको भन्दै सुब्बाले लेखेका थिए, 'पहिला पनि जोशी सरले मेरी छोरीले पढेर खान सक्दैन, बरू एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भनेका थिए।'
कक्षा दुईदेखि त्यहाँ पढिरहेकी छोरीलाई अब ९ मा पढ्ने बेलामा स्कुलले गरेको यस्तो व्यवहार उनलाई चित्त बुझेको छैन। त्यसैले अहिले उनले छोरीलाई नयाँ स्कुल भर्ना गर्न खोजेका हुन्।
सुब्बाले सार्वजनिक रूपमा स्कुलले गरेको दुर्व्यवहारबारे बताउँदा पनि हालसम्म डिएभीले उनलाई कुनै प्रतिक्रिया दिएको छैन।
'अहिलेसम्म स्कुलले मलाई केही भनेको छैन। मैले कुनै नभएको कुरा लेखेको भए न हो! बरू छोरीको ट्रान्सक्रिप्टका लागि निवेदन दिएको थिएँ। त्यो लिन एक दिनमै जानु छ,' उनले भने, 'अहिले कामले भ्याएको छैन।'
डिएभीको अपमानजनक व्यवहारबारे आफूले बोल्दा अरू सचेत भएको देखेर मन हलुका भएको पनि उनले बताए। डिएभीले अगाडि पनि यस्तो व्यवहार गरिसकेको र त्यही बेला छोरीलाई स्कुलबाट नछुटाउनुको थकथकी पनि उनले पोखे।
'पहिला नै मेरी छोरीले पढेर खान सक्दैन भनेर साह्रै नराम्रो भनेको थियो। त्यही बेला निकाल्नुपर्ने थियो। छोरीले त्यति बेला साथीहरू भएकाले त्यहीँ पढ्छु भनिन्, निकालिनँ। अहिले सम्झिँदा पो किन निकालिनछु भनेर रिस उठ्छ,' उनले भने।
लामो समयदेखि पढाइरहेको स्कुलले ९ कक्षा पुगेपछि विद्यार्थी कमजोर देख्नुमा स्कुलको दोष भएको उनी बताउँछन्।
'यतिका वर्ष पढाउने, अनि अहिले ९ कक्षा पुगेपछि यस्तो अपमानजनक व्यवहार गर्ने,' उनले भने, 'एसइई परीक्षामा छोरीले राम्रो अंक ल्याउन नसक्लिन् र विद्यालयको साख घट्न सक्ला भनेर होला यसो गरेको।'
छोरी पढाइमा कमजोर भए पनि अन्य गतिविधिमा क्षमतावान भएको सुब्बा बताउँछन्। पेन्टिङ, गायन, नृत्य र अभिनयमा चासो छ।
'यी कुरा थोरबहुत जान्दछिन् पनि। यसबाहेक फिक्सन (गैरआख्यान) पढ्न औधि रूचि राख्छिन्,' उनले भनेका छन्।
उनका अनुसार डिएभीबाट छुटेपछि छोरीलाई भने साथीहरूको न्यास्रो लागेको छ। सानैदेखि सँगै पढ्दै आएका पुराना साथीहरू सम्झिन थालेकी छन्। त्यसैले परिवार, आफन्त, अरू साथीसंगी र सुब्बाका डाक्टर साथीहरूले समेत सम्झाइबुझाइ गरिरहेका छन्।
'पढ्न नजान्ने भन्ने कोही पनि हुँदैन छोरी, तिमीले प्रयास गर्यौ भने सक्छौ, नयाँ स्कुलमा फेरि साथीहरू भइहाल्छन् भनेर सम्झाइरहेका छौं,' सुब्बाले भने, 'मेरी छोरी हो। उसलाई त म जसरी पनि सम्झाइहाल्छु। मेरी छोरीजस्तै अरू विद्यार्थीलाई पनि स्कुलले त्यस्तै व्यवहार गरेको होला। सबै परिवार हामीजस्तै आफ्नो बच्चाबच्चीलाई बुझ्न सक्षम नहुन सक्छन्! उनीहरूलाई सम्झिँदा भने पिर लाग्छ।'
उनले थप भने, 'मैले यसरी आवाज उठाएको मेरी छोरीका लागि मात्र होइन, अरू विद्यार्थीका लागि पनि हो।'
सुब्बासँग कुराकानी गरिसकेपछि हामी डिएभी स्कुल गएका थियौं। त्यहाँका उप–प्रधानाध्यापक लगायत शिक्षकहरू शिक्षा मन्त्रालयमा कुराकानी गर्न गएको स्कुलका एक जना शिक्षकले हामीलाई जानकारी दिए।
नाम खुलाउन नचाहने ती शिक्षक आक्रोशित सुनिन्थे।
'कुनै शिक्षकले भनेको कुरा कुन हिसाबमा लिएर उक्त व्यक्ति (उपेन्द्र सुब्बा) ले निष्कर्ष निकाल्यो भन्ने कुरामा भर पर्छ। मलाई लाग्छ एउटा शिक्षकले विद्यार्थीको कहिल्यै अहित सोच्दैन,' उनले भने।
उनले आफू आधिकारिक व्यक्ति नभएको भन्दै यसबारे थप कुराकानी गर्न चाहेनन्। अरू सम्बन्धित र जिम्मेवार शिक्षक र पदाधिकारीहरू यही विषयमा कुराकानी गर्न मन्त्रालय पुगेको मात्र बताए।
शिक्षा क्षेत्रको जिम्मा अहिले स्थानीय तहलाई छ। त्यसैले बुधबारै हामीले 'डिएभी स्कुलले विद्यार्थीको अभिभावक बोलाएर 'यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू' भनेपछि' शीर्षकको स्टोरी गर्दा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसँग कुराकानी गरेका थियौं। उनले यस विषयमा आफूलाई जानकारी नभएको तर तत्काल समस्या सम्बोधन गर्दै शिक्षा महाशाखासँग कुरा गर्ने बताएका थिए।
त्यही विषयबारे बिहीबार फेरि मेयर महर्जनलाई सोध्यौं। उनले शुक्रबार स्कुलसँग बैठक भएको बताए।
'भोलि बिहान ९ बजे विद्यालय व्यवस्थापन समितिसँग बैठक छ। महानगरबाट शिक्षा अधिकृत कुराकानी गर्न डिएभी जाँदै हुनुहुन्छ,' उनले भने।