युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीलाई पराजित गरी नेपाली फौजले विजयको झण्डा फहराएको बुटवलको जितगढी किल्लामा बिहीबार विजय उत्सव मनाइएको छ।
अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर ऊँचो बनाए पनि ओझेलमा परेको जितगढीमा बुटवल उपमहानगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा २०७५ साल वैशाख ७ गते पहिलो पटक जितगढी विजय उत्सव मनाएका थिए।
अंग्रेज फौजलाई परास्त गरेको २०३ वर्षपछि मनाउन थालिएको विजय उत्सव त्यसयता भने हरेक वर्ष वैशाख ७ गते मनाउने गरिन्छ।
यसपटक भने गोरखा–जितगढी पैदलयात्रामा निस्किएको नेपाली सेनाको टोलीलाई स्वागत गर्दै उत्सव मनाइएको हो।
गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोली गोरखाबाट जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो।
उक्त टोलीले गोरखाबाट ल्याएको झण्डालाई पाल्पाको दि फेमस महिन्द्र दल गणले रूपन्देहीको गरूड दल गणलाई रूपन्देही र पाल्पाको सीमानामा रहेको नुवाकोट गढीमा हस्तान्तरण गरेको थियो।
क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा निस्किएको गोरखाको रिपुमर्दन गणको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बुधबार नुवाकोटमा आइपुगेको थियो।
बाजागाजासहित आएको उक्त पैदलयात्रा टोलीलाई बिहीबार बिहान पुरानो बटौली बजारमा रहेको गणेश मन्दिर परिसरमा बाजागाजासहित स्वागत गर्दै जितगढी किल्लामा ल्याइएको थियो।
पैदलयात्रा टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल र बुटवलस्थित नेपाली सेनाको मध्यमश्चिम पृतनाका पृतनापति यमप्रसाद ढकाल लगायतले फूलमालासहित स्वागत गरेका थिए।
विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेजका बीचमा युद्ध भएको थियो।
अंग्रेजका तर्फबाट गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा आक्रमण गरिएको थियो भने नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए।
आधुनिक हतियार र तालिमप्राप्त अंग्रेज फौजलाई घरेलु हतियार र बच्चा बोकेमा महिला सहितको नेपाली फौजले १८७२ साल वैशाख ७ गते पराजित गरेको इतिहास छ। १८७१ देखि १८७२ सम्म नेपाल/अंग्रेजका बीचमा युद्ध भए। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन।
कुमाउ–गडवाल, मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो। बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। इतिहासका जानकार बुटवलका विमलबहादुर शाक्यका अनुसार अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बत सम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो।
जनरल सुलेमान र जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो।
बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो।
सोही आक्रमणबाट पाल्पाली सेववंशीय राजा मणिमुकुन्द सेनको बुटवलमा रहेको शितकालीन दरबार ध्वस्त भयो।
दरबार ध्वस्त भए पनि किल्लाभित्र रहेको सुरूङमा लुकेका नेपाली सेनातर्फ ठूलो क्षति भएन। जितगढी किल्लामा उक्त सुरूङमार्ग अहिले पनि छ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको त्यही विरताको चिनो बुटवलको जितगढी किल्लामा युद्ध लड्दाको झलकसहित नेपाल र अंग्रेज फौजका प्रतिमा निर्माण गरिएका छन्।
पाँच सय वर्गफिट इलाकामा फैलिएको ऐतिहासिक गढीकिल्ला १६ औं शताब्दीतिर निर्माण भएको मानिन्छ।
२८ वर्ष पहिलेसम्म तिनाउ नदीको पश्चिमतर्फ बेवारिसे अवस्थामा रहेको गढीकिल्लाको संरक्षणका लागि २०५२ सालमा पुरातत्व विभागले उत्खननको सुरूआत गरेको थियो। गढीको पर्खालको ट्रायल ट्रिच लिँदा उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने अहिले पनि हुन सकेको छैन।
अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रूपमा विकास गरेको छ।
जितगढी किल्लाको संरक्षणका लागि प्रदेश र संघ सरकारले पनि चासो दिएका छन्।
गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १) लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना बुटवल उपमहानगरपालिकाको छ।