लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले केही दिनयता सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म 'जारी' को प्रचार गरिरहेका छन्।
सोमबार भने उनले बेग्लै स्टाटस लेखे। त्यो उनकी माइली छोरीको पढाइको विषयमा थियो।
सुब्बाले कक्षा ९ मा पढिरहेकी आफ्नी छोरीलाई जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलले पढाउन नसक्ने भन्दै अपमानजनक व्यवहार गरेको फेसबुकमा लेखे।
उनले घटना विवरणसहित फेसबुकमा लामो स्टाटस लेखेका छन्।
'मेरी छोरी पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी उपप्रधानाध्यापकको कोठामा पस्नासाथ यसको बुवा खै, किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन भनेछन्।'
यसअघि पनि आफ्नी छोरीलाई यस्तै अपमानजक व्यवहार गरेको भन्दै सुब्बाले थप भनेका छन्, 'पहिला पनि जोशी सरले मेरी छोरीले पढेर खान सक्दैन, बरू एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भनेका थिए।'
उनकी छोरी र श्रीमतीलाई स्कुलको यो व्यवहारले चोट पुर्यायो। उनीहरूले घर पुगेर सुब्बालाई रूँदै यो घटना विवरण सुनाए।
सुब्बाका अनुसार उनकी छोरी कक्षा दुईदेखि नै उक्त स्कुलमा पढिरहेकी थिइन्। यति लामो समयदेखि पढाइरहेको स्कुलले ९ कक्षा पुगेपछि आफ्नै विद्यार्थी कमजोर देख्नुमा स्कुलको पनि दोष भएको उनी बताउँछन्।
'एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ,' उनले लेखेका छन्, 'मेरी छोरी होइन, तिमी फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै भाइस-प्रिन्सिपलको गाला रन्काइ दिऊँ भन्ने झोंक चलेको थियो। तर के–के न भनौंला भनेर गएको, सामान्य गुनासो राख्दै म छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।'
उनले सहायक प्रधानाध्यापकलाई यति भने भनेछन्, 'मेरी छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू। हरेक बच्चा क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरूलाई हतोत्साही नगर्नू। बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नू।'
सुब्बाले आफ्नी छोरीको क्षमता बुझ्ने स्कुल पनि खोजिरहेको बताउँदै लेखेका छन्, 'मेरी छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन (गैरआख्यान) पढ्न औधि रूचि राख्छिन्। मलाई मेरी छोरीलाई ९-१० पढाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।'
उपेन्द्र सुब्बाकी छोरीलाई यसरी अपमानजक व्यवहार गर्ने डिएभी स्कुलसँग हामीले कुराकानी गर्न खोजेका थियौं। स्कुलमा सम्पर्क गर्दा प्रधानाध्यापक नभएको भनियो।
त्यसपछि हामीले सहायक प्रधानाध्यापक रामचन्द्र खनालसँग कुराकानी गर्न खोज्यौं। उनको मोबाइल फोन उठेन। हामीले पठाएको म्यासेजको पनि कुनै प्रतिक्रिया दिएनन्।
शिक्षा क्षेत्रको जिम्मा अहिले स्थानीय तहलाई भएकाले यसबारे हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोध्याैं।
मेयर महर्जनले यस विषयमा आफूलाई जानकारी नभएको तर तत्काल समस्या सम्बोधन गर्दै शिक्षा महाशाखासँग कुरा गर्ने बताए।
'यसरी विद्यार्थीलाई अपमानजनक व्यवहार गर्नु एकदम गलत कुरा हो। त्यस्तो व्यवहार स्कुलले त के, कसैले पनि गर्नु हुँदैन। हामी तत्काल यो विषयबारे अध्ययन गरेर छलफल गर्नेछौं,' उनले भने।
उपेन्द्र सुब्बाको पूरा स्टाटस
जारी फिल्म सुखद रूपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जानुपर्ने थियो, व्यस्तताले जान पाइनँ। नानीको आमालाई छोरीसँग स्कुल पठाएँ। घर म राति पुगेँ। घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।
मेरो माइली छोरी जाउलाखेलको डिएभी (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिनन्। पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ 'यसको बुवा खै, किन नआएको' भनी सोधियो रे।
नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन्।
भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर 'यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानू। यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दिनन्' भनेछन्।
पहिला पनि जोशी सरले 'पढेर केही गरी खान सक्दिन बरू एउटा स्कुटर किन्दिनू, पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए।
यो कुरा मलाई सुनेर रातभरि निद्रा लागेन। मनमा अनेक कुरा खेल्यो। आफैंसँग रिस पनि उठ्यो। तब देश सम्झेँ। सरकार सम्झेँ। देशको शैक्षिक अवस्था सम्झेँ। शैक्षिक संस्थाहरू सम्झेँ। गुहार्नलाई साथीभाइ सम्झेँ।
फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन। कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै 'पढ्न जान्दैन, यहाँ हामी पढाउन सक्दैनौं, अन्तै लैजाऊ' भन्नु स्कुलको गैरजिम्मेवारी हो भनेर सम्झेँ।
विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिऊँ भन्ने म निम्छरो बाउको मनमा झोंक नचलेको पनि होइन...।
बिहान उठेर शैलेन्द्र डी कार्की सरलाई गुहारेँ। स्कुल गयौं। भाइस प्रिन्सिपललाई भेट्यौं। के के नै भनौंला भनेर गएको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।
र यति भनेँ, 'मेरो छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू। हरेक बच्चाहरू क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरूलाई हत्तोत्साही नगर्नू। बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नू।'
मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन पढ्न औधि रूचि राख्छिन्। मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।